बालबालिकालाई कोभिड-१९ खोप किन जरुरी? - अभिभावकका लागि जानकारी

पछिल्ला ७ महिनामा ०-५ वर्षका बालबालिकामा ३,५०,००० कोरोनाभाइरस सङ्क्रमित र ८ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ।

COVID-19 VACCINATIONS FOR CHILDREN

Brothers Louise and Harry Taylor-Bishop and sisters Olivia and Evie Kurz pose for a photo after receiving their first vaccine at Kippa Ring Communication Vaccination Clinic in Brisbane. Source: AAP / RUSSELL FREEMAN/AAPIMAGE

प्रमुख विषयहरू:

  • के बालबालिकालाई कोभिड-१९ खोप चाहिन्छ?
  • खोपहरू कत्तिको सुरक्षित छन् ?
  • बालबालिकामा लङ्ग कोभिड कत्तिको गम्भीर छ ?

सन् २०२२ को सुरुवातमा, ५ देखि ११ वर्षका बालबालिकाको लागि कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराइएको थियो।

खोप लगाउन योग्य २३ लाख बालबालिका मध्य केवल ४०% ले सिफारिस गरिए अनुसार खोपको दुई मात्रा लगाएका छन्।

डाक्टर ब्रेन्डन मेकमलन सिड्नी चिल्ड्रेन्स अस्पतालमा बाल सङ्क्रामक रोग विशेषज्ञ हुन्।

अभिभावकहरूलाई खोपको असर बारे चिन्ता भएको हुनाले आफ्ना बच्चालाई यो चाहिन्छ कि चाहिँदैन भन्ने थाहा नभएको उनको भनाइ छ।

त्यस्तै, अर्का बाल रोग विशेषज्ञ निक वुड भन्छन् कि कतिपय अभिभावकसँग आफ्ना बच्चालाई खोप केन्द्रमा लिएर जान समय नभएको हुन सक्छ।

"कोभिड-१९ भइसकेको कुनै ६ या सात वर्षे बच्चाको अभिभावकलाई - सङ्क्रमण धेरै गम्भीर नभएको हुनाले खोप लगाउन हतार छैन भन्ने लाग्न सक्छ," असोसिएट प्रोफेसर वुडले भने।

"कोभिड-१९ सङ्क्रमण भएमा त्यसको कम्तीमा तीन महिना पछि मात्र खोप लगाउन सल्लाह दिइएको छ। यस कारणले पनि खोप लगाएका बालबालिकाको सङ्ख्या कम भएको हुन सक्छ।"

के बालबालिकाहरूलाई कोभिड-१९ खोप चाहिन्छ ?

अधिकांश बालबालिकाका लागि कोभिड-१९ सङ्क्रमण गम्भीर नहुने दुवै विज्ञले बताएका छन्। तर केहीका लागि, र विशेष गरी पहिलै कुनै स्वास्थ्य समस्या भएका बच्चाहरूलाई सङ्क्रमण कठिन हुन सक्छ।

"केही बालबालिकाहरू धेरै बिरामी भएर अस्पताल भर्ना गर्नु पर्न सक्छ। उनीहरूलाई सास फेर्न र खान-पिउनमा समस्या आएर अक्सिजन र तरल पदार्थ चाहिन सक्छ," प्रोफेसर वुडले भने।

कोभिड-१९ विरुद्धको खोपले बच्चाहरूलाई गम्भीर किसिमले बिरामी हुनबाट जोगाउने उनी बताउँछन्।

प्रोफेसर वुड भन्छन् कि, "पहिला सङ्क्रमण भए तापनि, खोप लगाएमा झनै फाइदा हुन्छ। तपाईँको प्रतिरोधात्मक शक्ति झनै बढ्ने सम्भावना हुन्छ, र फेरी सङ्क्रमित हुनबाट पनि बचाउन सक्छ"।

खोप नलगाएका मानिसहरू र बालबालिकालाई कोरोनाभाइरसको बढी जोखिम हुने डाक्टर मेकमलनले बताए।

"महामारी सुरु हुँदा अस्पतालमा गम्भीर बिरामी भएका युवाहरू देखिन्थे। अहिले साना उमेरका बालबालिकाहरू अस्पतालमा हुन्छन्," उनले भने।

खोपहरू कत्तिको सुरक्षित छन् ?

यी खोपहरू गहन अनुसन्धान पछि विश्वभर लाखौँ बालबालिकाले प्रयोग गरेको विज्ञहरू बताउँछन्।

अस्ट्रेलियामा, यिनलाई थेराप्युटिक गुड्स एड्मिनिसट्रेसनले मूल्याङ्कन गरी अस्ट्रेलियाको खोप नियामक समिति, अस्ट्रेलियन टेक्निकल एड्भाइजरी ग्रुप अन इम्युनाइजेसन (अटागी)ले सिफारिस गरेको छ।

हालै सार्वजनिक भएको AusVaxSafety रिपोर्टमा ५ देखि १५ वर्षका २,००,००० भन्दा बढी बालबालिकामा खोपले पुराएको असर बारे विस्तृत जानकारी दिइएको छ।

बच्चाहरूमा देखिने सामान्य असर भनेको खोप लगाएको ठाउँमा दुख्ने र रातो हुने रहेको रिपोर्टका प्रमुख लेखक प्रोफेसर वुडले बताए।

यो प्रभाव खोप लगाए पछिको पहिलो ४८ घण्टादेखि, केही दिनसम्म देखिन सक्छ।

त्यस्तै, बालबालिका र वयस्कमा देखिने खोपको अर्को प्रभाव भनेको ज्वरो आउने, टाउको दुख्ने र मांसपेशीहरू दुख्ने हो।

"तर यी असरहरू भने बच्चाहरूमा भन्दा वयस्कहरूमा बढी देखिन्छ। र ५ देखि ११ वर्षका बालबालिकामा भन्दा १२ देखि १५ उमेर समूहमा बढी देखिन सक्छ," प्रोफेसर वुडले भने।

बाह्र वर्षभन्दा कम उमेरमा बच्चाहरूमा मायोकारडाइटिस (myocarditis) अर्थात् मुटु सुन्निने समस्याको जोखिम नरहेको प्राध्यापक वुड र उनको टोलीले पत्ता लगाएका छन्।

"यो समस्या १५-२५ वर्षका मानिसहरूमा अलि धेरै देखिन्छ। र यो मुख्य गरी जवान पुरुषहरूमा, खोपको दोस्रो मात्रा लगाए पछि देखिने गरेको छ। किशोर किशोरीहरूले छाती दुखेको या मुटुको धड्कन छिटो भएको गुनासो गर्न सक्छन्," उनले भने।

"र यस्तो समस्या आएमा उनीहरूले जीपी या आपतकालीन सेवामा देखाउनु पर्छ। तर यो समस्या धेरैमा भने देखिँदैन। यो ५,००० देखि १०,००० जना मध्य एक जनामा देखिन सक्छ।"

सङ्क्रामक रोग विशेषज्ञ रहेका डाक्टर मेकमालनले खोपका गम्भीर असर भएका मानिसहरूको हेरचाह गर्ने गरेका छन्।

"मैले खोपको असर भएका बालबालिका भन्दा गम्भीर कोभिड भएका बालबालिकाको जाँच गरेको छु," उनले बताए।

बालबालिकाले कुन खोपहरू लगाउनु हुन्छ ?

वर्तमान अवस्थामा, ६ महिनादेखि ५ वर्ष उमेर समूह अन्तर्गत गम्भीर स्वास्थ्य समस्याको जोखिममा रहेका बालबालिकाले मोडर्नाको स्पाइकभ्याक्स (Spikevax) खोपको दुई मात्रा लगाउन हुने अटागीले सिफारिस गरेको छ।

अटागीले जनाएको अनुसार - "यो उमेर समूहमा सबैभन्दा कम अस्पताल भर्ना भएको पाइएको छ। र त्यस उमेर समूहमा अस्पताल भएका या कोभिड-१९ का ज्यान मृत्यु भएका बालबालिकामा पहिले नै कुनै स्वास्थ्य समस्या रहेको, या उनीहरूको प्रतिरोधात्मक शक्ति कम भएको सामान्य रूपमा पाइएको छ"।

अस्ट्रेलियामा सन् २०२१ को १ डिसेम्बरदेखि २०२२ को १७ जुनसम्म बालबालिकामा ३,५०,००० भन्दा बढी सङ्क्रमण र ८ जनाको कोभिड-१९ का कारण मृत्यु भएको, अस्ट्रेलियाको तथ्याङ्क वितरण गर्ने प्रणाली नेशनल इन्टरोपेरेबल नोटिफाएबल डिजिजेस सर्भेलेन्स सिस्टमले बताएको छ।

५ - ११ वर्ष र १२ - १५ वर्षका सबै बालबालिकाले फाइजर या मोडर्नाको दुई मात्रा खोप लगाउन सक्ने छन्। खोपको तेस्रो मात्रा भने सङ्क्रमणको बढी जोखिममा रहेका बालबालिकाका लागि मात्र सिफारिस गरिएको छ।

बालबालिकामा लङ्ग कोभिड कत्तिको गम्भीर हुन सक्छ?

लङ्ग कोभिड अर्थात् लामो समयसम्म रहन सक्ने कोभिड बालबालिकामा भन्दा वयस्कहरूमा बढी देखिने डाक्टर मेकमलनले बताए।

"कोभिड भएका बच्चाहरू सामान्यतया केही हप्तामा सन्चो हुन्छन्," उनले भने।

एसबीएस अस्ट्रेलियाका बहु सांस्कृतिक र बहुभाषिक समुदायहरूलाई कोभिड-१९ बारे सबै अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित रहनुहोस्, र तपाईँको भाषामा सूचित रहन नियमित रूपमा एसबीएस कोरोनाभाइरस पोर्टलमा हेर्नुहोस्


Share

4 min read

Published

By Sahil Makkar, Dinita Rishal

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now