बक्सिङ र ताइ-चिमा मस्त अस्ट्रेलिया घुम्न आएका नेपाली अभिभावकहरू

अस्ट्रेलिया घुम्न आएका नेपाली अभिभावकहरूले बक्सिङ र ताइ-चिमा रम्दै गरेको दृश्य कति रोमाञ्चक होला!? यस्ता दृश्य मेलबर्नका केही सबर्बमा त पुरानै हुन लागि सक्यो!

Nepali Senior Citizens Activity Boxing

Source: SBS Nepali

मेलबर्नका उत्तर तथा पश्चिमी क्षेत्रमा बस्दै आएका अभिभावकहरूलाई लक्षित एक निःशुल्क व्यायाम शिविर सञ्चालनमा आएको छ।

अस्ट्रेलियामा रहेका आफन्तजनहरू भेट्न तथा यहाँ घुमफिर गर्न नेपालदेखि आएका अभिभावकहरूलाई शारीरिक रूपमा तन्दुरुस्त राख्नु एवं उनीहरूको मानसिक स्वास्थ्यमा टेवा पुर्‍याउनु उक्त शिविरको मुख्य उद्देश्य रहेको बताइएको छ।

अस्ट्रेलियन मल्टिकल्चरल कम्युनिटी सर्विसेस भनिने अस्ट्रेलियामा बहुसांस्कृतिक तथा सामुदायिक सेवाको क्षेत्रमा कार्यरत एक संस्थाको सहयोगबाट उक्त शिविर गत वर्षको जुलाईदेखि सुरु गरिएको हो।

मेलबर्नको ग्लेनरोय नामक सबर्बबाट सुरु भएको उक्त कार्यक्रममा हाल एपिङ्ग, लेलोर र थोमस्टाउन जस्ता अन्य स्थानका अभिभावकहरूले पनि बक्सिङ, ताइ चि, योगा लगायतका क्रियाकलापमा भाग लिइरहेको कार्यक्रम आयोजक तथा सामाजिक कार्यकर्ता अमृता गुरुङले एसबीएस नेपालीलाई बताइन्।

Amrita Gurung
Source: Supplied

उनका अनुसार, भिक्टोरियाको नेपाली समुदायमा भ्रमणमा आएका नेपाली अभिभावक प्रति लक्षित यस प्रकारको कार्यक्रमहरूमा यो नै पहिलो हो।

“ग्लेनरोयमा नेपाली बुवा आमाहरू को लागि भनेर मिलन पार्क भन्ने समूह छ भन्ने मलाई थाहा थियो,  त्यसैले मैले यो कार्यक्रम ग्लेनरोयमा लिएर जान्छु भन्ने सोचे,” ग्लेनरोयबाटै कार्यक्रम सुरु गर्नुको कारण बारे गुरुङले प्रस्ट्याइन।

अमृता गुरुङसँगको कुराकानी सुन्न तलको मिडिया प्लेयरमा रहेको प्ले बटन थिच्नुहोस्: null

"जुलाई २०१९ मा पहिलो इन्फरमेसन सेसन भयो र त्यसमा धेरै जना बुवा आमाले चासो देखाउनु भयो। यसरी यो व्यायाम कार्यक्रम प्रत्येक आइतबार सुरु हुन थाल्यो।”

तर, केही समय पछिदेखि भने शिविर आयोजना गर्न हलको समस्या भएर आइतबारको सट्टा शनिवार आयोजना गर्न थालिएको पनि उनले हामीलाई बताइन्।

Nepali Seniors Activity
Source: Supplied

हाल लेलोरमा बसोबास गरिरहेका आफ्ना छोरा बुहारीलाई भेट्न नेपालबाट आउनु भएकी दुर्गादेवी घिमिरेले यस्तो नौलो कार्यक्रममा भाग लिन पाउँदा निकै रोमाञ्चक अनुभूति भएको बताइन। ।

"यो व्यायाम कार्यक्रम साह्रै रमाइलो लागेको छ, साथी पनि बनाउने, जीउ पनि फुर्तिलो हुने। नेपालमा भुजा खाएर बसे पछि अल्छी लागि हाल्छ छ तर (अब) म नेपाल गएर पनि यो व्यायाम गरी नै रहने छु" उनले भनिन्।

“आफ्नो बोलीको आदान-प्रदान - असाध्यै रमाइलो भो हामीलाई त! पिकनिक जाँदा (थाउसण्ड स्टेप्स भनिने) १,००० सिँढी पनि चढियो - भगवानले बिस्तारै विस्तारै तानेर लग्दिनुभयो। माथि गएर एक छिन आराम गरेपछि त थकान पनि मेटियो! अति रमाइलो भो, चार धाम हिँड्या जस्तै रमाइलो भो,” घिमिरेले उक्त शिविर अन्तर्गतका अन्य क्रियाकलाप बारे आफ्नो अनुभव सुनाइन्।

“आएको चार महिना सकेर पाँच लागो, हामीलाई त बोर भएकै छैन!”

Nepali senior citizens activity
Source: Chetnarayan Sapkota

दुर्गादेवी घिमिरेसँगै पिकनिक मनाउन एक अर्का ८७ वर्षीय बुवालाई पनि थाउसण्ड स्टेप्स चढाउन सकेकोमा सन्तुष्टि व्यक्त गर्ने अमृता गुरुङले यसरी कार्यक्रमहरू सञ्चालन गर्दा वृद्धावस्था भइसकेका अभिभावकहरूको उमेर र स्वास्थ्य माथि पनि आफूले यथासक्य ध्यान दिने बताइन।

उता, विगत १९ हफ्तादेखि व्यायाम तथा तन्दरुस्ती कार्यक्रममा सरिक भइरहेका चेतनारायण सापकोटा भने अरुको भर नपरी आफैँ उक्त कार्यक्रम आयोजना स्थलसम्मै आउन सकेकोमा दङ्ग देखिन्थे।

“पहिले घरबाट निस्किन पनि केटाकेटीहरू को भर पर्न पर्थ्यो तर अहिले भने उनीहरू बिना आइया छ र रमाइलो गर्‍या छ," यसपाली समेत गरेर तेस्रो पटक अस्ट्रेलिया आएका उनले हामीसङ्गको कुराकानीका क्रममा भने।

उक्त शिविरमा सहभागी अभिभावकहरूसँगको कुराकानी सुन्न तलको मिडिया प्लेयरमा रहेको प्ले बटन थिच्नुहोस्: null

सापकोटासंगै रहेकी उनकी श्रीमती सरस्वती सापकोटाको भने व्यायाम कार्यक्रममा आउंदै गर्दा विस्तारै आफु थप तन्दरुस्त र उर्जावान भएको विचार छ।

“म आठ महिना भयो यता आएको, नाति लाई हेर्न। मेरो घुँडा निकै दुख्ने गर्थ्यो। तर, यो व्यायाम गरेदेखि चाहिं धेरै ठिक भए जस्तो लाग्छ,” उनले भनिन्।

सुरुसुरुमा यसरी कसरत गर्दा जिउ दुख्ने गरे पनि नियामित रुपमा गर्दै जाँदा निकै आनन्द महसुस हुन थालेको र अहिले छोरा बुहारीलाई समेत व्यायाम गर्दै सक्रिय जीवनयापन गर्न आफुले प्रोत्साहन गर्ने गरेको पनि उनले खुलाइन।

Nepali senior citizens activity
Source: Supplied

यस्तै सकारात्मक प्रतिक्रिया तथा नेपाली अभिभावकको मायाले हौसिएकी अमृता गुरुङ अझ बढी भन्दा बढी नेपाली अभिभावक माझ आफ्नो अभियान पुगोस् भन्ने अभिलाषा राख्छिन्।

“सुरुमा १५ जना बुवा आमाबाट थालनी भएको यो कार्यक्रम, २२ जनासम्म पुग्यो र यसमा भाग लिनु भएकाले धेरै रमाइलो मान्नु भएको छ,” एपिङ्गको पहिलो कार्यक्रम भने एक समुदाय सदस्यकै निजी निवासमा सञ्चालन गरेको सम्झिँदै उनले भनिन्।

अर्का सहभागी शालिग्राम घिमिरेले भने उक्त कार्यक्रमा जोडिएपछि आफ्नो तौल १५ किलो जति घटी सकेको सुनाए।

“म (अस्ट्रेलिया) आएको पाँच महिना भयो। आउनुभन्दा पहिलादेखि नै एक्स्सरसाइजमा बुक गर्या थिए - बाबुले, छोराले … गुरुहरूले सिकाएको अभ्यास गर्दै जाँदा अहिले धेरै नै राम्रो भएको छ,” उनले भने।

स्वास्थ्यमा धेरै फाइदा भएको बताउँदै उनले अब नेपाल फर्केपछि पनि व्यायाम लगायतका गतिविधिलाई जारी नै राख्ने पनि बताए।

“पहिले-पहिले घरमा नै कोचिएर बस्नुपर्थ्यो - अहिले त धेरैजनासँग भेट्ने मौका पाएको छु। मलाई साह्रै नै रमाइलो भएको छ।”

Nepali senior citizens activity
Source: Supplied

व्यायाम शिविरमा भाग लिदै गरेकी पार्वती कँडेल भने शारीरक स्फुर्तीको अलवा आफनै उमेर समुहका थुप्रैजनालाई साथी बनाउनु पाउँदा हर्षविभोर देखिन्थिन्।

“(पहिल्यै) नचिनेकासँग पनि यहाँ आएपछि चिनजान भयो … साथी बनाइयो … खुशी लाग्या छ,” उनले एसबीएस नेपालीसँग भनिन्।

त्यसैगरी भरतपुरबाट अस्ट्रेलिया आइपुगेका टिका शर्मा पौडेलका अनुसार व्यायाम शिविरका कारण अस्ट्रेलिया आएर पनि नेपाल मै भए जस्तो लागेको आफ्नो अनुभव सुनाए।

“यो प्रोग्रामले गर्दा खेरी सबै साथीभाई भेटघाट हुने, जाने बस्ने हुँदा नेपालमै भुलिए (जस्तो) छ,” उनले प्रस्ट्याउँदै थपे।

सुत्केरी भएकी बुहारीलाई स्याहार गर्न मेलबर्न आएकी पद्मा कार्कीले यस्ता कार्यक्रममा भाग लिँदा थुप्रै अन्य नेपाली अभिभावकहरूसँग घुलमिल हुन पाएको कारण पनि रमाइलो भएको बताइन। 

कार्कीसँगै उभिएका उनका श्रीमान् मदन कार्की भने जति नै समृद्ध भए पनि अस्ट्रेलिया आफ्नो देश नेपाल जस्तो नै महसुस नहुने बताउँछन्।

तथापि, उनले थुप्रै नेपाली भेलाहरूमा सहभागिता जनाउन पाउँदा आफूलाई अविस्मरणीय नै लागेकोको पनि हामीसँगको संवादको क्रममा खुलाए। 

“वहाँले हामीलाई एककृत गराउनुभयो … सबैलाई (एक आपसमा मिलाई दिनुभयो) … (हामी सबै) बडा रमाएका छौँ किनभने घरमै बसी रहँदा त सधैँ उही घर - घुम्यो आयो सिद्धियो। तर, यो भनेको त हामी … सबै मिलेर आपसमा (कुराहरू) शेयर गरिन्छ, रमाइलो मानिन्छ (दुख दर्द) भुल्छौँ, खुसी हुन्छौँ  ,”आयोजक अमृता गुरुङ प्रति आफ्नो कृतज्ञता जाहेर गर्दै उनले भने। 

“हामी जो जहाँको भए पनि यो एउटा सानो नेपाल भएको छ। कोही पूर्व मेचीको, कोही पश्चिम महाकालीको होला, तर यहाँ आउँदा हामी एउटै घरको, एउटै नेपालको (अनुभूति) भई रहेको छ।”

Nepali Senior Citizens Activity in Thomastown "TRAC" Melbourne
थोमस्टाउन रिक्रिएसन एन्ड अक्वाटिक सेन्टरमा अमृता गुरुङका साथ अभिभावाकहरू Source: Supplied

ट्रयाक भनेर परिचित थोमस्टाउन रिक्रिएसन एन्ड अक्वाटिक सेन्टरमा हाल १९ वटा जति यस्ता व्यायाम कार्यशालाहरू सफलता पूर्वक सम्पन्न गरिसकिएको आयोजक अमृता गुरुङले बताइन। 

साथै, शिविरमा सञ्चालन गरिएका गतिविधिहरू मध्य बक्सिङ सहभागी अभिभावकहरू माझ निकै चर्चित रहेको जानकारी पनि उनले दिइन्।

“बक्सिङ्गमा गाह्रो त एकदमै गाह्रो हुन्छ लेडिज मान्छेहरूलाई, अब हाइट अनुसार राख्नु पर्यो जोडी हैन,” उनले आफ्नो चुनौती बारे भनिन्।

“जेण्ट्स मान्छेहरूले चाहिँ धेरै नै (रुचि) देखाउनु भएको छ तर एक दुई जना महिलाले पनि निकै राम्रो गर्नुभएको छ।”

नौलो कुराको अनुभव गर्न पाएकाले बुवा आमाहरूको यो पाली को अस्ट्रेलिया बसाइ अर्कै रमाइलो र उत्साह पूर्ण रहेको र आउने दिनहरू मा पनि आफू जस्तै भ्रमण गर्न आउने बुवा आमाहरूको लागि यस्तो कार्यक्रम भई रहोस् भन्ने धारणा सबैको रहेको थियो।

“अब एनआरएन र न्याभले पनि बाबुआमाका निम्ति काम गर्नुपर्‍यो। उहाँहरू घरमा मात्र सीमित (हुनु)हुन्छ। वहाँहरूलाई रमाइलो भन्ने (केही) छैन त्यही भएरै भविष्यमा पनि यस्तो कार्यक्रमहरू गर्न पाए हुन्थ्यो,” अन्य नेपाली सामुदायिक संस्थाहरूको अपेक्षा रहेको गुरुङले एसबीएस नेपालीसँग भनिन्।

“मलाई मात्र गर्न गाह्रो छ, मेरो पनि (निजी) लाइफ छ,” उनले स्पष्ट पारिन्।

तर, यस्तो सामुदायिक कार्यक्रम आफू मात्रले नभई बुवा आमा, नेपाली समुदाय सबै जना मिलेर गरेको कुरा फैलियोस् भन्ने विचार पनि संयोजक अमृता गुरुङको रहेको छ।


Share

6 min read

Published

Updated



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now