मुख्य बुँदाहरू:
- न्यु साउथ वेल्सका मतदान गर्न योग्य बासिन्दाहरूले आफ्नो नाम दर्ता गरी राज्य लगायत सङ्घीय र स्थानीय तहका चुनावमा मतदान गर्नु पर्छ।
- राज्यको निर्वाचन आयोगले अङ्ग्रेजी बाहेक २० भन्दा बढी भाषामा जानकारी प्रकाशित गरेको छ।
- यसपालिको चुनावमा ‘आइभोट’ अनलाइन मतदान प्रणालीको प्रयोग नगरिने बताइएको छ।
प्रिमियर डोमिनिक पेरोटेको नेतृत्वमा रहेको गठबन्धन सरकारले चौथो पटक न्यु साउथ वेल्समा कार्यकाल जित्ने आशा राखेको छ।
न्यु साउथ वेल्स लेबरका क्रिस मिन्स निर्वाचनका अर्का दाबेदार हुन्।
सन् २०२१ को जुन महिनामा दलको नेतृत्व गर्न सुरु गरेदेखि उनको यो पहिलो राज्य स्तरीय चुनाव हो।
न्यु साउथ वेल्स संसदमा दुई वटा प्रणाली छन् - व्यवस्थापिका सभा (तल्लो सदन) र व्यवस्थापिका परिषद् (माथिल्लो सदन)।
यस चुनावमा ९३ वटा निर्वाचन क्षेत्रका मतदाताहरूले विधायकहरूलाई चयन गर्दै छन्।
व्यवस्थापिका परिषद्मा ४२ जना सदस्य हुन्छन्।
राज्य स्तरीय चुनावबाट आठ वर्षको कार्यकालका लागि २१ जना सदस्यहरू निर्वाचित हुन्छन्।
यदि तपाईँ कुनै कारणवश भोट खसाल्न मतदान केन्द्रमा जान सक्नु भएन भने हुलाक मार्फत भोट गर्ने विकल्प हुन सक्छ।
हुलाकबाट भोट खलास्नु पर्ने भएमा, त्यसको आवेदन मार्च २० को साँझ पाँच बजेसम्म न्यु साउथ वेल्स निर्वाचन आयोगले पाउने गरी पठाउनु पर्छ।
त्यस्तै, तपाईँले भोट दिनु भएको मतपत्र र हुलाक भोटका प्रमाणपत्र (पोस्टल भोट सर्टिफिकेट)हरू भने निर्वाचन आयोगले अप्रिल ६ साँझ ६ बजेसम्म पाइसक्नु पर्छ।
यसपालिको चुनावमा ‘आइभोट’ अनलाइन मतदान प्रणालीको प्रयोग नगरिने बताइएको छ।

मार्च २५ - चुनावको दिनमा मतदान
विद्यालय, चर्च, सामुदायिक केन्द्र लगायत अन्य स्थानमा गरी २,४५० मतदान केन्द्रहरू स्थापना हुने छन्।
मतदान केन्द्रहरू मार्च २५ को बिहान आठ बजेदेखि साँझ ६ बजेसम्म खुला रहने छन्।
आफूले कहाँ भोट खसाल्ने भन्ने विषयका विवरणहरू तपाईँले न्यु साउथ वेल्स निर्वाचन आयोगको वेबसाइटमा पाउन सक्नु हुन्छ।
मतदान केन्द्रमा प्रवेश गरे पछि त्यहाँका कर्मचारीले तपाईँलाई नाम, ठेगाना, मतदान क्षेत्र, र यो निर्वाचनमा पहिले भोट हाल्नु भएको छ कि छैन भनेर प्रश्न गर्ने छन्।
यी सबै विवरणहरू पक्का गरे पछि तपाईँलाई मतपत्र दिइने छ।
यदि त्यहाँ रहेका कर्मचारीले तपाईँको विवरण मतदाता नामावलीमा पुष्टि गर्न सकेनन् भने तपाईँले एक "घोषणा भोट" (डिक्लेरेसन भोट) भर्नु पर्ने हुन्छ।

मतदान गर्न अनिवार्य
योग्य र मतदाता नामावलीमा दर्ता भएका भोटरहरूले राज्य लगायत सङ्घीय तथा काउन्सिलको चुनावमा अनिवार्य रूपमा भोट गर्नुपर्छ।
तपाईँले बिना कुनै उचित कारण भोट हाल्नु भएन भने जरिमाना हुन सक्छ।
घरबारविहीन, अन्तरराज्यीय, विदेशमा रहेका र अपाङ्गता भएका मानिसहरूको लागि मतदान
न्यु साउथ वेल्समा कुनै निश्चित ठेगाना नभएका या आपतकालीन स्थितिका कारण अस्थायी वा सङ्क्रमणकालीन आवासमा बस्ने नागरिकहरूले पनि मतदानको लागि आफ्नो नाम दर्ता गर्न पाउँछन्।
तर, यस्ता विशेष परिस्थिति भएका मानिसहरूले भोट नगरे पनि जरिमाना नहुने बताइएको छ।
अपाङ्गता भएका मतदाताहरू सहयोग चाहिएमा आफ्नो साथी वा आफन्तसँग जान सक्छन्।
अथवा, उनीहरूले मतदान केन्द्रका कर्मचारीहरूबाट मद्दत लिन पाउँछन्।
यदि तपाईँ कुनै कारणवश मतदान केन्द्रमा जान सक्नु भएन भने, तपाईँले कि प्रारम्भिक मतदान गर्न सक्नु हुने छ, वा हुलाकद्वारा आफ्नो भोट खसाल्न सक्नु हुने छ।
यस लगायत तपाईँले ‘डिक्लेयर्ड फ्यासिलिटी’ भनिने सुविधा मार्फत, वा फोनबाट मतदान गर्ने विकल्पहरू पनि हुने छन्।
यदि तपाईँ मार्च २५ मा न्यु साउथ वेल्स बाहिर अन्य राज्य वा प्रदेशमा हुनु हुन्छ भने, तपाईँले प्रारम्भिक मतदान केन्द्रमा गएर वा हुलाक मार्फत भोट खसाल्न सक्नु हुन्छ।
तर यदि तपाईँ विदेशमा हुनु हुन्छ वा छुट्टी मनाउन जानु भएको छ भने तपाईँले हुलाक मार्फत मतदान गर्नु पर्ने हुन्छ।
बहुभाषामा जानकारी
प्रारम्भिक मतदान तथा निर्वाचनको दिनमा मतदान केन्द्रहरूमा बहुभाषी जानकारी दिने कर्मचारीहरू तोकिएका भाषाको ब्याज लगाएर उपस्थित हुने छन्।
त्यस्तै, फोनबाट निःशुल्क दोभाषे सेवा पनि उपलब्ध छ।
भोट खसाल्ने दिनमा तपाईँलाई आफ्नो भाषामा थप सहयोग चाहिएमा, मतदान केन्द्रमा उपस्थित कर्मचारीहरूले राष्ट्रिय अनुवाद र दोभाषे सेवासँग तपाईँको सम्पर्क गराइदिन सक्छन्।
यो सबै बीच, निर्वाचनको बारेमा फैलिएका भ्रामक र गलत जानकारीलाई रोक्न र नियन्त्रण गर्नका लागि आयोगले एक ‘डिसइन्फर्मेसन रजिस्टर’ जारी गरेको छ।
मतदान प्रक्रियाको जानकारीका लागि elections.nsw.gov.au जानुहोस्, वा १३०० १३५ ७३६ मा सम्पर्क गर्नुहोस्।
