भिक्टोरियाको सरकारले यो साता सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार सन् २०१८ मा उक्त राज्यमा २२७,००० अन्तर्राष्ट्रिय विद्यार्थीहरू विभिन्न कोर्समा भर्ना भएका थिए।
ती मध्ये, गत साल मात्र नेपालबाट ८,५४२ जनाले भिक्टोरिया राज्यमा रहेका विभिन्न शैक्षिक संस्थाहरूमा भर्ना लिएको उक्त राज्यका प्रिमियर ड्यानियल एण्ड्रुजको कार्यलयले एसबीएस नेपालीलाई बताएको छ।
यसका साथै, भिक्टोरियामा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुचीमा नेपाल सातौँ स्थानमा परेको पनि उक्त कार्यलयले बताएको छ।
उक्त कार्यलयका अनुसार नेपाली विद्यार्थीहरूको रोजाइमा अघिल्लो वर्ष परेका अध्ययनका प्रमुख तीन क्षेत्रहरू:
- म्यानेजमेन्ट तथा कमर्स ३१%
- इन्फर्मेसन टेक्नोलोजी २२%
- हेल्थ १८%
साथै, सन् २०१८ मा यहाँ भर्ना हुन आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको देशको सुचीमा चीनले पहिलो नम्बर ओगटेको छ भने भारत (५०,४६३) तथा श्रीलङ्का (९,५४१) क्रमशः: दोस्रो र पाँचौँ स्थानमा रहेका छन्।
गत साल चीनबाट ८८,४०१ अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भिक्टोरियामा भर्ना लिएका थिए।
अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग
भिक्टोरियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग पुर्याउने विभिन्न आयोजनाहरूलाई करिब १० लाख डलर सरकारी अनुदान स्वरूप दिने यहाँको राज्य सरकारले जनाएको छ।
भिक्टोरियाका रोजगारी, व्यापार मन्त्री मार्टिन पकुलाकाले राज्यको शिक्षा क्षेत्र बलियो हुँदै गएको बताउँदै भने, “अन्तर्राष्ट्रिय विद्यार्थी हाम्रो जीवन्त बहुसांस्कृतिक समुदायको अभिन्न अङ्ग हुन्।
“उनीहरूलाई सहायता गर्ने कार्यक्रम प्रस्तुत गर्न पाउँदा हामी गौरान्वित भएका छौँ,” उनले करिब १० लाख डलरको अनुदानको घोषणा गर्दै भने।

उक्त अनुदानले अन्तर्राष्ट्रिय विद्यार्थी कल्याणकारी कार्यक्रम अन्तर्गत रहने २७ विभिन्न आयोजनाहरूलाई सहयोग पुर्याउने बताइएको छ जसमा अस्ट्रेलियामा काम गर्दा पाइने अधिकारहरू, खेलकुद, आवास, कानुनी सेवा र मानसिक स्वास्थ्य सम्बन्धी लगायतका क्षेत्रहरू छन्।
यसका अतिरिक्त, सन् २०१८ को सेप्टेम्बर महिना यता राज्य सरकारद्वारा मेलबर्नमा सञ्चालित “स्टडी मेलबर्न स्टुडेन्ट सेन्टर”बाट करिब ६,३०० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूले विभिन्न निःशुल्क सेवा लिइसकेको पनि बताइएको छ।
निर्यातमा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र सबैभन्दा अगाडी
पर्यटन (५.४ अर्व) र ऊन (२.१ अर्व) निर्यातलाई पछाडि पार्दै अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रले भिक्टोरिया राज्यमा सबैभन्दा बढी राजश्व सङ्कलन गर्न सफल रहेको छ।
राज्य सरकारद्वारा सार्वजनिक गरिएको आँकडा अनुसार सन् २०१८ मा उक्त अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रले लगभग १२ अर्व डलर निर्यात राजश्वको रूपमा कमाउन सफल रहेको थियो।
सन् २०१४ यता अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रबाट हुने राजश्व सङ्कलनमा करिब ८९ प्रतिशतले वृद्धि भएको पनि भिक्टोरिया सरकारले बताएको छ।
करिब ७९,००० भिक्टोरियावासीलाई रोजगारी दिने बताइएको यहाँको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा १७० विभिन्न राष्ट्रबाट अघिल्लो वर्ष लगभग तीन लाख कोर्सहरूमा भर्ना लिइएको सरकारी तथ्याङ्क छ।

