खोप सम्बन्धी प्राविधिक सल्लाहकार समिति (अटागी)ले अनुमति प्रदान गरे सँगै जनवरी १० तारिखदेखि पाँच देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजरको कोभिड-१९ खोप लगाउन सुरु गरिएको हो।
यस अघि अस्ट्रेलियाको औषधि नियमक निकाय थेराप्युटिक गुड्स एडमिनीस्ट्रेसन् (टीजीए)ले अनुमति दिएकोमा, क्लिनिकल परीक्षणहरूले खोप लगाए पछिको असर वा प्रतिक्रिया निकै कम वा छोटो समयका लागि मात्र रहने देखाएपछि, अटागीले पनि यसलाई स्वीकृति प्रदान गरेको थियो।
स्वास्थ्य मन्त्री ग्रेग हन्टले फाइजर खोपलाई अनुमति मिलेपछि अभिभावकहरूलाई आत्मविश्वास र विकल्प मिलेको बताउँछन्।
“यसले हाम्रा बालबालिकालाई सुरक्षित गर्छ, उनीहरूका परिवारलाई जोगाउँछ, र यसले उनीहरूको विद्यालयलाई जोगाउँछ, यी साँच्चीकै महत्त्वपूर्ण कदमहरू हुन्,” उनले भने।
अटागीले पाँच वर्ष देखि ११ वर्षका सबै बालबालिकाका लागि खोपको पर्याप्त मात्रामा आपूर्ति हुनु पर्ने पनि बताएको छ।
मैले मेरा बच्चालाई कहिले खोप लगाउन पाउँछु?
अभिभावक,आमाबाबु एवम् हेरचाहकर्ताले खोपका लागि बुकीङ्ग गर्न सक्दछन्।
खोप साधारण चिकित्सक(जीपी), एबोरजिनल स्वास्थ्य संस्था, सामुदायिक औषधि पसल तथा राज्य तथा टेरीटरीका क्लिनिकहरू मार्फत लगाउन सकिनेछ।

अटागीले खोपका दुई डोज बिच आठ हप्ताको अन्तराल हुनु पर्ने सिफारिस गरेको छ।
तर विशेष परिस्थितिमा जस्तै प्रकोप बढेको अवस्थामा तीन हप्तामै झार्न सकिने पनि बताइएको छ।
गम्भीर रोग देखा पर्ने सम्भावना भएका पाँच देखि ११ वर्षका बालबालिका, एबोरजीनल एवम् टोरेस आईल्याण्डर बालबालिका, भिडभाडको अवस्थामा बस्ने बालबालिका वा प्रकोप बढेको स्थानका बालबालिकाहरूले कोभिड-१९ खोपबाट लाभ लिन सक्ने बताइएको छ।
यस अघि कोभिड-१९ बाट सङ्क्रमित भइसकेका बालबालिकाहरूले भने रोगबाट निको भइसकेपछि खोप प्राप्त गर्न सक्दछन्।
हाललाई “अस्थायी स्वृकती” दिएको टिजीएले आउँदा दुई वर्षमा घरेलु र अन्तर्राष्ट्रिय तथ्याङ्कहरू केलाएर पुनर्मूल्याङ्कन गर्ने बताएको छ।
बालबालिकाका लागि सिफारिस गरिएको खोपको मात्रा कति हो?
बालबालिकालाई सिफारिस गरिएको खोपको खुराक वयस्कहरूलाई भन्दा फरक हुने बताइएको छ।
१२ वर्ष माथिका लागि ३० माईक्रोग्राम दिइनेमा बालबालिकाका लागि यो केवल १० माईक्रोग्राम मात्र हुनेछ।
पाँच वर्ष देखि ११ वर्षका बालबालिकालाई सुन्तला रङ्गको बिर्को भएको खोपको सिसी प्रयोग गरिनेछ।
जबकि खैरो वा बैजनी रङ्गको बिर्को भएका खोप वयस्कका लागि प्रयोग गरिन्छन्।
यसरी रङ्ग फरक गरिँदा सेवा प्रदायकले कुन खोप आफ्नो फ्रिजबाट निकालिरहेको छु भन्ने हेक्का राख्न सजिलो हुने सिड्नी विश्वविद्यालय अन्तर्गत महामारी रोगका प्राध्यापक एलेक्सेन्ड्रा मार्टिनिक बताउँछन्।
पहिलो डोज प्राप्त गरेपछि १२ वर्ष कट्ने बालबालिकाका हकमा भने दोस्रो डोज भने वयस्कलाई प्रदान गरिने खोप लगाइने बताइन्छ।
हामीले बालबालिकालाई खोप किन दिइरहेका छौ त?
बालकालिकाहरुलाई कोभिड-१९ बाट गम्भीर जोखिम हुने सम्भावना कम छ, यद्यपि केही बालबालिकामा भने सङ्क्रमण भएको खण्डमा गम्भीर बिरामी पर्न सक्ने अस्पताल भर्ना हुने वा मृत्यु हुने जोखिम रहन्छ।
मार्च र अक्टोबरका बिचमा अमेरिकामा पाँच देखि ११ वर्ष उमेर समूहका १९ लाख भन्दा बढी बालबालिका कोभिड-१९ बाट संक्र्मित हुन पुगेका थिए।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कका अनुसार सङ्क्रमित मध्ये ८,३०० बालबालिका अस्पतालमा भर्ना भएको र ९४ जनाको मृत्यु भएको छ।
युरोपियन युनियन, क्यानडा र इजरायलले बालबालिकाका लागि फाइजर खोपलाई अनुमति दिइसकेको अवस्था छ।
अमेरिकामा यी उमेर समूहका करिब १० प्रतिशत बालबालिकाले खोप लिइसकेका छन्।
“अस्ट्रेलियामा कोभिड-१९ का सङ्क्रमित मध्येका एक–पाचौ भाग १२ वर्ष मुनीका बालबालिकामा रहेको छ–यो ठिकै सङ्ख्या हो,” प्राध्यापक मार्टिनिकले भने।
यो उमेर समूहका बालबालिकामा कोभिड-१९ सङ्क्रमणले कहिलेकाहीँ एआईएस–सि भनिने शरीरका विभिन्न भाग सुन्निने घातक खालको रोगलाई पनि निम्त्याउन सक्छ।
“उनीहरूमा साधारण वा लक्षण बिनाको कोभिड-१९ देखिन सक्छ, कोही बिरामी हुन सक्छन्, कोही अस्पतालमा भर्ना हुन्छन्, कोही सघन उपचार कक्षमा पनि हुन सक्छन्।"
"विदेशमा त हामीले केही बालबालिका कोभिड-१९ का कारण मृत्यु भएका पनि देखेका छौ,” उनले भने।
मर्डोकको बालबालिका सम्बन्धी एक नयाँ सार्वजनिक रिर्पोटमा वयस्कलाई जस्तो छिट्टै रोगले समात्ने नभएता पनि सङ्क्रमण भएको तिन महिना पछि टाउको दुख्ने, थकान महशुस हुने, निन्द्रामा गडबडी हुन सक्ने, एकाग्रतामा कठिनाइ हुने र पेट दुख्ने जस्ता लक्षणहरू अनुभव गर्न सक्ने बताइएको छ।
“यो धेरै सुरक्षित र प्रभावकारी खोप हो, पाँच देखि ११ वर्षका बालबालिकाका लागि खोप लगाउने ठुलो अवसर हो,” प्राध्यापक मार्टिनिकले भने।
बालबालिकालाई खोप लगाउँदा कुनै जोखिमहरू छन्?
अमेरिका,फिनल्यान्ड,पोल्यान्ड र स्पेन लगायतका देशहरूमा क्लिनिकल परीक्षणका विस्तृत तथ्याङ्कहरुलाई नियमक निकायले टिजिएले अध्ययन गरेको थियो।
परीक्षण देखिएका केही साइड इभेक्टहरुमा खोप लगाएको स्थानमा दुखाई, रातो एवम् सुजन हुन सक्ने, थकान, टाउको दुखाई, मांसपेशी दुखाई एवम् जाडो लाग्ने जस्ता छन्।
प्राध्यापक मार्टिनिकका अनुसार यी वयस्कलाई पनि देखा पर्ने सामान्य खालका साइड इफेक्टहरु हुन्।

मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टीच्यूटका प्राध्यापक फियोना रसेलले अमेरिकामा लाखौँ बालबालिकाले खोप लगाइसकेको र त्यो सुरक्षित रहेको पाइएको बताइन्।
“खोप राम्रो सँग सहन गर्न सकिने, प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने र परीक्षणका क्रममा सार्स कोभिड-१९ विरुद्ध अत्यधिक प्रभावकारी पाइएको छ,” एक विज्ञप्ति मार्फत उनले भनिन्।
मायोर्काडाईटिस भनिने मुटुका मासंपेशीहरुको सुजन र पेरीकार्डइटिस भनिने मुटु वरपरका तन्तुहरू सुन्निने खोपका अत्यन्तै दुर्लभ साइड इफेक्टहरू हुन्।
अमेरिकामा १२ देखि १५ वर्षका बालबालिका मध्ये प्रत्येक १० लाख पुरुष मध्ये २ सय भन्दा कममा र ३० भन्दा कम महिलामा मायोर्काडाईटिस देखिएको छ।
“जबकि पाँच देखि ११ वर्षका बालबालिकाको हकमा भने कुनै पनि तथ्याङ्क उपलब्ध भएको छैन,” उनले भनिन्।
के खोपले नयाँ भेरीएन्ट ओमिक्रन विरुद्ध काम गर्छ?
विश्वस्वास्थ्य सङ्गठनले 'चिन्ताको भेरीएन्ट'का रूपमा ओमिक्रनलाई दर्ता गरे सँगै विश्वभरका वैज्ञानिक र स्वास्थ्य विशेषज्ञहरू यसका बारेमा तथ्य जुटाउन लागि परेका छन्।
अमेरिकाबाट प्राप्त नयाँ रिर्पोटहरुले ओमिक्रनको सङ्क्रमणदर डेल्टा भेरीएन्ट भन्दा धेरै भएता पनि खतरनाक भने नभएको देखाएको छ।
अमेरिकी राष्ट्रपति जो बाईडेनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फाउचीले “अहिले सम्ममा ठुलो मात्रामा गम्भीरता छ जस्तो लाग्दैन” भनेका छन्।
प्राध्यापक मार्टिनिकका अनुसार खोपको प्रभावकारीताका बारेमा अहिले सम्म कुनै तथ्याङ्क छैन।
“खोपको प्रभावकारिता हुनेछ भन्ने कुरा राम्रो सँग बुझिएको छ। तर यो अन–अफ स्विच होइन,” उनले भने।
के खोपले विद्यालय बन्दको अन्त्य गर्नेछ?
अक्टोबर र नोभेम्बरमा कोभिड-१९ प्रकोपका कारण न्यु साउथ वेल्सका २ सय ७० भन्दा बढी विद्यालयहरू बन्द गर्नु परेको थियो।
ती मध्ये लगभग दुई तिहाइ प्राथमिक विद्यालयहरू थिए, जहाँ अधिकास बालबालिका खोप लगाउन योग्य थिएनन्।
कोभिड-१९ बाट करिब ३ सय बाल हेरचाह केन्द्र पनि प्रभावित बनेका थिए।
सङ्क्रमणले भिक्टोरियामा पनि अ-नियोजित रूपमा विद्यालयमा बन्द गर्नमा भूमिका खेलेको छ।
ओमिक्रनका कारण चीजहरु कसरी विकास हुन्छन् यो हेर्न वाकी रहेको प्राध्यापक मार्टिनिकी बताउँछन्।
“तर हामीलाई थाहा छ, खोप लगाउनेलाई कोभिड-१९ को जोखिम कम हुन्छ र अरूलाई सार्ने सम्भावना पनि कम हुन्छ,”उनले भने।
कोरोनाभाइरस सम्बन्धी सरकारी जानकारी
स्वास्थ्य मन्त्रालयको कोरोनाभाइरस बारे जानकारी नेपाली भाषामा
गृह मामला मन्त्रालयको कोरोनाभाइरस जानकारी नेपाली भाषामा
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले घरमा नै बसेर परिक्षणका लागि पहल गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्। तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरिटरी, एसीटी, टास्मेनिया।
