कोभिड-१९ः सङ्क्रमित आइसोलेसनमा अनिवार्य बस्नु पर्ने नियम अस्ट्रेलियामा अब छैन!

अक्टोबर १४ देखि कोभिड-१९ सङ्क्रमितहरू अनिवार्य आइसोलेसनमा बस्नु पर्ने नियम हटेको छ।

shopping angels

Alışveriş melekleri bu dönemde sğpermarketlere gidemeyenlere yardım ediyor. Source: SBS

मुख्य बुँदाहरू:

  • कोभिड-१९ अस्ट्रेलियाको लागि एक खतराको रूपमा रहन जारी: एएमएका प्रमुख स्टिभ रबसन
  • कर्मचारीहरूले आफ्ना रोजगारदातासँग स्वास्थ्य सुरक्षा योजना बनाउने डा. केरी च्यान्टको सुझाव
  • खोप लगाउनु कोभिडबाट सुरक्षित रहने सबैभन्दा उचित तरिका रहेको विज्ञहरूको भनाइ

कोभिड-१९ सम्बन्धि उक्त पछिल्लो सरकारी निर्णयसँगै धेरै अस्ट्रेलियाहरू आफ्नो स्वास्थ्यको बारेमा चिन्तित हुन थालेका छन्।

अनिवार्य आइसोलेसनमा बस्नुपर्ने नियम हटाउने राष्ट्रिय मन्त्रीपरिषद्को निर्णयलाई लिएर सिड्नीकी एक बासिन्दा, जेनी चू दुखी छिन्।

तीन बालबालिकाकी आमा चू भन्छिन् कि यो "गलत" हो।

उनका छोराछोरीहरू पाँच वर्षभन्दा कम उमेरको भएको हुनाले कोभिड-१९ खोपको लागि अझै योग्य छैनन्।

"मेरा बच्चाहरूलाई चाइल्डकेयरमा शिक्षक या कर्मचारीहरूबाट कोभिड सर्न सक्छ किनभने सङ्क्रमित व्यक्तिहरू अब आइसोलेसनमा बस्नु पर्दैन," उनले भनिन्।

अस्ट्रेलियामा पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूले कमजोर स्वास्थ भएको भए मात्र कोभिड-१९ को खोप लगाउन पाउने नियम छ।

त्यस्तै, पाँच वर्षभन्दा बढी उमेर भएका बालबालिकाले खोपको दुई वटा मात्रा लगाउन पाउँदछन्।

कोभिड-१९ को जोखिम कायम

कोभिड-१९ सङ्क्रमण, अस्पताल भर्ना र मृत्यु दर घटे तापनि सरकार र बासिन्दाहरूले महामारीको जोखिमलाई बेवास्ता गर्न नहुने अस्ट्रेलियन मेडिकल एसोसिएसनका प्रमुख स्टिभ रब्सनको भनाई छ।

कोभिड अझै पनि हाम्रो स्वास्थ्य, अर्थतन्त्र र स्वास्थ्य प्रणालीको लागि एक खतरा हो।

उनका अनुसार लगाएका खोपहरूको प्रतिरोधात्मक शक्ति कम हुँदै जाँदा, र उत्तरी गोलार्धमा सङ्क्रमणको अर्को लहर सुरु भएको अवस्थामा अस्ट्रेलियालीहरू थप जोखिममा रहन्छन्।

"नेताहरूले महामारी अन्त्य भयो भनिरहेका छन्, तर यो कुरा सत्यबाट निकै टाढा छ," प्रोफेसर रब्सनले बताए।

नयाँ परिवर्तन माझ कार्यस्थलमा कोभिड सङ्क्रमणबाट कसरी बच्ने?

कर्मचारीहरूले महामारी सुरु भएदेखि प्रयोग गरिएका तरिकाहरू नै अपनाउनु पर्ने विज्ञहरू बताउँछन्।

"कोभिड-१९ बाट सुरक्षित रहन के गर्नु पर्छ भनी हामी सबैलाई अनुभवबाट थाहा छ। त्यसैले, तिनै कदमहरू चाल्ने गरौँ," भन्छिन् न्यु साउथ वेल्सकी प्रमुख स्वास्थ्य अधिकारी केरी च्यान्ट।

"यदि कसैलाई रुघाखोकी या फ्लुका लक्षणहरू छन् - जस्तै नाक बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने वा ज्वरो आउने - हामी उनीहरूलाई घरमा बस्न आग्रह गर्छौँ। परीक्षण गर्नुहोस्।"

कर्मचारीहरूले कार्यस्थलमा सुरक्षित रूपमा फर्कनका लागि रोजगारदाताहरूसँग कुरा गर्नु पर्ने पनि डा. च्यान्ट बताउँछिन्।

कर्मचारी तथा ग्राहकको सुरक्षाका लागि प्रत्येक राज्य र प्रदेशको आ-आफ्नै स्वास्थ्य तथा सुरक्षा कानुनहरू छन्।

सुरक्षित कार्यस्थलको जिम्मेवारी रोजगारदाताको भए तापनि कर्मचारीहरूले आफ्नो र अरूको स्वास्थ्य र सुरक्षाको ख्याल राख्नु पर्दछ।

कोभिड-१९ सङ्क्रमित व्यक्तिहरूले आफ्नो वरिपरिका मानिसहरूलाई ध्यानमा राख्न आवश्यक रहेको प्रोफेसर रब्सनले बताए।

"यदि तपाईँलाई कोभिडका लक्षण छन् या हालै कोभिड भएको थियो भने, सकेसम्म सङ्क्रमण नफैलाउने कोसिस गर्नुहोस्," उनले भने।

यद्यपि, सङ्क्रमण दरको सही गणना नहुँदा भने स्वास्थ्यकर्मीहरूलाई समुदायको वास्तविक अवस्था बुझ्न कठिन हुने प्रोफेसर रब्सनको भनाइ छ।

तपाईँ कति समयसम्म सङ्क्रामक रहनु हुन्छ?

अनिवार्य आइसोलेसनको नियम हटे तापनि, सङ्क्रमण अवधि भने परिवर्तन भएको छैन।

डा. च्यान्टले बताइन् कि सङ्क्रमित व्यक्तिबाट १० दिनसम्म कोभिड सर्न सक्छ।

तर लक्षण देखिनुभन्दा दुई दिन अघि देखि लक्षणहरू रहेसम्म मानिसहरू सङ्क्रामक हुन्छन्।

कोभिड-१९ भएका मानिसहरूलाई भवन भित्र र सार्वजनिक यातायातमा फेस मास्क लगाउन डा. च्यान्टले आग्रह गरेकी छिन्।

सङ्क्रमित व्यक्तिहरू ठुला जमघट, भीड भएका भवनभित्रका ठाउँहरू र अस्पताल तथा वृद्ध र अशक्तता हेरचाह केन्द्रमा सात दिनसम्म जान नहुने उनले बताएकी छिन्।

खोपको बारेमा अद्यावधिक रहेर खोप लगाउनु नै कोभिड विरुद्धको सबैभन्दा उचित उपाय रहेको विज्ञहरू बताउँछन्।

यदि तपाईँ नजिकी सम्पर्क (क्लोज कनट्याक्ट) भएमा के गर्न सकिन्छ?

न्यु साउथ वेल्सले नजिकी सम्पर्कहरूलाई यस्तो सल्लाह दिएको छ:

  • लक्षणहरूको निगरानी गर्नुहोस्
  • परीक्षण गर्नुहोस्, र बिरामी भएमा घरमा बस्नुहोस्
  • अस्पताल र वृद्ध तथा अशक्तता हेरचाह केन्द्र जस्ता उच्च जोखिमका ठाउँहरूमा सात दिनसम्म नजानुहोस्
  • गम्भीर रोगको उच्च जोखिम भएका मानिसहरूलाई भेट्न नजानुहोस्
  • भवन भित्र र सार्वजनिक यातायातमा फेस मास्क प्रयोग गर्नुहोस्
  • समय समयमा र्याट (RAT) परीक्षण गर्नुहोस्

नयाँ व्यवस्था केहीका लागि भने राहत

अनिवार्य आइसोलेसन बस्न नपरेकोमा केही अभिभावक र बालबालिकाले राहत पाएका छन्।

"अब मानसिक तनाव र डर छैन। सबै मानिसहरूलाई कोभिडसँग जीवन बिताएको अनुभव छ। अब वर्तमान समयमा बाँच्ने समय भएको छ," दुई बालबालिकाकी आमा सङ्गीताले बताइन्।

त्यस्तै, स्पेसल एजुकेसनकी शिक्षिका र पाँच सन्तानकी आमा केली फोर्डले कोभिड आइसोलेसन नियम हटेको खबरलाई "निकै राम्रो" भनी वर्णन गरेकी छिन्।

"विद्यार्थीहरूले अत्यावश्यक जीवन र सामाजिक सीपहरू सिक्नलाई समुदायसँग घुलमिल गर्न पाएका छैनन्," उनले भनिन्।

"स्कुल क्याम्प, बाहिरी खेलकुद र धेरै रोमाञ्चक भ्रमणका योजना बनेका छन्। जीवन फेरी राम्रो भएको छ!"

कोभिड नियमका परिवर्तन बीच कार्यस्थल, विद्यालय र शैक्षिक सुविधाहरूमा फर्कन बारे चिन्तित रहेका अस्ट्रेलियालीहरूले आ-आफ्ना राज्य र प्रदेशमा मद्दत पाउन सक्छन्।

अस्ट्रेलियन क्यापिटल टेरिटरी

क्यानबेरा स्वास्थ्य सेवाको एक्सेस मेन्टल हेल्थ

१८०० ६२९ ३५४

न्यु साउथ वेल्स

मेन्टल हेल्थ लाइन

१९०० ०११ ५११

नर्दन टेरिटरी

नर्दन टेरिटरी मेन्टल हेल्थ लाइन

१८०० ६८२ २८८

क्वीन्सल्यान्ड

१३०० एमएच कल: मेन्टल हेल्थ एक्सेस लाइन

१३०० ६४२ २५५

साउथ अस्ट्रेलिया

बियन्ड ब्लु कोरोनाभाइरस मेन्टल वेलबिइङ्ग सपोर्ट सर्भिस

१८०० ५१२ ३४८

टास्मेनिया

मेन्टल हेल्थ सर्भिस हेल्पलाइन

१८०० ३३२ ३८८

भिक्टोरिया

हेड टु हेल्प

१८०० ५९५ २१२

वेस्टर्न अस्ट्रेलिया

मेन्टल हेल्थ इमर्जेन्सी रेस्पन्स लाइन

१३०० ५५५ ७३३

एसबीएस अस्ट्रेलियाका बहु सांस्कृतिक र बहुभाषिक समुदायहरूलाई कोभिड-१९ बारे सबै अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित र जानकार रहनुहोस्, र नेपाली भाषामा पछिल्लो जानकारीका लागि एसबीएस कोरोनाभाइरस पोर्टल नियमित हेर्नुहोस्


Share

4 min read

Published

Updated

By Yumi Oba, Sahil Makkar

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now