सन् २०२३ मा कोरोनाभाइरस विरुद्ध लड्न अस्ट्रेलिया सरकारको कस्तो छ योजना?

अस्ट्रेलिया सरकारले कोभिड–१९ विरुद्धको व्यवस्थापन र योजनाका लागि यस वर्ष थप २.८ अर्ब डलर खर्चँदै छ।

ANTHONY ALBANESE CHEMIST VISIT

Prime Minister Anthony Albanese (left) and Minister for Health Mark Butler (second left) visit a chemist store in Kingston in Canberra. (file) Source: AAP / MICK TSIKAS/AAPIMAGE

सङ्घीय सरकारले यस वर्ष कोभिड–१९ लाई व्यवस्थापन गर्नका लागि नयाँ योजना अपनाउने बताएको छ।

अन्य श्वासप्रश्वास सम्बन्धी रोगको नियन्त्रणका लागि चालिएका कदम जस्तै कोभिड–१९ प्रति पनि सरकारी दृष्टिकोण रहने बताइएको छ।

तर कोभिड–१९ विरुद्ध खोपको व्यवस्थापन गर्न र यसलाई निःशुल्क रूपमा वितरण गर्न भने सरकार प्रतिबद्ध रहेको छ।

राष्ट्रिय रूपमा सञ्चालन हुने सञ्चार सम्बन्धी अभियानहरूले बुस्टर डोज, नयाँ भेरीएन्टहरुका बारेमा जानकारी र कोभिड–१९ का बारेमा जनचेतना अभिबृद्धीलाई भने निरन्तरता दिनेछ।

यसै गरी सन् २०२३ को जाडो महिनामा कोभिड-१९ लगायत इन्फुल्न्जा र अन्य श्वासप्रश्वास सम्बन्धी रोगका लागि पनि अभियान थालिने बताइएको छ।

सङ्क्रमित मानिसहरूका लागि

सन् २०२३ मा पनि अस्ट्रेलियामा सङ्क्रमित भएकाहरूले घरमै व्यवस्थापन गर्नका लागि राष्ट्रिय हटलाइन सेवामा १८०० ०२० ०८० मा सर्म्पक राख्न यथावत् राख्न सक्नेछन्।

मेडीकेयरमा पहुँच भएकाहरूले भने भिडियो र टेलिफोन मार्फत टेलिहेल्थ सेवालाई यथावतै राख्न सक्नेछन्।

सङ्घीय सरकारले जीपी सहितको श्वासप्रश्वास क्लिनिकहरू भने मार्च २०२३ बाट बन्द गर्ने जनाएको छ।

सन् २०२० मार्चमा सरकारले जीपीहरुसँग मिली कोभिड–१९ बाट हुन सक्ने श्वासप्रश्वास सम्बन्धी समस्याको व्यवस्थापनका लागि यस्ता क्लिनिकहरू सञ्चालनमा ल्याएको थियो।

सरकारले यी क्लिनिकहरू आवश्यकता परेको खण्डमा व्यूताउन सकिने बताएको छ।

कोभिड–१९ जाँच

आगामी १२ महिना अन्य श्वासप्रश्वास सम्बन्धी रोग र कोभिडलाई उस्तै वर्गमा राख्ने सरकारले निर्णय गरेको छ।

“कोभिड–१९ को जाँच, यसका बारेमा जानकारी राख्न भन्दा पनि एन्टीभाइरल विधिको उपचारको प्राप्तका गर्नका लागि प्रयोग गरिनेछ,” कोभिड–१९ व्यवस्थापन नीति २०२३ मा उल्लेख गरिएको छ।

जनवरी २०२३ देखि मेडिकेयरबाट निःशुल्क प्रदान हुने पीसीआर जाँचका लागि नर्स वा डाक्टरको पर्चा अनिवार्य बनाइएको छ।

यता जोखिम कम रहेका मानिसहरूलाई कोभिड–१९ जाँच गर्न आवश्यक नरहेको पनि सुझाव जारी भएको छ।

यद्यपि श्वासप्रश्वास सम्बन्धी समस्या वा लक्षण भएको खण्डमा भने र्‍यापिड एन्टिजेन टेस्ट गर्न सुझाव दिइएको छ।

जोखिममा रहेका मानिसहरूले भने पीसीआर जाँच र उपचारमा प्राथमिकता पाउने छन्
स्वास्थ्य एवम् बृद्धस्याहार विभाग

वृद्ध अस्ट्रेलियाली बासिन्दा, आदिवासी अस्ट्रेलियाली, आशक्तता भएका मानिस, बहु सांस्कृतिक समुदायका मानिस, ग्रामीण भेगमा बसोबास गर्ने मानिस, रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरू र स्वास्थ्य समस्या भएकाहरू यस वर्ग भित्र पर्ने बताइएको छ।

राज्य र प्रदेशका क्लिनिकहरूमा मानिसहरू पीसीआर जाँचका लागि जान सक्ने भए पनि लक्षण नभएको अवस्थामा जाँच नगरी फिर्ता पठाइन सक्ने सम्भावना पनि रहने बताइएको छ।

रोग नियन्त्रणका लागि अस्ट्रेलियन सेन्टर फर डिजिज कन्ट्रोलको (सीडीसी) स्थापना

अमेरिकामा रहेको सीडीसी जस्तै अस्ट्रेलियामा पनि रोग नियन्त्रणका लागि सँस्थाको स्थापना गर्ने सरकारको योजना रहेको छ।

“अस्ट्रेलियन सेन्टर फर डिजिज कन्ट्रोलको (सीडीसी) स्थापनाले कोभिड–१९ बाट पाठ सिक्दै भविष्यमा आउन सक्ने सम्भावित महामारी र जनस्वास्थ्यको सङ्कटसँग जुध्न अस्ट्रेलियालाई तैयार बनाउने छ।”

“यसको प्रक्रिया अघि बढी रहेको छ र अक्टोबरमा यसका लागि बजेट छुट्टाइनेछ।”

अस्ट्रेलियन मेडिकल एसोसिएसनका प्राध्यापक स्टेफेन रोब्सन सीडीसी एक स्वायत्त निकाय हुने बताउँछन्।

सीडीसीलाई राजनीतिक स्वार्थ पुरा गर्न नभई जनस्वास्थ्यको पक्षमा काम गर्ने बजेट र अधिकार दिइनुपर्छ

“सीडीसीले जनतालाई स्वास्थ्य क्षेत्रलाई दिने सल्लाह बाह्य हस्तक्षेप र राजनीतिक दबाब बगैर हुनु पर्छ,” उनले थपे।

मानसिक स्वास्थ्यमा समर्थन

सङ्घीय स्वास्थ्य मन्त्री मार्क बट्लरले जनवरी १ देखि मानसिक स्वास्थ्य सम्बन्धी सरकारले दिँदै आएको काउन्सिलिङ्ग सेसनलाई २० बाट घटाएर १० वटा सेसनमा छोट्टाइने घोषणा गरेका छन्।

उनले सन् २०२१ मा अस्ट्रेलियालीहरूले समग्रमा ५ वटा सेसन मात्र लिएको बताए।

सङ्घीय सरकारले थप डिजिटल सेसनहरू भने थप्ने बताएको छ।

“यसले समुदायबाट माग भए बमोजिमको निःशुल्क र कम लागतमा चल्ने सेवालाई निरन्तरतालाई दिन मद्दत गर्नेछ।” सङ्घीय स्वास्थ्य मन्त्री मार्क बट्लरले भने।

लङ्ग कोभिडका लागि अनुसन्धान

सरकारले हाल जारी अनुसन्धान र संसदीय छानबिनको निष्कर्ष आएसँगै लङ्ग कोभिडका बारेमा आफ्नो नीति सार्वजनिक गर्ने बताएको छ।

“अस्ट्रेलियाको कोभिड–१९ नियन्त्रणको महत्त्वपूर्ण लक्ष्यमा लङ्ग कोभिड व्यवस्थापन पनि रहेको छ।”

यसबाहेक सरकारले ३५ वटा संस्थाहरूको संयोजनमा महामारी सुरु भएपछि गठन गरेको नेशनल क्लिनिकल एभिडेन्स टास्क फोर्सको पनि ३१ डिसेम्बरमा अन्त्य गरेको जनाएको छ।

यसबाहेक राज्य र प्रदेशसँग कोभिड–१९ का बिरामीको भर्ना खर्च ५०– ५०% बेहोर्ने सहमतिको पनि अन्त्य गरिएको सरकारको भनाई छ।

एसबीएस अस्ट्रेलियाका बहु सांस्कृतिक र बहुभाषिक समुदायहरूलाई कोभिड-१९ बारे सबै अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित र जानकार रहनुहोस्, र नेपाली भाषामा पछिल्लो जानकारीका लागि एसबीएस कोरोनाभाइरस पोर्टल नियमित हेर्नुहोस्


Share

4 min read

Published

Updated

By Sahil Makkar

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now