रोयल अस्ट्रेलेसियन कलेज अफ फिजिसियन्स (आरएसीपी)द्वारा आफ्ना सदस्यहरू माझ गरिएको एक सर्वेक्षणको नतिजा अनुसार भिक्टोरियाली स्वास्थ्यकर्मीहरूले आफूहरूलाई पुग्ने मात्रामा पीपीई उपलब्ध नरहेको बताएका हुन्।
तर, सोमवार आफ्नो दैनिक कोरोनाभाइरस सम्बन्धी पत्रकार सम्मेलनका क्रममा भिक्टोरिया सरकार प्रमुख ड्यानिएल एन्ड्रुजले पीपीईको उपलब्धतामा कुनै समस्या नरहेको भन्दै प्रतिरक्षा गरेका छन्।
आरएसीपीको सर्वेक्षणमा सार्वजनिक स्वास्थ्य प्रतिष्ठानहरूमा कार्यरत करिब २० प्रतिशत उत्तरदाताहरूले आफू स्वयंले नै व्यक्तिगत सुरक्षा उपकरणको जोहो गर्नुपरेको बताएका थिए।
"अस्पताल स्तरमा सूचना आदान-प्रदानका चुनौतीहरू पनि हुन सक्छन् कि कर्मचारीहरूलाई आवश्यक पर्ने सबै कुरा उपलब्ध हुनेछ भनेर बताउन।"
उक्त सर्वेक्षणले १९ प्रतिशत उत्तरदाताहरूसँग अति सीमित सङ्ख्यामा मात्र सर्जिकल मास्कसम्मको पहुँच रहेको पाएको थियो भने तीन प्रतिशतले त त्यो पनि नरहेको पाएको थियो।
अलि उच्च कोटिको मानिएको एन९५-पी२ मास्क भने करिब ५५ प्रतिशतसम्मको मात्र पहुँच रहेको पनि आरएसीपीको सर्वेक्षणले देखाएको छ।
आरएसीपीका अध्यक्ष तथा श्वास-प्रश्वास सम्बन्धी चिकित्सक प्राध्यापक जन विल्सनले एक विज्ञप्ति मार्फत सङ्घीय सरकारले कम्तीमा पनि राष्ट्रिय भण्डारमा भएको पीपीईको सङ्ख्या बारे पारदर्शी हुनुपर्ने बताएका छन्।
"यदि साँच्चिकै कमी भयो भने कोभिड तथा कोभिडको शङ्कामा उपचार गराइरहेका बिरामी हुने उच्च जोखिमका क्षेत्रलाई प्राथमिकता दिनै पर्छ," विल्सनद्वारा जारी उक्त विज्ञप्तिमा भनिएको छ।

जुलाई ३० देखि अगस्ट ३ सम्म खुल्ला गरिएको उक्त सर्वेक्षणमा ६७७ जनाले भाग लिएका थिए।
हाल भिक्टोरियामा १,०५० भन्दा बढी स्वास्थ्यकर्मीहरू कोरोनाबाट पीडित रहेको सरकारी तथ्याङ्क छ जुन ४०० मा सीमित रहेको उप-प्रमुख चिकित्सकीय अधिकृत निक कोट्सवर्थले दुई हप्ता अघि बताएका थिए।
के तपाईँ कुनै भिक्टोरियाली स्वास्थ्य सेवा प्रदायकमा काम गर्नुहुन्छ? हामीसँग आफ्नो अनुभव बाँड्नुहोस्। फेसबुक, ट्विटर वा सोझै सम्पर्क गर्नुहोस्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्:
