सामाजिक सञ्जालमा युवा वर्ग माझ बहुचर्चित एवं औधी मन पराइएकी अमेरिकी काइली जेन्नरको एक तस्बिरले गत सालको फेब्रुवरी महिनामा १ करोड ८३ लाख "लाइक" पाएर तस्बिरहरू साटासाट गर्ने इन्स्टाग्राम नामक एक डिजिटल मञ्चमा रेकर्ड राख्यो।
आफ्नी छोरी स्टर्मी वेब्स्टरको जन्म भएको भनेर जेन्नरद्वारा घोषणा गरिएको उक्त पोष्टले इन्स्टाग्रामको सबैभन्दा धेरै लाइक प्राप्त गर्ने सौभाग्य भने एक वर्ष नपुग्दै एउटा साधारण अण्डाको तस्बिरले हत्याएको छ।
दश दिन पहिले इन्स्टाग्राममा "वर्ल्ड रेकर्ड ऐग" अर्थात् विश्व किर्तिमान अण्डा नामक एक खाताबाट "लौ हामी सबै मिली काइली जेन्नरको विश्व रेकर्डधारी पोष्टलाई पछि पारौँ र एक नव विश्व किर्तिमान राखौँ। हामी गर्न सक्छौँ!" भन्दै उक्त खैरो अण्डाको तस्बिर अपलोड गरिएको थियो।
२१ वर्षीय जेन्नर कार्डाशियन-जेन्नर घरानाकी सबैभन्दा कान्छी सक्रिय सदस्य हुन्। किम कार्डाशियन तथा केटलिन् जेन्नर जस्ता सेलेब्रिटी नै सेलेब्रिटीहरु भएको परिवारकी काइलीले एक अण्डा तातो कंक्रिटमा पकाउँदै गरेको एक जवाफी भिडियो इन्स्टाग्राममै सार्वजनिक गरेकी छिन्।
फोर्ब्स पत्रिकाका अनुसार काइलीको कुल सम्पत्ति करिब ९०० करोड डलर रहेको छ जसमा उनको "काइली कस्मेटिक्स" नाम गरेको आफ्नो एक कम्पनीको आम्दानीको ठुलो हात छ।
उता, अण्डाको तस्बिर कसले इन्स्टाग्राममा हालेको हो भन्ने कुरा बाहिर आएको छैन तथापि एक अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई त्यस खाता सञ्चालकले आफूहरू लन्डनमा बसोबास गर्ने बताएका छन्।

"कुनै साधारण भन्दा साधारण चिज प्रयोग त्यो विश्व किर्तिमान तोडिएको हेर्नु रोमाञ्चक हुने मेरो विचार थियो।त्यसैले मलाई अण्डा तर्फ डोर्यायो," उनले भने।
"साथै, यसले अहिले प्रचलित सेलिब्रेटी संस्कृति कत्तिको कम्जोर धरातलमा उभिएको छ र कति सजिलै त्यसलाई फुटाउन सकिन्छ भन्ने पनि छर्लङ्ग पारेको छ।"
