सिड्नीमा अवस्थित सगरमाथा फुटबल क्लब कतिपय नेपाली युवाहरुको लागि दोश्रो घर हो। क्लबले हप्ता अन्त्यका दुई दिन फुटबल खेल संचालन गर्नु बाहेक क्लबमा आवद्ध नेपाली युवाहरुलाई अस्ट्रेलियामा बसोबासको चाँजोपाँजो मिलाउन पनि मद्दत गर्दछ।
लबिन गुरुङ सगरमाथा फुटबल क्लबका संस्थापक सदस्य हुन्। उनी भन्छन्, "क्लबका सदस्यहरु एक अर्कालाई सहयोग र साथ दिने गर्दछन्। अस्ट्रेलिया भर्खर आएका नेपाली युवाहरुलाई बस्नको लागि कोठा खोज्ने देखि काम खोज्न पनि क्लबले सहयोग गर्छ।"
तर गुरुङ सहित क्लबका अग्रज सदस्यहरुलाई अहिले क्लबका खेलाडीको जुवा, लत चिन्ताको बिषय बनिरहेको छ।
"केही साथीहरु यो समस्याबाट बाहिर आउन प्रयास गरिरहेका छन् भने कतिपय यसलाई समस्याको रुपमा नै लिन चाहदैनन् र सहयोग पनि खोज्दैनन्।"
जुवा खेल्ने सुरुवात कसरी भयो भन्ने प्रश्नमा क्लबका केही खेलाडीहरुले एक्लोपन र पट्ट्यार मेटाउन पहिलो पटक जुवा खेलेको बताए।
क्लबका एक खेलाडी विकासले (नाम परिवर्तन) पोकर मेसिनको अगाडी आफ्नो पहिलो बसाईंलाई यसरी सम्झना गरे।
"फुटबल हेर्न आरएसएल गएको थिए, खेल एकदम अल्छी लाग्दो भएको थियो, अर्को पट्टि पोकर र रोलेटको अगाडी भिडभाड देखेर त्यतै गए अनि मैले पनि खेलें।"
विकासले सुरुवातमा रमाइलोको लागि खेलेका थिए र पछि अलिकति पैसा जित्दा अझै धेरै जित्ने आश लागेको सम्झिन्छन् ।
विकास जस्तै क्लबका अन्य खेलाडीहरुले पनि जुवा पैसा जित्नको लागि भन्दा पनि रमाइलोको लागि खेलेको बताउँछन्।यसलाई धेरैले चिन्ता र एक्लोपनबाट बच्न प्रयोग गर्ने गरेको पाइएको छ।
"साथीहरुसँग विकेन्डमा पबमा गएर ड्रिंक गर्दा रमाइलोको लागि पहिलोपटक खेलेको थिए", क्लबकै दिपक आफ्नो पहिलो अनुभव यसरी सुनाउँछन्।
कतिपयले पोकर, रोलेट मात्र हैन वेब साइट मार्फत बाजी लगाउन सजिलै पहुँच पुग्नाले पनि समस्या झन् जटिल बनेको विचार राख्छन् ।
"साथीहरुसँग हुँदा खासै त्यो रात केही थाहा हुदैन तर भोलिपल्ट बिहान बैङ्क खाता हेर्दा पैसा हारेको पाए पछि बल्ल मैले केही गलत गरे जस्तो भान हुन्छ ।"
दिपक यसो भनिरहँदा आफु अझै पनि कहिले काहिँ पैसा जित्न नभएर रमाइलोको लागि त्यस्ता स्थानहरुमा जाने गरेको स्विकार्छन्।
दिपकका साथी मनोजका लागि भने यो खालि रमाइलोमा मात्र सिमित भएन।
मनोज आफु कुनै समयमा दैनिक जसो नै जुवा खेल्ने गरेको आफुमा लत बसेको कुरालाई नकार्दैनन्। तर पछिल्लो समयमा जुवा खेल्ने स्थानमा खर्चिने गरेको समय र रकममा धेरै कमि आइसकेको बताउँछन्।
"त्यस्तो ठाउँमा (जुवा खेल्न) त हरेक दिन जस्तो नै जाँन्थे, मैले ७ दिनमा लगभग १३,००० जति जितेको थिए, तर हार्न पनि अर्को दिन खेल्दा एकै पटक ४,००० हारें। "
सगरमाथा फुटबल क्लबमा आवद्धहरु प्राय: विद्यार्थी छन्।

"दु:खका साथ् भन्नु पर्छ हाम्रै साथीहरु, सगरमाथा फुटबल क्लबका साथीहरु पनि नकारात्मक प्रभाव परेर त्यस्तै लतमा फसेर दैनिक खर्च, पढाइ खर्च पुर्याउन समेत कठिन भएपछि नेपाल फर्किनु पनि परेको छ", कतिपयले त जुवाको लत कै कारण आफु अस्ट्रेलिया आउनुको उद्देश्य पुरा गर्न नसकी फर्केको स्मरण गर्छन लबिन गुरुङ।
"उनीहरु धेरै उद्देश्य र सपना बोकेर आएका थिए तर त्यो सपनाहरु पुरा गर्न सकेनन्।"
मनोजका लागि जित्दा र हार्दा दुवै अवस्थामा निन्द्रा लाग्दैन। लामो हाँसोका साथ उनले भने, "जित्दा खेरि पैसा धेरै भएर गनेको गनेकै गर्न मन लाग्छ, हार्दा चिन्ताले सुत्न सकिदैन।"
फुटबलको भूमिका
फुटबल खेल क्लबका केही खेलाडीहरुका लागि वरदान सावित भएको छ।
सन् १९९९ मा स्थापना भएको सगरमाथा फुटबल क्लबका संस्थापन पक्ष आफ्ना खेलाडीहरुको जुवाको लतलाई ठुलो समस्याका रुपमा लिने गर्दछन्।
क्लबका मनोजले धेरै पैसा जुवामा हारिसकेका थिए। उनी भन्छन्, "यो क्लबसँग नजोडिएको भए मैले अझै धेरै हार्ने थिए। मैले धेरै पटक हारेको याद छ, तर एकै बसाईंमा सबैभन्दा धेरै १,७०० डलर मैले हारेको थिएँ।"
"पहिले दुई तिन जना मात्र साथी हुन्थ्यो, खाने खेल्ने मात्र हुन्थ्यो। तर अहिले अभ्यास खेलहरुको पनि समय बढेको छ साथै अरु क्लब भित्रकै क्रियाकलापमा व्यस्त हुने भएर जुवाको बारेमा सोच्ने समय हुदैन। फुटबल खेले पछि थाकिन्छ यसमा नै व्यस्त भएकोले जुवा खेल्ने समय पाईंदैन।"
स्वस्तिका फैजुले क्लबको सामाजिक संलग्नतालाई हेरीरहेकी छिन्। उनका अनुसार खेलाडीहरु एक अर्काको साथमा रमाउँछन् र क्लबका विभिन्न कार्यक्रमहरुका लागि आफुलाई तयार राख्छन्।
क्लबका अन्य कतिपयको लागि क्लब एउटा सहयोग, आफ्नोपन र सामुदायिक भावना बढाउने माध्यम हो।
गम गुरुङ यो क्लबमा संलग्न हुँदा आफ्नो शारीरिक व्यायामको आवस्यकता पुरा हुने मात्र नभएर यसले नयाँ साथीहरु बनाउन पनि सहयोग गरेको बताउँछन्।
"हामी क्लब भित्र सानो भन्दा सानो समस्याहरुका बारेमा छलफल गर्छौं जसले गर्दा एक अर्काको जिज्ञासा र समस्याको समाधान पनि निकाल्न मद्दत गर्छ।"
क्लबका संस्थापक लबिन गुरुङले क्लब को मुख्य उद्देश्य खेलाडीहरुलाई असल काम तिर प्रेरित गर्नु भएको बताउँदै भने, "क्लबको लागि ट्रफी जित्नु नै सबै कुरा हैन। जित्नु र हार्नु मात्र हैन, सदस्य, खेलाडी र समर्थकहरुलाई सहि बाटोमा लाग्न प्रेरित गर्न सक्नु नै क्लबको लागि बढी मुल्यवान छ।"
उनी भन्छन् "यसरी नकारात्मक दिशामा गैरहेको मानसिकतालाई हामी फुटबल खेल तथा सामाजिक सेवा (दयालु कार्य) मा लगाउन प्रेरित गर्छौ।"

क्लबले पछिल्लो समयमा नेपालका दुर्गम स्थानहरुमा रहेका बालबालिकाहरुको शिक्षाको लागि रकम संकलन गरिरहेको छ। र यस्तै सामाजिक कार्यका लागि क्लबका एक खेलाडी निकै उत्साहित देखिन्छन्। उनै रबिन भन्छन्, "हामीले धेरै दुख गरेर पैसा कमाएको हुन्छौँ, जुवा खेलेर पैसा सकाउनु भन्दा सामाजिक कार्यमा खर्च गर्दा आफुलाई पनि राम्रो अनुभव हुन्छ र दु:खमा परेकाहरुलाई पनि सहयोग हुन्छ।"
अस्ट्रेलियामा जुवा
नेपाली नागरिकहरुले नेपालमा जुवा खेल्नु गैरकानूनी हुनुका साथै यसलाई सामाजिक कुरीतिका रुपमा लिने गरिन्छ। तर अस्ट्रेलियाको सन्दर्भमा भने यो बारेमा छुट्टै दृष्टिकोण रहेको छ।

जुवा खेल्नु अस्ट्रेलियामा गैर कानूनी क्रियाकलाप भित्र नपर्नुका साथै यसलाई कतिपयले मनोरंजनको माध्यमका रुपमा पनि लिने गर्दछन्।
अस्ट्रेलियामा रहेका नेपालीहरुलाई यो खुल्लापनले रोमाञ्चक बनाउने गरेको देखिन्छ। र उनीहरु पोकर, क्यासिनो, र बाजी लगाउने वेब साइटहरुमा पैसा खर्च गर्दछन्। यसले गर्दा जटिल समस्या उत्पन्न हुने सिड्नीमा अवस्थित नेपाली मनोचिकित्सक बताउँछन्।
डा. घनश्याम चापागाईंले एसबीएस नेपालीसँगको कुराकानीका क्रममा उनीकहाँ आउने नेपालीहरु प्राय जुवाका समस्याहरु लिएर आउने गरेको बताए।
उनका अनुसार जब उनीहरु मानसिक परामर्शका लागि आउँछन् त्यतिखेर समस्या 'अत्यन्त जटिल' बनिसकेको हुन्छ।
अस्ट्रेलियामा जुवा खेल्नेबारे अनुसन्धान गर्ने केन्द्र, Australian Gambling Research Centre (AGRC) ले गरेको अनुमान अनुसार ६.८ करोड अस्ट्रेलियालीहरुले एक महिनामा कम्तिमा पनि एक पटक जुवा खेल्ने गरेको देखाउँछ।
सन् २०१५ मा गरिएको अनुसन्धानमा १.४ करोड मानिसहरु एक वा सो भन्दा बढी जुवाका कारण आउने समस्याबाट गुज्रिएको देखिएको छ।
उक्त रिपोर्टमा जनाइए अनुसार बर्षेनी १२ करोड अस्ट्रेलियालीहरुले कम्तिमा एक पटक जुवा खेल्छन।

एन्ड्रु आर्मस्ट्रंग केन्द्रका अनुसन्धानकर्ताहरु मध्येका एक हुन्। उनले अस्ट्रेलियामा जुवा खेल्ने चलनलाई कैदीका रुपमा अस्ट्रेलिया प्रवेश गर्ने पहिलो पुस्तादेखि नै चलि आएको परम्परागत जीवन शैलीको रुपमा वर्णन गर्छन्।
उनी भन्छन्, "अस्ट्रेलियालीहरु जुवा खेल्ने मामलामा विश्वमा नै अघिल्लो पंक्तिमा छन्।"
"समग्रमा हामी (अस्ट्रेलियालीहरु) पछिल्लो समयमा एक बर्षमा २४ अर्ब डलरको हाराहारीमा खर्च (हार्ने) गर्छौं जुन सम्पूर्ण अन्य कानूनी क्रियाकलापहरुमा हुने खर्च भन्दा बढी हो। र यो हारहरुका कारण हामि विश्वमा नै प्रति व्यक्ति सबैभन्दा बढी खर्च गर्ने देशमा पर्दछौं।"
सगरमाथा फुटबल क्लबका लबिन गुरुङ पनि अस्ट्रेलियाको जीवनशैली केही हदसम्म यो समस्याको लागि जिम्मेबार भएको बताउँछन्।
"अस्ट्रेलियामा जुवा जीवनको एउटा हिस्सा बनेको छ। टीएबीमा बसेर बाजी लगाउने अझ त्यसलाई पनि सजिलो बनाएर आजकाल त मोबाइलबाटै पनि गर्न सकिन्छ। यसरी सजिलै पहुँच पाउने भएर पनि युवाहरु छिट्टै मानसिक रुपमा बिचलित हुने गर्दछन्।"
आर्मस्ट्रंग हैसियत हेरेर खेल्नुलाई नै जिम्मेवार पूर्ण जुवा खेलाइ हो भन्ने ठान्दछन्।
"यदि तपाइँको आम्दानी सामान्य या मध्य छ भने सम्भवत: हप्तामा २० डलर वा सो भन्दा कम खर्च गर्नमा सिमित हुनु पर्दछ।"
आर्मस्ट्रंगका अनुसार जुवा खेल्ने बारे धेरै सोचाइहरु आइरहनु, जुवा खेलेकोबारे अन्यसँग झुटो बोल्नुलाई जुवाका कारण समस्या उत्पन्न भएको भन्न सकिन्छ।

उनी भन्छन् साथीभाई तथा परिवारका सदस्यहरुसँग कम समय बिताउने अथवा जुवा खेलिसकेपछि नराम्रो अनुभव हुन्छ भने यो क्रियाकलापबाट आफुलाई टाढै राख्ने समय भएको भन्ने बुझ्नुहोस्।
यदि तपाइँ अथवा तपाइँको चिनजानको कसैलाई जुवा खेलबारे परामर्श, जानकारी अथवा सहयोग चाहिएमा नेशनल ग्याम्बलिंग हेल्पलाइन १८००८५८८५८ मा फोन गर्न सक्नु हुनेछ अथवा https://www.gamblinghelponline.org.au/ मा जानुहोस्।
