SKIP TO MAIN CONTENT

नेपाली बस्न रुचाउने मेलबर्नको ग्लेनरोइमा नयाँ ट्रेन स्टेसन

धेरै नेपालीहरूले बस्न रुचाउने उत्त्तरी मेलबर्नको ग्लेनरोइ स्थित ट्रेन स्टेसनको स्तरोन्नती हुने भएको छ।

LXRA. Glenroy Rd, Glenroy
Glenroy Rd, Glenroy © Level Crossing Removal Project 2019 Source: © Level Crossing Removal Project 2019

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

ग्लेनरोइ स्थित स्टेसन रोडको लिक माथिबाट भएर गाडी कुद्ने स्थितिको अब छिट्टै अन्त्य हुने भिक्टोरिया राज्यकी कार्यकारी प्रिमियर लिसा नेभिल र यातायात कार्यकारी मन्त्री मेलिसा हर्नले संयुक्त रूपमा मङ्गलवार बिहान घोषणा गरेका छन्।

सन् २०१३ मै त्यहाँ रहेको ‘लेभल क्रसिङ्ग’ सवारी तथा अन्य यात्रुहरूका लागि असुरक्षित बन्दै गएको भनिएता पनि हालसम्म त्यसलाई सुधार गर्ने कुनै काम भएको थिएन।

 

चाप र सुरक्षा प्रमुख कारण

LXRA. Glenroy Rd, Glenroy
Source: © Level Crossing Removal Project 2019

भिक्टोरिया राज्यमा सर्वाधिक चाप भएका ‘लेभल क्रसिङ्ग’हरू मध्ये ग्लेनरोइ स्टेसन नजिकैको उक्त ‘लेभल क्रसिङ्ग’ पनि एक मानिन्छ जहाँ दैनिक १९,००० गाडीहरू ओहोर दोहोर गर्ने गरेको बताइएको छ।

बिहानको ‘पिक आवर’मा उक्त ‘लेभल क्रसिङ्ग’ भएर कुद्ने गाडीहरूलाई त्यहाँ रेल आउँदा र जाँदा बाटो बन्द गरिदिने ‘बूम गेट’ हाल ४३ प्रतिशत समय प्रयोग हुने गरेको छ।

‘लेभल क्रसिङ्ग’ हटाएर स्टेसन क्षेत्रको स्तरोनत्त्ति हुँदा ग्लेनरोइका बासिन्दाहरु सुरक्षित हुनुका साथै उनीहरुले समयको पनि बचत गर्न सक्ने कार्यकारी प्रिमियर नेभिलले बताइन्।

“यो खतरापूर्ण र ज्यादै भिडभाड हुने ‘लेभल क्रसिङ्ग’ले दैनिक रूपमा हजारौँ मानिसहरूलाई सजिलोसँग हिँड्नबाट रोकिरहेको छ।”

“यो हट्नै पर्छ,” उनले भनिन्।

सुरक्षाका दृष्टिकोणबाट हेर्दा सन् २००५ यता १८ जना मानिसहरूले झन्डै-झन्डै आफ्ना ज्यान उक्त ‘लेभल क्रसिङ्ग’का कारण गुमाएका थिए जसमा लगभग १७ प्रतिशत पैदल यात्रु भएको तथ्याङ्क रहेको छ।

LXRA. Glenroy Rd, Glenroy
Glenroy Rd, Glenroy Source: © Level Crossing Removal Project 2019

अब जमिन मुनिबाट रेल गुड्ने 

सन् २०१६ मा बृहत् रूपमा गरिएको एक प्राविधिक जाँच पछि ग्लेनरोइ रोड भएर बिछ्याइएको रेलको लिक जमिन मुनिबाट लाग्दा कम खर्च लाग्ने पाइएको थियो।

त्यसरी सडक मुनिबाट रेलको लाइन लाग्दा अधिग्रहणको लागत कम हुने र खर्च पनि सोही अनुरूपले कम हुने उक्त जाँचले खुलाएको थियो।

सबै काम सकेर उक्त ‘लेभल क्रसिङ्ग’ हट्दा र ग्लेनरोइ स्टेसनको नयाँ रूप रङ्ग हेर्न भने सन् २०२२ सम्म कुर्नुपर्ने छ।

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now