अस्ट्रेलियाली नागरिकता नभएकाहरूको लागी १२ महिना वा बढीको सजाय पाएको व्यक्तिको भिसा रद्द गर्न सकिने कानुन अनुरूप उनीहरूको भिसा रद्द गरिएको हो।
अस्ट्रेलियाको भिसा गुमाउने बहुसङ्ख्यक समूहमा ५०० को हाराहारीमा रहेको हिंसक अपराध गरेका कारण सजाय सुनाइएकाहरू रहेका छन्।
उक्त समूहमा १०० जना बालबालिकालाई यौन वा अन्य प्रकारको शोषण गरेका, ५३ घरेलु हिंसाका दोषी, ३४ यौन शोषण र १३ जना हत्याराहरू रहेका छन्।
भिसा गुमाउनेहरू मध्ये १२५ जना आक्रमण गरेको दोषीहरू रहेको र ५६ जना हतियार सहित लुटपाट गर्नेहरू रहेका छन्।

सङ्घीय आप्रवासन तथा बहुसांस्कृतिक मामिला मन्त्री डेभिड कोल्म्यानले उक्त देश निकालाले आपराधिक क्रियाकलापलाई सहिने छैन भन्ने एउटा बलियो सन्देश दिएको बताएका छन्।
”अस्ट्रेलियाले सबैलाई स्वागत गर्छ, हामी विश्वभरका आगन्तुकहरूको स्वागत गर्छौँ। तर हामी अस्ट्रेलियालीहरू विरुद्ध हुने आपराधिक क्रियाकलापलाई सहने छैनौँ।
"यो एउटा सिधा र सरल सन्देश हो - यदि गैरनागरिकहरूले अस्ट्रेलियामा कुनै अपराध गरेको छ भने आफ्नो भिसा रद्द हुन्छ भनी सोचे हुन्छ।"
पछिल्लो आँकडाले २०१४ देखि अहिलेसम्म ४ हजार १५० जना अपराधीहरू जो अस्ट्रेलियाका नागरिक हैनन् उनीहरूको अस्ट्रेलियाली भिसा रद्द गरिएको देखिएको छ।
यो सङ्ख्या आप्रवासन सम्बन्धी कानुनमा १२ महिना वा सो भन्दा बढी समयको सजाय पाएका गैर अस्ट्रेलियाली नागरिकहरूको भिसा रद्द गरिनु पर्ने व्याध्यात्मक व्यवस्था थपिए देखिको हो।
सङ्घीय सरकारले अक्टोबर महिनामा संसद्मा कानुनी मस्यौदा प्रस्तुत गरेको थियो जसले गर्दा अझ धेरै विदेशमा जन्मिएका अपराध गर्ने व्यक्तिहरूलाई देश निकाला गर्न सकिने देखिएको छ।
उक्त प्रस्तावित विधेयकमा, जो कोही कम्तीमा दुई वर्ष कारावास सजाय भोग्नु पर्ने दोषी देखिन्छन् उनीहरूको भिसा रद्द गर्न सकिने छ - चाहे उनीहरूले त्यो अवधि भन्दा कम समय कारावासमा बिताएका हुन् वा कारावासमा जाँदै नगएका हुन्।

उक्त कानुनले हिंसक र यौन अपराधलाई समाहित गर्दछ जस अन्तर्गत दङ्गा, जबरजस्ती घरमा प्रवेश गरी आक्रमण गर्ने प्रयास गर्नु वा आक्रमण गर्नु, गाडी भित्र मानिसहरू भएको बेला डर देखाएर गाडी चोरी गर्नु र घरेलु हिंसाको निर्देशनलाई उल्लङ्घन गर्नु पनि पर्दछन्।
आप्रवासन तथा सीमा सुरक्षा का विपक्षी प्रवक्ता सायेन न्यूम्यानले लेबर पार्टीले आपराधिक क्रियाकलापमा संलग्न गैर नागरिकहरूलाई देश निकाला गर्नुपर्ने कुराको समर्थन गर्ने बताएका छन्।
तर न्यु साउथ वेल्सको नागरिक स्वतन्त्रता सम्बन्धी काम गर्ने परिषद्का प्रवक्ता स्टिभन ब्लाङ्क्स उक्त देश निकाला लाई दमनको संज्ञा दिन्छन्।
उनका अनुसार देश निकालामा पर्नेहरू मध्ये धेरै जना दशकौँ देखि अस्ट्रेलियामा रही आएका छन्, र यो देशसँग बलियो सम्बन्ध पनि बनाएका छन्।
ब्लाङ्क्सले १०० जना जति मात्रलाई गम्भीर प्रकृतिका अपराध गरेका कारण देश निकाला गरिएको छ, जस्तै हत्या, बाल यौन शोषण, उनी अन्य समाज र सर्वसाधारणका लागी निकै कम खतरा भएकाहरू पनि देश बाट निकालिएको दाबी गर्छन्।
तर ब्लाङ्क्सले गम्भीर प्रकृतिका अपराध गर्नेहरूलाई भने यो नियम लागु हुनु पर्ने भए पनि उनी कम गम्भीर अपराधीहरूलाई स्वतः देश निकाला गर्ने वर्तमान कानुन र यसमा अझ धेरै संशोधन गर्ने कुराको समर्थन नगर्ने बताउँछन्।
