SKIP TO MAIN CONTENT

जीएनसी फुटबल झडपमा घाइते भएका खेलाडी खतरा मुक्त

सिड्नीको क्याम्प्सी फुटबल क्लबका केही खेलाडीहरूद्वारा गरिएको हातपात पछि घाइते भएका गोरखा स्पर्स एफसीका खेलाडी खतरा मुक्त रहेको आयोजक समूहले बताएको छ।

Nepali Football GNC
Source: Youtube/Baarakhari

2 min read

Published

Updated


Skip to article content

गोरखा नेपलिज कम्युनिटी (जीएनसी) को वार्षिक फुटबल प्रतियोगिता अन्तर्गत आइतबार पश्चिम सिड्नीको चेस्टर हिल स्थित नोर्फोर्ड पार्कमा आयोजना भएको दुवै पक्ष बिचको खेल अन्त्य हुन केही मिनेट मात्र बाँकी रहँदा खेलाडीहरू बिच झडप भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

१ - ० ले गुर्खा स्पर्स एफसी अगाडी रहँदा भएको उक्त झडपका साथ म्याच पनि अन्त्य गरिएको थियो।

जीएनसीका फुटबल संयोजक राजीव प्रधानका अनुसार घाइते खेलाडीको हाल पश्चिम सिड्नी स्थित अबर्न अस्पतालमा उपचार भइरहेता पनि उनको अवस्थामा व्यापक सुधार भएको छ।

प्रधानका अनुसार घटना पछि जीएनसीका स्वास्थ्य स्वयंसेवकद्वारा घाइते खेलाडीलाई तुरुन्तै सहयोग प्रदान गरिनुका साथै केही समयमै एम्बुलेन्स पनि आइपुगेको थियो। साथै, घटना पछि प्रहरीद्वारा खेलाडीहरूसँग पनि बयान लिएको थियो।

GNC Football
प्रतिकात्मक तस्बिर Source: फेसबुक

गत वर्ष पनि जीएनसी वार्षिक फुटबल प्रतियोगितामा सगरमाथा फुटबल क्लब र सेन्ट जर्ज नेप्लिज क्लबका खेलाडीहरू बिच खेल मैदानमा झगडा हुँदा खेल नै रद्द गर्नुपरेको थियो। उक्त झगडामा प्रत्यक्ष संलग्न रहेका खेलाडीहरूले यो वर्ष खेल्न नपाउने भए पनि क्लबहरूलाई भने समावेश हुनबाट रोक्का गरिएको थिएन।

पछिल्लो घटना पछि सम्बन्धित क्लब र खेलाडीहरू विरुद्ध कस्तो कारबाही हुनेबारे निर्णय आगामी दिनहरूमा हुने भन्दै अहिले आफूहरूको प्राथमिकता घाइते खेलाडीको सहयोग नै रहेको प्रधान बताउँछन्।

Rajiv Pradhan
Rajiv Pradhan from Gurkha Nepalese Community in Sydney. Source: Facebook

प्रतियोगिताको २१ औँ संस्करण सुरु हुन लाग्दा गुर्खा नेप्लिज कम्युनिटीका उपाध्यक्ष पनि रहेका प्रधानले एसबीएस नेपालीसँग कुरा गर्दै खेलाडीहरूलाई अनुशासनमा राख्ने जिम्मेवारी क्लबको पनि हुने बताएका थिए।

"एउटा खेलाडीले दुर्व्यवहार गर्‍यो भने एन्फाले अथवा आयोजकले एउटा कारबाही गर्ला तर एउटा क्लब भएको नाताले चाहिँ उहाँहरूले के गर्नुहुन्छ त्यो पनि उहाँहरूले गहन रूपमा सोच्नु पर्ने हुन्छ।"

नेपाली सामुदायिक क्लबहरू बिचको जीएनसी फुटबल प्रतियोगिता आयोजकले त्यस्तो अवस्था फेरी नआओस् भन्नका लागी खेलाडीहरूलाई अनुशासन सम्बन्धी कार्यशाला गराए पनि त्यसको उपलब्धि बारे आइतबारको घटनाले प्रश्न चिन्ह उठाएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now