तीन महिना अघिसम्म क्यान्सर विरुद्ध लडिरहेकी सु कर्सीले नयाँ वर्षको पूर्व सन्ध्यामा एक अर्कै द्वन्द्व आफूलाई पाइन्। न्यु साउथ वेल्सको दक्षिणी तटमा रहेको नेरिङ्गगिल्लाह भन्ने ठाउँमा रहेको आफ्नो घरलाई “आगोको वर्षा”बाट जोगाउन डढेलोबाट प्रयत्नशील थिइन्।
उनको घर त बच्यो तर अस्ट्रेलियाको डढेलो सङ्कटलाई आफ्नो त्यति नजिक पाउनु कर्सीको लागि क्यान्सरलाई हराउनु भन्दा मुस्किल अनुभव भयो।
“आगजनीबाट घर बचाउने उपायहरूको तयारी गर्न हामीलाई पाँच दिन लाग्यो। हामीले नालीहरू सफा गर्यौँ, घर नजिकैको बाँधमा पानी थिएन - त्यसैले त्यहाँको पानी तान्ने पम्पलाई ट्याङ्कीमा जोड्यौँ, घर वरपर पाँच-पाँच मिटरको परिधिसम्म सफा गर्यौँ - पात पतिङ्गर हटायौँ,” सिड्नी टाउन हल बाहिर आयोजित एक विरोध कार्यक्रममा भाग लिँदै गर्दा उनले एसबीएस समाचारसँग भनिन्।
“सरकार हात बाँधेर बसेको छ,” सु कर्सीले आफ्नो धारणा राखिन।

आफ्ना श्रीमान् पिटर विन्क्लरसँग लगभग पाँच घण्टा यात्रा गरेर धर्नामा सहभागी हुन आएकी कर्सीका अनुसार त्यहाँ आउन नसकेका अन्य मानिसहरूको कारण उनीहरू उक्त कार्यक्रममा आउन अझै उत्साहित थिए।
“आगोले नराम्ररी जलेका हाम्रा दुई जना साथीहरू यतिखेर कनकर्ड अस्पतालमा सङ्घर्षरत् छन् - उनीहरू बाँच्न पनि सक्छन्, नबाँच्न पनि सक्छन्। उनीहरूको घर हाम्रो भन्दा ३०० मिटर जति मात्रै टाढा थियो - जुन अब खरानीमा परिणत भइसकेको छ,” विन्क्लरले भने।
अस्ट्रेलियालीहरू व्यापक रूपमा डढेलो सङ्कटलाई लिएर सरकारको निन्दा गरेपछि अघिल्लो हप्ता मात्रै प्रधानमन्त्री स्कट मरिसनले दुई अर्व डलर बराबरको एक पुनर्निर्माण अनुदानको घोषणा गरेका थिए। उक्त योजना अन्तर्गत ६ करोड डलर तत्काल राहतका लागि डढेलो प्रभावित स्थानीय काउन्सिलहरूलाई प्रदान गरिने पनि बताइएको छ।
यसका साथै, सङ्घीय सरकारले यसपालिको डढेलो सङ्कट गहिरिनु र अस्ट्रेलियामा प्रचण्ड गर्मी हुनुलाई जलवायु परिवर्तन एक प्रमुख कारक तत्व रहेको स्वीकार गरेको छ।
“तर म के कुरामा स्पष्ट हुन चाहन्छु भने, जलवायु परिवर्तन एक विश्वव्यापी चुनौती हो। यस चुनौतीसँग लड्न अस्ट्रेलियाले आफ्नो भूमिका निर्वाह गरिरहेको छ,” मरिसनले अघिल्लो वर्ष एक पत्रकारहरू माझ भनेका थिए।

उता, ७७ वर्षीय ग्राहम जोन्स भने सरकारले सक्ने जति गरिरहेको भन्ने कुरा मान्न तयार छैनन्।
“हाम्रो नेताहरूले जलवायु परिवर्तन प्रति ठोस कदम नचालेको देखेरै म आज यहाँ विरोध कार्यक्रममा सहभागी भएको हुँ,” उनले युनी स्टुडेण्ट्स फर क्लाइमेट एक्सन एण्ड एक्स्टिङ्ग्सन रिबेलियनद्वारा आयोजित उक्त विरोध तथा धर्ना कार्यक्रमका क्रममा भने।
उक्त धर्नामा करिब ३०,००० भन्दा बढी प्रदर्शनकारीहरूले सरकार डढेलो सङ्कटको विषयलाई लिएर उदासीन रहेको भन्दै धर्ना दिएको न्यु साउथ वेल्स प्रहरीको भनाई थियो।
कुजीमा बस्दै आएका जोन्सलाई विद्यार्थीहरूद्वारा आयोजित उक्त कार्यक्रममा भाग लिँदा सन् १९६० ताकाको विश्वविद्यालयमा हुने आन्दोलन याद दिलाएको थियो रे।
“उ बखत किशोरहरू खासै सडक प्रदर्शनमा उत्रिँदैन थिए। अहिले स्कूले विद्यार्थीहरू नै आफैँ यस्ता कार्यक्रमहरू गर्न लागि परेका छन् जुन मेरो युवावस्थामा हुँदै हुँदैन थियो,” आफ्नो शारीरिक अवस्था कमजोर हुँदै गर्दा पनि विरोध जनाउन आइपुगेका उनले भने।
“अब हामीले यी नानीहरूबाट सिक्नुपर्छ - किनकि उनीहरूले आफूलाई र आफ्ना उमेरका अरूलाई यस मुद्दाका बारेमा सचेत पारि सकेका छन्।”

जोन्ससँगै आएकी उनकी साँढे ६ महिनाको गर्भवती छोरी जोला जोन्स भने आफ्नो पेटमा हुर्की रहेको शिशुको भविष्य बारे चिन्ता व्यक्त गरिन्।
“मेरो बच्चाको भविष्यलाई लिएर म निकै चिन्तित छु - हामी सबैले यो विषय हाम्रो पृथ्वीको लागि कति महत्त्वपूर्ण छ भनेर अरूलाई बुझाउन एकदमै जरुरी छ,” उनले भनिन्।
साथै, आफ्नो उक्त अवस्थाका कारण सिड्नीलाई बाक्लो तुवाँलोले ढाकिरहँदा कयौँ दिन घर भित्रै थुनिएर रहनु परेको पनि उनले बताइन।
“गर्भवती भएकाले अवश्य पनि मेरो मन मस्तिष्कमा आफ्नो सन्तानलाई बचाउने कुरा नै खेलिरहेको हुन्छ, अहिलेको यस्तो देख्दा अबका दिन सधैँ यस्तो नै हुने हो की भनेर चिन्ता छ,” उनले भनिन्।
“फेरी यसले म जस्तो गर्भवती महिलाहरूलाई कसरी असर गर्छ भनेर कहीँ पनि केही जानकारी छैन।”

आफ्नो सन्तानको सुरक्षित भविष्य बारे सङ्घर्ष गर्नु जरुरी रहेको धारणा टेम्पे निवासी गिलिगनको पनि थियो जसले उक्त विरोध कार्यक्रममा आफ्नी दुई वर्षकी छोरी लिएर आएका थिए।
“अब यस्तै हो भने उनको भविष्य मैले आसा गरेको जस्तो नहुने पो देखियो, यस्तो कल्पना गर्दा पनि डर लागिरहेको छ,” उनले भने।
“मैले मेरी छोरीको निम्ति प्रदर्शनमा भाग लिएको हुँ। यहाँ आउन नसकेका अरूका लागि विरोध जनाएको हुँ। अब त अति नै भयो, यसबाट पुर्वास्थामा फर्किनै सकिन्न कि जस्तो पो लागी सक्यो।”
उक्त कार्यक्रममा भाग लिन आएका ११ वर्षका सन्नीले मानिसहरूको घर जलेको देख्दा आफूलाई नरमाइलो लागेको बताउँदै अस्ट्रेलियाली नेताहरूलाई एक स्पष्ट सन्देश दिए, “म उहाँहरूलाई आफ्नो सोचमा परिवर्तन ल्याउनै पर्छ भन्न चाहन्छु,” उनले भने।
