ग्रेटर ब्रिसबेनका केही क्षेत्रमा शुक्रवार साँझ ६ बजे देखि लागु हुने गरी तिन दिन सम्म कढा खालको लकडाउन हुने भएको छ ।
होटेल क्वारीनटीनमा काम गर्ने एक सफाइ मजदुरमा बेलायतमा देखिएको कोरोनाको नयाँ स्वरूपको सङ्क्रमण देखिएपछि राज्य सरकारले यस्तो निर्णय गरेको हो ।
ब्रिसबेन काउन्सिल अन्तर्गतका लोगन,इप्सवुच,मोरेटन बे र रेडल्याण्ड क्षेत्रका मानिसहरू आत्यबश्यक काम बाहेकमा घरबाट निस्कनका लागि बन्देज लगाइएको छ ।
उक्त क्षेत्रका मानिसहरू आज साँझ ६ बजे देखि व्यायाम,अत्यावश्यक किनमेल र स्वास्थ्य सेवा लिनका लागि मात्र घर बाहिर जान पाउनेछन् ।
यस बाहेक अत्यावश्यक सेवामा काम गर्ने कामदारहरू काममा जान पाउने बताइएको छ ।
यसै गरी ग्रेटर ब्रिसबेनका सबै बासिन्दालाई मास्क अनिवार्य गरिएको छ ।
यस अघि विदेशबाट फकिएर होटेल क्वारीनटीनमा रहेका केही मानिसमा बेलायतमा देखिएको कोरोनाको परिवर्तित स्वरूप देखिएता पनि क्वारीनटीन बाहिर भने यो नै पहिलो घटना हो ।
मुख्य स्वास्थ्य अधिकारी पाउल केलीले क्विन्सल्याण्डको पछिल्लो अवस्था चासोको विषय भएको बताए ।
“हामीलाई बेलायतमा देखिएको नयाँ स्वरूपको भाइरस सङ्क्रमित भएको व्यक्ति होटेल क्वारीनटीनमा छ भन्ने थाहा नै थिएन ।” उनले भने ।
“कहिले काहीँ केही जटिल प्रणाली मानिसमा निर्भर हुने भएकाले गल्ती हुन सक्छ, र अहिले त्यही भएको हो ।” उनले भने ।
विगत चार महिना देखि क्विन्सल्याण्ड सामुदायिक सङ्क्रमण मुक्त रहेको थियो ।