मुख्य बुँदा
- भिक्टोरियामा भोट हाल्नका लागि नाम दर्ता गराइसके पछि, सङ्घीय, राज्य र स्थानीय काउन्सिलका चुनावहरूमा भोट हाल्नै पर्छ।
- भिक्टोरियाको निर्वाचन आयोगले विभिन्न ३० भाषामा निर्वाचन सम्बन्धी सामाग्रीहरू उपलब्ध गराउँछ।
- विभिन्न विद्यालय, चर्च, सामुदायिक भवन र अन्य स्थानमा गरी निर्वाचनका लागि १७५० वटा मतदान केन्द्र खडा गरिएका छन्।
शनिवारको निर्वाचनका लागि राज्यभरका करिब ४४ लाख बासिन्दाले मतदान गर्नका लागि नाम दर्ता गराइसकेका छन्।
पोस्टल भोट भनिने हुलाक मार्फत गरिने मतदान वा मतदान केन्द्रमा निर्धारित दिन अगावै पुगेर करिब ११ लाख मानिसले आफ्नो मत हाल्ने अनुमान छ।
यस पटकको निर्वाचन समेत गरेर प्रिमियर ड्यानियल एन्ड्रुजले तेस्रो पटक आफ्नो उम्मेदवारी दिएका छन्।
सन् २०१४ र सन् २०१८ मा जित हासिल गरेका एन्ड्रुजले यस अघिको निर्वाचनमा झैँ लिबरलका तर्फबाट माथ्यु गाइसँग प्रतिस्पर्धा गर्नेछन्।
भिक्टोरियाको संसद दुई सदनात्मक व्यवस्थामा आधारित छ, तल्लो सदनमा ८८ सदस्य रहने व्यवस्था छ भने माथिल्लो सदनका लागि भने ४० सिट सङ्ख्या रहने व्यवस्था छ।

पोस्टल भोट २३ नोभेम्बरमा बन्द भइसकेको भए पनि, शुक्रवार २५ नोभेम्बर साँझ ६ बजेसम्म मतदान केन्द्रहरूमा पुगी मानिसहरूले चुनाव अगावै मतदान गर्न सक्छन्।
कहाँ गएर भोट गर्ने भन्ने बारेमा भिक्टोरियाको निर्वाचन आयोगको वेबसाइटमा जानकारी राखिएको छ।
मतदान गर्ने दिन नोभेम्बर २६
विभिन्न विद्यालय, चर्च, सामुदायिक भवन र अन्य स्थानमा गरी करिब १७५० मतदान स्थलहरू तोकिएका छन्।
ती मतदान स्थलहरू बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा रहनेछन्।
मतदानका लागि पुगेका मानिसहरूलाई मतदान अधिकारीहरूले, उनीहरूको परिचय पहिचान गरेर यस अघि मतदान गरे नगरेका बारेमा जानकारी माग गर्नेछन्।
भोट हाल्न पुगेका मानिसहरूको व्यक्तिगत जानकारी पहिचान भइसकेपछि, मतदान अधिकारीहरूले तल्लो र उपल्लो सदनका छुट्टा छुट्टै मतपत्र दिनेछन्।
मत कसरी हाल्ने भनेर सामान्य जानकारी मतदान अधिकारीहरूले पनि प्रदान गर्नेछन्।
त्यस पछि भने अलग्गै बनाइएको बुथमा पुगेर आफ्नो मत जाहेर गर्नु पर्ने हुन्छ।
मतपत्रमा विवरण भरिसकेपछि यसलाई पट्ट्याएर निर्धारित मतपेटिकामा खसाल्नु पर्ने हुन्छ।
राम्ररी नभरिएका मतपत्रहरू बदर हुन सक्ने भएकाले, मतदान गर्दा ध्यान पुर्याउनु जरुरी रहन्छ।

मतदान गर्न अनिवार्य छ
भिक्टोरियामा मतदानका लागि सूचीकृत भइसकेपछि, मतदान गर्न अनिवार्य छ।
मतदानमा सहभागी नहुँदा जरिवाना लाग्ने सम्भावना रहन्छ।
बाढी प्रभावित भएको खण्डमा, विदेश वा अन्य राज्यमा रहेको अवस्थामा कसरी मतदान गर्ने?
बाढी प्रभावित भएकाहरूलाई फोन मार्फत भोट हाल्न मिल्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ।
निर्वाचन आयोगको वेबसाइटमा कुन क्षेत्रका मानिसलाई कस्तो व्यवस्था गरिएको छ भनेर जानकारी राखिएको छ।
विदेशमा वा अन्य राज्यमा भएको अवस्थामा पनि मतदान गर्न सकिन्छ।
यसका लागि विभिन्न राज्यमा मतदान गर्नका लागि गरिएको व्यवस्था, विदेशमा रहँदा कसरी मतपत्र प्राप्त गर्ने र विश्वभर रहेका २७ सङ्कलन केन्द्रका बारेमा पनि जानकारी राखिएको छ।
विविध भाषामा जानकारी कसरी प्राप्त गर्ने
भिक्टोरियाको निर्वाचन अयोगले भोट हाल्न र आफ्ना उम्मेदवारका बारेमा जानकारी लिनका लागि ३० भन्दा बढी भाषामा सूचना उपलब्ध गराएको छ।
यसबाहेक विभिन्न भाषामा जानकारी दिनका लागि मतदान केन्द्रहरूमा पनि अधिकारीहरू उपलब्ध हुनेछन्।
यी अधिकारीहरूले विशेष स्टिकर लगाएका हुनेछन्, जसका कारण मानिसहरूलाई कुन भाषाको सहयोगी हो भनेर पहिचान गर्न सजिलो हुनेछ।
थप जानकारीका लागि भिक्टोरियाको निर्वाचन आयोगको वेबसाइट वा १३१ ८३२ मा सम्पर्क गर्न सक्नुहुनेछ।
