मुख्य बुँदा
- पाँच वर्ष माथिका सबै जना निःशुल्क कोभिड–१९ खोपका लागि योग्य छन्।
- मेडीकेयर कार्ड नभएकाहरूले पनि सामुदायिक औषधि पसल, राज्य वा सङ्घीय सरकारद्धारा सञ्चालित क्लिनिकहरूमा पुगेर निःशुल्क खोप लगाउन सक्छन्।
- भिन्न भिन्नै कम्पनीका खोप लगाउँदा भने चिकित्सकसँग सल्लाह लिनु पर्दछ।
महामारीको समयमा करिब दुई वर्ष अस्ट्रेलियाली सीमा ठप्प जस्तै बन्यो।
विशेष परिस्थितिमा बाहेक अस्ट्रेलिया भित्रने र बाहिरिने मानिसहरू कमै देखिए।
अन्तर्राष्ट्रिय विद्यार्थी, स्थायी बासिन्दा र अस्ट्रेलियाली नागरिकका अभिभावकलाई अस्ट्रेलिया आउन दिने निर्णय लागु भएपछि सिड्नीमा बसोबास गर्ने जय मनकदका अभिभावक अस्ट्रेलिया आएका हुन्।
अस्ट्रेलियामा लामै समय बसे पश्चात् उनीहरू, अहीले घर फर्किन लागेका छन्।
तर उनीहरू फर्कनु अघि, जय मनकद आफ्ना अभिभावकलाई कोभिड–१९ विरुद्धको दोस्रो बुस्टरको डोज लगाइदिन चाहन्छन्।
उनीहरूले पहिलो बुस्टर डोज भारतमै लगाएको भए पनि दोस्रो बुस्टर डोज लगाउने व्यवस्था भने भारतमा छैन।
“उनीहरूको उमेरका कारण पनि कोरोनाभाइरस सङ्क्रमणमा पर्ने जोखिम बढी छ,” मनकदले भने।
उनीहरू दोस्रो खोपका लागि योग्य भए पनि अन्य अस्ट्रेलियाली नागरिक र स्थायी बासिन्दाको जस्तो मेडीकेयर कार्ड भने उनीहरूसँग छैन। जसका कारण कोभिड–१९ को बुस्टर लिनका लागि उनीहरूमा अन्यौलता छ।
मेडीकेयर नभएका मानिसले कोभिड–१९ को बुस्टर डोज कसरी लिने?
भिसाको अवस्थाका बाबजुद, अस्ट्रेलियामा पाँच वर्ष माथिका सबै मानिसले कोरोना विरुद्धको खोप लिन सक्छन्।
चाहे ती अन्तर्राष्ट्रिय यात्रु हुन्, विद्यार्थी भिसामा रहेका वा आप्रवासी कामदार, सबै जना खोपका लागि अधिकार प्राप्त छन्।
तर यी समूहमा पर्नेहरूले कोभिड–१९ खोप लगाउने केन्द्रहरू पत्ता लगाउन भने केही कठिन हुन सक्छ।
मनकदका अनुसार उनलाई विभिन्न क्लिनिक र चिकीत्सहरुले खोप लगाउन नसक्ने भन्दै फिर्ता पठाइदिएका थिए।
“हामीलाई कहाँ जानु पर्छ भन्ने नै थाहा भएन,” मनकदले भने।

यता रचना ओजाका अभिभावक पनि करिब ८ महिनाको अस्ट्रेलियाको बसाई पछि भर्खरै भारत फर्किएका छन्।
ओजाका अनुसार विदेशबाट आएका मानिसहरूले सही जानकारी नपाउँदा अन्यौलनमा पर्ने गर्दछन्।
“केही मानिसहरूलाई जीपीले फर्काइदिएका छन्, धन्न मेरा जीपी भने खोप लगाइदिन पाउँदा निकै खुसी भए,” उनले भनिन्।
यता स्वास्थ्य एवम् बृद्धस्याहार सम्बन्धी विभागले भने मेडीकेयर नभएका मानिसहरूले पनि सहभागी सामुदायिक स्वास्थ्य संस्थाहरू मार्फत खोप लगाउन सक्ने एसबीएसलाई बताएको छ।
“कमनवेल्थबाट संचालित खोप केन्द्र र राज्य तथा प्रदेशहरूले सञ्चालन गरेका क्लिनिकहरूबाट खोप प्राप्त गर्न सकिन्छ,” विभागले भनेको छ।
“त्यहाँ धेरै यस्ता स्थानहरू छन् जहाँबाट खोप लगाउन सकिन्छ, खोप क्लिनिक पत्ता लगाउन, भ्याक्सिन क्लिनिक फाइन्डरले सहयोग गर्दछ, प्रत्येक राज्य र प्रदेशका स्वास्थ्य विभागको वेबसाइटमा पनि स्थानीय स्तरमा खोप लगाउने सुविधाका बारेमा जानकारी राखिएको छ।”
के भिन्दा भिन्दै खोप लगाउन मिल्छ?
मनकदले भिन्दा भिन्नै कम्पनीले विकास गरेका खोप लगाउन मिल्छ कि मिल्दैन भन्ने बारेमा आधिकारिक जानकारी नपाएकाले, साथी भाइको सल्लाहलाई विश्वास गरेको बताउँछन्।
अस्ट्रेलिया नेशनल विश्वविद्यालयका उपप्राध्यापक एवम् सरुवा रोग विशेषज्ञ सञ्जय सेनानायके, पछिल्लो समय विभिन्न कम्पनीका खोप मिश्रण गरेर लगाउन मिल्छ कि मिल्दैन भन्ने विषयमा अनुसन्धान भएको बताउँछन्।
यी अनुसन्धानहरूले यसो गर्न सुरक्षित देखिएको निष्कर्ष आएको उनको भनाई छ।
“रोग प्रतिरोध क्षमता अलि बढी नै हुने लक्षण पनि अलि बढी नै देखिने गरेको अनुभव हुन सक्छ,” सेनानायकेले भने।
“कोभिड–१९ को कुरामा फरक फरक किसिमका खोप लगाउँदा पनि समस्या हुँदैन,” उनले बुझाउँदै भने।
यद्यपि अस्ट्रेलियाली सरकारले भने भिन्दा भिन्नै कम्पनीका खोपहरू लगाउने निर्णय गर्दा चिकित्सक वा स्वास्थ्य अधिकारीहरुसँग परामर्श लिन सुझाव दिएको छ।
के पर्यटकहरूले अस्ट्रेलियामा बुस्टर डोज लिँदा हुन्छ?
यदि कोही खोप लिनका लागि योग्य बनिसकेको अवस्था छ भने खोप लगाउने बारेमा सोच्न प्राध्यापक सेनानायके सुझाव दिन्छन्।
“कोभिडको नजरबाट हेर्दा, तपाई यहाँको बासिन्दा हो वा घुम्न मात्र आउनु भएको भन्ने कुराले अर्थ राख्दैन, तपाईँलाई सङ्क्रमण हुन सक्छ,” उनले भने।
“हामीले उनीहरूलाई मौका दिनु पर्छ किनकि यसले समग्रमा हाम्रा बासिन्दालाई पनि सहयोग गर्छ," उनले भने।
ओजा पर्यटक भिसामा आएका आफ्ना अभिभावकका लागि खोप उपलब्ध गराइ दिएकोमा अस्ट्रेलियाली सरकार प्रति कृतज्ञ छिन्।
“छोटो समयका लागि बस्नका लागि आएका आफ्ना वृद्ध अभिभावकले चिन्ता हुन्छ नि!" उनले भनिन्।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्।
कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्।
६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus
