साउथ अस्ट्रेलियामा भर्खरै आएका नेपाली विद्यार्थीका लागि सहयोगी हातहरू

एडिलेडको एक नेपाली सामुदायिक संस्थाले, विद्यार्थी भिसामा नेपालबाट पहिलो पटक साउथ अस्ट्रेलिया आउनेहरूलाई विमानस्थलमा लिन जाने र बस्ने ठाउँसम्म पुराउने निःशुल्क सेवाको सुरुवात गरेको छ।

Nepalis in Adelaide Airport Students

Source: Supplied

नेप्लिज इन एडिलेडका एकजना सदस्य प्रकाश गैरेका अनुसार, अस्ट्रेलिया आउने नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीले सामना गर्नुपर्ने अनेकौँ कठिनाइहरूलाई सम्बोधन गर्ने हेतुका साथ उक्त सहयोग कार्यक्रम सुरु गरिएको हो।

विमानस्थलमा लिन जाने, नयाँ विद्यार्थीलाई बस्ने ठाउँ खोज्न मद्दत गरिदिनेदेखि सिम कार्ड र बैङ्क खाताको बन्दोबस्तसम्मका सहयोग गर्ने उक्त समूहको भनाइ छ।

श्रीमतीले पाएको दु:ख बन्यो प्रेरणाको स्रोत 

२०१६ सालमा आफ्नी श्रीमती आउँदा परेको जस्तो अफ्ठेरो अरूहरूलाई नपरोस् भन्ने उद्देश्यका साथ सुरु भएको नेपलीज इन एडिलेड बारे गैरे भन्छन्, “बहुत गाह्रो भयो - एयरपोर्ट, एकोमोडेसन लगायत सबै कुरामा अफ्ठेरो भयो।

“अब एक्लो महिलालाई के-कस्तो अफ्ठेरोहरू हुन्छ, हामी कल्पना पनि गर्न सक्दैनौ।”

हामीले गैरेसँग गरेको कुराकानी सुन्नुहोस्:

  

हाल विधिवत् रूपमा दर्ता गरेर सञ्चालन गरिएको उक्त संस्थाको सुरुवात कसरी भयो त भन्नेबारे उनले भने, “२०१६ मा नेपलिज इन साउथ अस्ट्रेलिया भन्ने पेज खोलेको थिए - यो त्यसैको निरन्तरता हो।”

विमानस्थल देखि निवासस्थानसम्म 

prakash agire and students from Nepal
Source: Supplied

“एयरपोर्टबाट बस्ने स्थानसम्म पुर्‍याइदिने नै अहिलेका लागि हाम्रो मुख्य काम हो,” आफ्नो पहिलो प्राथमिकताको बारेमा स्पष्ट पार्दै उनले भने।

यो वर्षको मध्यदेखि सुरु गरिएको “एयरपोर्ट पिक अप” कार्यक्रमबाट हालसम्म करिब १५ जनाले सेवा लिइसकेको गैरेले बताए।

उक्त सेवा लिने पहिलो व्यक्ति बन्न पुगेका रजन तिवारीका अनुसार नेप्लिज इन एडिलेडले उनी जस्ता नेपालबाट आउने विद्यार्थीहरूको हात समाइ दिएर निकै ठुलो गुण लगाएको छ।

“उहाँहरूले एयरपोर्टसम्म त लिन आउनु भयो भयो कामका लागि समेत पहल गरिदिएर मैले कहिले पनि बिर्सन नसक्ने गुण लगाउनुभएको छ। अहिले म पनि उहाँहरूसँग मिलेर म भन्दा पछि एडिलेड आउनुभएका नेपाली साथीहरूलाई मद्दत गर्दैछु,” उनले एसबीएस नेपालीसँग भने।

२० जना सम्मिलित समूह भएकाले समय छँदै सूचना पाइए एयरपोर्टमा लिन जान कुनै अप्ठेरो नहुने जानकारी पनि गैरेले दिए।

“समयमै जानकारी चाहिँ हुनुपर्छ, कम्तीमा पनि एक या दुई दिन अगाडी, हामी अवश्य पनि नव आगन्तुकलाई लिन पुग्नेछौँ।”

आफूले जानेका कुरा सिकाइदिने

Nepali Students meet at a local park in Adelaide
Source: Facebook

त्यसको अलावा उक्त संस्थाले नव आगन्तुकहरूका लागि अस्ट्रेलियामा बसोबास सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू पनि गर्ने तयारी गरिरहेको गैरेले बताए।

“कोहीले चाहिँ नेपालबाट हामीलाई कोठा मिलाइदिनु पर्‍यो…सस्तो अलिकति मिलाएर…भनेर भन्न हुन्छ अनि त्यही अनुसार कोठा मिलाइदिने काम पनि गरेका छौँ।”

काम पनि मिलाइदिने प्रयास आफूहरूले गर्ने तर आफ्नो अधीनको कुरा नभएकाले त्यसबारे पूर्ण रूपमा जिम्मा लिन अलिक अफ्ठेरो पर्ने गैरेको भनाइ थियो।

Rajan Tiwari has made Adelaide his home in Australia.
सेवा लिने पहिलो विद्यार्थी रजन तिवारी Source: Facebook

उनका अनुसार, विद्यार्थीहरूले अस्ट्रेलिया आउँदा विचार पुर्‍याउनु पर्ने कुराहरू धेरै छन्।

“कोही-कोही नयाँ विद्यार्थी त हाम्रो कुरा सुन्दा ट्वाँ पर्नुहुन्छ,” बिना तयारी नेपालबाट आएकाहरूको बारेमा उनले भने।

आफ्नो समूहको सम्पर्कमा आएकाहरूलाई सामान्य तर जान्नै पर्ने कुराहरू सिकाइ दिन पाउँदा आफूहरूलाई धेरै खुसी लाग्ने पनि गैरेको भनाई छ।

“त्यसैले पनि हामी उनीहरूलाई सहयोग गर्छौं र आफूले जानेका कुराहरू सिकाइ दिन्छौँ।”

अस्ट्रेलियामा बसोबास र आप्रवासन बारेका हाम्रा विशेष सामाग्रीहरू यहाँ थिचेर हेर्नुहोस्  

“दाइहरूले धेरै कुरा भोगी सक्नु भएको भएर, उहाँहरूले देखाएको बाटो हिँड्दा धेरै सजिलो भएको छ,” रजन तिवारीले नेपलिज इन एडिलेडको अभिमुखीकरण बारे आफ्नो धारणा राख्दै भने।

विद्यार्थी मात्र होइन

Visiting Nepali Parents in a park in Adelaide enjoying a community Barbecue event
Visiting Nepali Parents in a park in Adelaide enjoying a community Barbecue event. File image. Source: Supplied

नेपलिज इन एडिलेडले विद्यार्थीहरू मात्र नभई अस्ट्रेलिया घुम्न आएका अभिभावकहरूका लागि पनि कार्यक्रमहरू आयोजना गर्ने गरेको प्रकाश गैरेले एसबीएस नेपालीलाई जानकारी दिए।

“भर्खरै मात्र, हामीले दसैँ तिहारका बेला साउथ अस्ट्रेलिया आउनुभएका, करिब डेढ सय जति अभिभावकहरूका लागि एउटा पिकनिकको आयोजना गरेका थियौँ,” उनले भने।

अब उक्त समूहले गैर आवासीय नेपाली सङ्घको साउथ अस्ट्रेलिया शाखासँगको समन्वयमा ‘बिच सेफ्टी’ कार्यक्रम गर्ने सोच बनाएको पनि गरैले जानकारी दिए।

“कुनै पनि काम चाहिँ टाइममा गर्दा र अलि पछि गर्दा फरक पर्दो रहेछ…अब गर्मी सुरु भइसक्यो… मान्छेहरू बिचमा जाने (बढ्छ) । त्यसैले पछि भन्दा पनि तत्कालै… एउटा कार्यक्रम गर्छौँ…।”

Members of Nepalis in Adelaide Community working group
Source: Facebook

“भोलनटिएर” बन्नुका फाइदा

यसरी अस्ट्रेलियाभर करिब १०,००० भन्दा बढीको सङ्ख्यामा दर्ता भएका विभिन्न सङ्घ संस्थाहरूले स्वयंसेवकहरूलाई सामाजिक स्याहार, खेलकुद लगायत शिक्षाका क्षेत्रहरूमा संलग्न हुने मौका प्रदान गर्ने गरेका छन्।

स्वयंसेवक बन्नु भनेको अस्ट्रेलियन समुदायमा घुलमिल हुनु पनि हो र यसले भविष्यमा आफूलाई इच्छा लागेको क्षेत्रमा काम पाउन सजिलो बाटो पहिल्याइदिन पनि सक्छ। यसबारे थप रिपोर्ट पढ्नुहोस् 

 


Share

4 min read

Published

Updated

By आभास पराजुली



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now