इजरायलको तेल अभिभमा ६४औँ युरोभिजन गीत प्रतियोगिता अहिले अन्तिम चरणमा छ।
टेलिभिजन मार्फत प्रसारण हुने संसारकै सबैभन्दा ठुलो साङ्गीतिक प्रतियोगिताको रूपमा उभिएको युरोभिजनमा यस पटक ४१ राष्ट्रबाट प्रतियोगीहरूले भाग लिएका छन्।
युरोपका अन्य ४० देशबाट आएका प्रतिस्पर्धीहरूसँग जोरी खेल्दै, गत बुधवार भएको सेमी फाइनलमा अस्ट्रेलियाकी केट मिलर-हच्कीले करिब २० करोड दर्शकहरूलाई आफ्नो प्रस्तुतिबाट मन्त्रमुग्ध पार्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेकी छिन्।
तर, हैन हे गाँठे, नाममा नै “युरो” झुण्डिएको प्रतियोगितामा अस्ट्रेलियाले चाहिँ कसरी छिर्न पायो भन्नुहोला भनेर हामीले तल बुझाउने प्रयास गरेका छौँ!
युरोभिजनमा अस्ट्रेलिया कसरी?

Source: pinimg
दोस्रो विश्वयुद्ध पछि युरोपेली मुलुकहरूमा भाइचारा बढाउने उदेश्यका साथ सुरु भएको यो प्रतियोगिता, सन् १९५६ देखि निरन्तर प्रसारण हुँदै आइरहेको छ।
नामले बताए झैँ, यो प्रतियोगितामा भाग लिने लगभग सबै प्रतियोगीहरू युरोपेली प्रसारण सङ्घसँग आबद्ध राष्ट्रहरूबाट छन्। युरोपेली प्रसारण सङ्घ वा युरोपियन ब्रोडकास्टिङ्ग युनियनबाटै यसको नाम युरोभिजन हुन गएको हो।
एसबीएसले सन् १९८३ मा पहिलो पटक प्रसारण गरेपछि अस्ट्रेलियनहरुको मानसपटलमा यसले घर बसाउने मौका पायो।
सन् २०१४ मा आएर बल्ल अस्ट्रेलियालाई यो प्रतियोगितामा “पाहुना”को रूपमा आफ्नो प्रस्तुति राख्न आमन्त्रण गरियो।
डार्विनमा जन्मेकी जेसिका माउबोयले पहिलो पटक युरोभिजनमा अस्ट्रेलियाको प्रतिनिधित्व गरिन्।

Carbon Creative made TV history working with Sesame Street, featuring Jessica Mauboy and the Aboriginal kids from Yipirina State School. (Carbon Creative) Source: Carbon Creative
डेनमार्कको कोपनहेगनमा आयोजना भएको उक्त प्रतियोगितामा माउबोयले आफ्नो “सी अफ फ्लाग्स” भन्ने गीत गाएकी थिइन् जसमा दर्शकहरू मज्जाले झुमेका थिए।
युरोभिजनको विशेषता भनेकै आडम्बर देखिने झकिझकाउ पोसाक तथा अन्य सजावटका सामाग्रीले सुसज्जित भई आफ्नो प्रस्तुति दिनु नै हो।
“सी अफ फ्लाग्स” गाउँदै स्टेजमा जाँदा माउबोयले अस्ट्रेलियन स्टेरियोटाइपलाई युरोभिजनको हृदयमा छाप छोड्न सफल भइन।
तर त्यो सन् २०१५ थियो , जसले सबै कुरा सदाका लागि बद्लीदियो।
युरोपेली आप्रवासीहरूको धेरै उपस्थिति रहेको अस्ट्रेलियामा युरोभिजन धेरै “पपुलर” रहेको बताउँदै एसबीएसले आयोजकहरूलाई अस्ट्रेलियनहरुलाई भाग लिन दिन लबिङ्ग गर्दै आइरहेको थियो।
अस्ट्रियामा भएको उक्त वर्षको युरोभिजन चलाउने जिम्मेवारी पाएको अस्ट्रियन टेलिभिजन नेटवर्क ओआरएफले एसबीएसको कुरा नकार्न सकेन।
अनि, सन् २०१५ मा युरोपियन ब्रोडकास्टिङ्ग युनियनले अस्ट्रेलियालाई आफ्नो प्रतियोगी पठाउन निमन्त्रणा दियो - उक्त प्रतियोगिताको ६०औँ बर्षगाँठको अवसर पारेर एक वाइल्डकार्ड इन्ट्री मार्फत।
र, एसबीएसले आरिया (एआरआइए) अवार्ड्स विजेता गायक गाई सेबेस्टियनलाई भियनामा हुन लागेको कार्यक्रमका निम्ति चयन गर्यो।
उनको “टुनाइट अगेन” भन्ने प्रस्तुतिले अस्ट्रेलियन साङ्गीतिक फाँटको विविधतालाई समेटेको थियो जुन कूल १९६ अङ्कका साथ पाँचौँ स्थान ओगट्न सफल भयो।
सन् २०१५ को निमन्त्रणा एक पटकको लागि भनिए तापनि सन् २०१६ मा पुन: एक पटक अस्ट्रेलियाले युरोभिजन गीत प्रतियोगितामा भाग लिन निम्तो पायो।
साउथ कोरियामा जन्मेकी अस्ट्रेलियन गीतकार तथा गायिका डामीलाई स्विडेनको स्टकहोममा हुने त्यस सालको प्रतियोगिताको निम्ति अस्ट्रेलियाका तर्फबाट चयन गरियो।
डामीले निराश पारिनन् र युरोभिजन कै इतिहासमा पहिलो पटक अस्ट्रेलियाले सेमी-फाइनलबाट फाइनल पुग्ने गरी भोट पायो र दोस्रो स्थान प्राप्त गर्यो।
उनको “साउण्ड अफ साइलेन्स” नामको गीतले दर्शकहरूलाई वाह! भन्न करै लगायो।
पछिल्ला दुई वर्षहरूमा भने अस्ट्रेलियाले खासै प्रभुत्व जमाउन सकेन।
सन् २०१७मा इसैया फायरब्रेसको “डोन्ट कम इजी”ले नवौँ स्थानमा चित्त बुझाउनु पर्यो भने माउबोय पुन: एक चोटि सन् २०१८ मा युरोभिजनको स्टेजमा फर्किइन।
पोर्चुगलको लिस्बनमा आयोजित उक्त प्रतियोगितामा उनको “वी गट लभ”ले ९९ अङ्क मात्र बटुल्न सक्यो र २० औँ स्थान प्राप्त गर्यो।
यसपालिको कथा
गत फेब्रुवरीमा केट मिलर-हच्कीले गोल्डकोस्टमा आयोजना भएको पहिलो अस्ट्रेलियन युरोभिजन चयन प्रतियोगिता जितिन्।
मिलर-हच्कीको अनुसार, उनको “जिरो ग्राभिटी” नामक गीतको एक अलग पृष्ठभूमि छ। सन् २०१६ मा आमा बनेपछि उनी डिप्रेसनमा गइन।पछि, डिप्रेसन माथि उनको जीत नै यो गानाको प्रेरणा बन्न पुग्यो।
“मेरो लागि यो व्यक्तिगत गाना हो। मलाई लाग्छ यो गीतसँग मेरो निकै गहिरो भावनात्मक सम्बन्ध छ,” मिलर-हच्कीले एसबीएस समाचारलाई भनिन्।
बुधवार बिहान भएको सेमी फाइनलमा उनले दर्शकहरूको मन जित्दै आइतबार बिहान हुने ग्राण्ड फाइनलका निम्ति आफ्नो स्थान पक्का पारेकी छिन्।
बाजी ठोक्ने साइटहरूको कुरा पत्याउने हो भने - यसपालि अस्ट्रेलियाले नै जित्छ। के उनले जित्लिन् त? त्यो त अब आइतबार बिहान मात्रै थाहा हुनेछ।
अस्ट्रेलियन पूर्वी तटीय समयानुसार आइतबार बिहान ५ बजे सुरु हुने उक्त प्रतियोगिताको फाइनल सदा झैँ एसबीएसले प्रत्यक्ष प्रसारण गर्नेछ।
आइतबार सबेरै उठेर हेर्न मन छैन भने पछि आफूलाई पायक पर्ने समयमा एसबीएस अन-डिमाण्डमा वा यहीँ तल उक्त रोमाञ्चक प्रतियोगिता हेर्न सक्नुहुनेछ।
Share
