खाना डेलिभरीको क्षेत्रमा कुनै समय निकै ठुलो नाम रहेको फूडोराका साइकल गुडाएर डेलिभरी गर्ने ५ हजार ५ सय पूर्व कर्मचारीहरूले अब आफ्नो खल्तीमा कति रकम आउँछ भन्ने बारे जानकारी पाउने भएका छन्।
अस्ट्रेलियामा २०१८ को अगस्ट देखि आफ्नो सेवा बन्द गरेको फूडोराले आफ्ना डेलिभरी गर्ने कर्मचारीहरू र कर सङ्कलन कर्तालाई ८० लाख डलर भन्दा बढी तिर्न बाँकी रहेको थियो।
विश्वभर खाना डेलिभरी गर्ने क्षेत्रमा चिरपरिचित जर्मन कम्पनी डेलिभरी हिरोले आफू अन्तर्गत रहेको फूडोराका पूर्व डेलिभरी चालकहरू लाई भुक्तानी गर्न ३० लाख डलरको चेक काटेको बताइएको छ।
उक्त रकम फूडोराको व्यवस्थापनलाई सम्पर्क गरेका पूर्व डेलिभरी चालकहरूलाई शुक्रवार बाँडिने छ।

इतिहास मै पहिलो उक्त कदम पीडित डेलिभरी चालकहरूको पक्षमा आएको भन्दै यातायात मजदुर युनियनले एक वक्तव्य जारी गरेको छ।
तर फूडोराले तिर्नु पर्ने रकम र उसले बाचा गरेको रकमबिच धेरै फरक हुनसक्ने अनुमान गरिएको वक्तव्यमा उल्लेख गरिएको छ।
उबर इट्स तथा डेलिभरू जस्ता डेलिभरी कम्पनीहरू सँग प्रतिस्पर्धा गर्नु परेपछि एक वर्ष अगाडी फूडोराले अझ बढी अवसर भएका बजारतर्फ आफ्नो ध्यान केन्द्रित गर्ने भन्दै अस्ट्रेलियामा प्रदान गर्दै आएको सेवा बन्द गरेको थियो।
तर अस्ट्रेलियामा आफ्नो सञ्चालन बन्द गर्दै गर्दा उसले आफ्नो कम्पनीमा कार्यरत कर्मचारी लगायत कम्पनीसँग आबद्धहरूलाई उपयुक्त वैकल्पिक भूमिका दिलाउने प्रतिबद्धता व्यक्त गरेको थियो।

अघिल्लो वर्ष नोभेम्बरमा एक डेलिभरी गर्ने व्यक्तिले आफू र आफू जस्तै अन्य कामदारले भोग्नु परेको अवस्थालाई लिएर फूडोराको आलोचना गरे पछि उनलाई काम बाट निकालिएको थियो।
तर अनुचित ढङ्गबाट कामबाट निकालिएको भन्ने मुद्दामा जित हासिल गरेपछि जोस क्लूगरले १६ हजार डलर क्षतिपूर्ति वापत प्राप्त गरेका थिए।
फेयर वर्क कमिसनको फैसलामा फूडोराले पूर्व कर्मचारी क्लूगरलाई गलत ढङ्गबाट कन्ट्रयाक्टर भनी व्याख्या गरेको पाइएको थियो।
