यौन हिंसालाई निरुत्साहित पार्न कम्पनी चुकेको भन्दै केही समयका लागि काम छोडेर विश्व भरिका सयौँ गुगल कर्मचारीहरूले प्रदर्शन गरेका छन्। गुगलका केही उच्च पदस्थ कर्मचारीहरू विरुद्ध लागेको यौन दुर्व्यवहारको आरोप बारे कम्पनीले लिएको कदम निराशाजनक रहेको उनीहरूको ठहर छ।
गुगलले आफूलाई विविधता र समावेशिताको समर्थक भनेर सार्वजनिक रूपमा चिनाए पनि आफ्नो बोलीलाई व्यवहारमा उतार्न भने पर्याप्त काम नगरेको विरोध प्रदर्शनका आयोजकहरू बताउँछन्।
गुगलमा कार्यरत जे-जे वान् डा भन्छन् उनीहरू सुरक्षित र विभेद रहित कार्यक्षेत्र चाहन्छन्।
न्यु योर्क टाइम्समा प्रकाशित एक लेखमा गुगलका एन्ड्रोइड सफ्टवेरका निर्माता एण्डी रबिनमाथि लागेको यौन दुर्व्यवहारको आरोपका बारेमा विस्तृतमा लेखिएको एक हप्ता पछि विरोध सुरु भएको हो।
उक्त लेखमा यौन दुर्व्यवहार गरेको आरोप विश्वसनीय रहेको गुगलको निष्कर्ष भएता पनि २०१४ मा १२६ मिलियन अस्ट्रेलियन डलर कम्पनीबाट छुट्टिँदा पाउने रकम स्वरूप एण्डी रविनलाई प्रदान गरिएको उल्लेख छ।
तर रविनले उक्त लेख साँचो नभएको भनी आफू माथि लागेको आरोपको खण्डन गरेका छन्।
द न्यु योर्क टाइम्सले उनी बाहेक गुगल एक्स ल्याबका निर्देशक रिचार्ड डि भल लगायत यौन दुर्व्यवहारको आरोप लागेका अन्य कार्यकारीहरूका बारेमा पनि लेखेको छ।
केही वर्ष अगाडी आरोप लागेको भएता पनि डिभलले कामलाई निरन्तरता दिएका थिए र अघिल्लो मङ्गलवार मात्र राजीनामा दिएका उनले भने रविनले जस्तो कम्पनी छोड्ने समयमा रकम प्राप्त गरेनन्।
गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाईले आफ्ना कर्मचारी हरूलाई इमेल पठाएर कम्पनीले विगतमा चालेको कदम प्रति क्षमा याचना गरेका छन्।
पिचाईसँगै गुगलकै कार्यकारी एलिन नोर्टनले कामदारहरूलाई कम्पनीले यौन दुर्व्यवहारबारे उचित सम्बोधन गर्ने आश्वासन दिँदै एण्डी रविनको घटना चार वर्ष अगाडीको भएको बताएकी छन्।
उनीहरूका अनुसार पछिल्ला वर्षहरूमा गुगलले ४८ जना कर्मचारीहरू जसमध्ये १३ जना उच्च पदस्थ अधिकारीहरूलाई यौन दुर्व्यवहार गरेका कारण कुनै क्षतिपूर्ति रकम बिना नै कामबाट निकालिएको दाबी गरेका छन्।
तर न्यु योर्क गुगल कि कर्मचारी तनुजा गुप्ताले प्रविधिको क्षेत्रमा धेरै विकासशील कम्पनी गुगलले महिला र अल्पसङ्ख्यकहरूलाई गर्ने व्यवहारमा चुकेको बताउँछिन्।
