SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्समा वर्षा कम भए पनि बाढीको खतरा भने कायमै

मौसममा केही सुधार हुने अपेक्षाका बिच बाढीको खतरा भने केही दिन अझै कायम रहने मौसम बिभागको भनाइ छ । जोखिम क्षेत्रका करिब १८ हजार मानिसलाई हाल सुरक्षित स्थान तर्फ सारिएको छ ।

SES flood rescue and Surf Life Saving Association boats are seen on the Hawkesbury River at Sackville in north western Sydney on 23 March, 2021.
SES flood rescue and Surf Life Saving Association boats are seen on the Hawkesbury River at Sackville in north western Sydney on 23 March, 2021. Source: AAP

3 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS


Skip to article content

न्यु साउथ वेल्स राज्यको वर्षा कम हुँदै गएता पनि जोखिम क्षेत्रमा रहेका करिब १५ हजार मानिस कुनै पनि बेला सुरक्षित स्थानमा सर्नका लागि तैयारी अवस्थामा रहेका छन् ।

बाढीको बहावमा कमी आउन अझै केही दिन लाग्ने भएपछि राज्यका करिब  १८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

गत हप्ता देखिको लगातारको वर्षाले बिशेष गरि तटीय क्षेत्रमा धेरै घरहरु डुबानमा परेका छन् ।

राज्यकी प्रिमीयर ग्लेडीज बेरीजिक्लीयनले “भयानक” मौसमी अवस्थाले राज्यका कैयन क्षेत्रमा गम्भीर असर परेको बताइन् ।

“यो हामीले बुझ्न सक्ने भन्दा बाहिरको मौसमी घटना हो ।” मङलबार संसद्मा बेरीजीक्लीयनले भनिन् ।

प्रिमीयरले जोन बारीलोरोलाई ब्ल्याक समर डढेलोमा झैँ यस पटक पनि राज्यको पहिलेकै अवस्थामा फर्काउन यसको कुशल नेतृत्व गर्न पनि आग्रह गरिन् ।

नदीहरूमा पानीको बहाव बढे पछि उत्तर पश्चिमी क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थान तर्फ सर्नका लागि आदेश दिइएको छ ।

यता कोलो नदीमा बाढीको बहाव उच्च देखिएको छ ।

मङलबार उक्त क्षेत्रका करिब दुई सय घरका पाँच सय बासिन्दालाई सुरक्षित स्थानमा सर्नका लागि अनुरोध गरिएको छ ।

राज्यको आपतकालिन सेवा विभागले हेलिकप्टर र पानी जहाजको मद्दतले मानिसहरूलाई त्यहाँबाट सर्नका लागि मद्दत गरेका छन् ।

उद्धार गर्न पुगेको ढुङा पल्टिएपछि एक परिवारको सहयोगका लागि पुन त्यहाँ उद्धारकर्मी पुग्नुपरेको थियो ।

स्टोनीक्वरी क्रिकमा पानीको बहाव बढ्दा होक्सबेरी नदी देखि विन्जर र वाईजम्यानफेरी सम्मका मानिसलाई तैयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

गत बिहीबार देखि राज्य भरका करिब १० हजार मानिसले सहयोगका लागि अपिल गरेको बताइएको छ । 

यता नदर्न टेरीटरीबाट आउने भित्री मौसमी प्रणालीका कारण ग्राफटन र लिसमोर जस्ता ग्रामीण क्षेत्रमा पनि असर परेको बताइएको छ ।

राज्यको  मध्य उत्तरी तट केम्पसेमा पनि चेतावनी जारी गरिएको छ ।

ग्लेनरेगको ओरारा नदीमा पनि ठुलो बाढी आउन सक्ने चेतावनी जारी गरिएको छ ।

NSW Flood SES
SES flood rescue team members inspect floodwaters flowing over the New Windsor Bridge at Windsor in north western Sydney on 23 March, 2021 Source: AAP

यता पेनरीथमा रहेको नेपियन नदीमा आउने पानीको बहावले माथिल्लो नेपियन क्षेत्र प्रभावित हुने चेतावनी दिइएको छ ।

तटीय क्षेत्रमा पानी पर्न कम भए पनि राज्यको भित्री क्षेत्रमा भने अवस्था गम्भीर रहने मौसम विभागको भनाई रहेको छ ।

अस्ट्रेलियन सेनाको विमान उद्धारका लागि उपलब्ध गराइएको छ ।

सङ्घीय सरकारले बाढी प्रभावितहरूका लागि ५७ लाख अस्ट्रेलियन डलर सहयोग  वितरण गरिसकिएको बताएको छ ।

“हामी समुदायलाई सकेसम्म चाँडो उनीहरूको खुट्टामा उभ्याउन छिटो र प्रभावकारी ढङले काम गर्ने छौ ।” मोरीसनले भने ।

भारी वर्षा र बाढीको जोखिमका कारण राज्यका करीव २ सय ८० विद्यालयहरू बन्द गरिएका छन् ।

गम्भीर मौसमी अवस्था बारे जान्न सार्वजनिक सूचना र सोधपुछ केन्द्रलाई दिनको कुनै पनि समय १८०० २२७ २२८ मा फोन गर्नुहोस्। बाढीका कारण तत्काल सहयोगको खाँचो परे स्टेट इमर्जेन्सी सर्भिस - एसइएसलाई १३२ ५०० मा सम्पर्क गर्नुहोस्।

के तपाईँ पनि यस प्राकृतिक प्रकोपबाट प्रभावित हुनुभएको छ? आफ्नो अनुभव बाँड्न मन भए हामीलाई सम्पर्क गर्नुहोस्!


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now