नेपालको मकालु-वरुण राष्ट्रिय निकुञ्ज भ्रमणमा रहेको र पर्वतारोहण अभियानमा संलग्न भारतीय सेनाको एक टोलीले अप्रिल ९ तारिकमा हिममानव यतिको भनी ठानिएको पद चिन्हहरू सहितको ३ तस्बिर ट्विटर मार्फत सार्वजनिक गरेको छ।
भारतीय सेनाको अतिरिक्त सूचना महानिर्देशकको आधिकारिक ट्विटर ह्यान्डलबाट गरिएको उक्त ट्विटका अनुसार, ती कथित पदचिन्हहरु ३२ इन्च लामा र १५ इन्च चौडा छन्।
“अहिलेसम्म कहिल्यै पनि समात्न नसकिएको हिममानव यसभन्दा पनि पहिले मकालु-वरुण राष्ट्रिय निकुञ्जमै देखिएको थियो,” उसले अगाडी लेखेको छ।
तर, यसले ट्विटरमा मानिसहरूलाई ख्याल ठट्टा गर्न एकदमै सहयोग पुर्याएको देखिन्छ।
कतिले यसलाई भारतीय सेना जस्तो जिम्मेवार निकायले यति जस्तो मिथकमा विश्वास गरेको भनेर खिसी गरेका छन् त अरूले यसलाई उट्प्ट्याङ्गको संज्ञा दिएका छन्।
त्यसै गरी केहीले भने एक खुट्टे यति हो कि क्या हो भनेर प्रश्न गरेका छन्।
अनि, तपाईँले टिन टिन शृङ्खलाका कमिक्सहरु पढ्नु त भएकै होला। ट्विटरमा थुप्रैजनाले “टिन टिन इन् टिबेट” फेरी पढ्नु पर्ला भन्दै भारतीय सेनाको उक्त ट्विट प्रति कटाक्ष गरेका छन्।
कोही भने अलिक गहिरेर यसलाई हेर्नुपर्ने बताउँछन्। @RunMUFC का अनुसार यो कि त हिमाली भेगमा पाइने खैरो भालु वा तिब्बती निल भालुको पद चिन्ह हो।
बफालो विश्वविद्यालयको कलेज अफ आर्ट्स एन्ड साइन्सेसमा सह प्राध्यापक रहेकी चार्लोट लिन्क्विवेस्टका अनुसार यतिको कथा जैविक रूपमा स्थानीय भालुहरूसँग मेल खाने गरेको छ।
उनले सन् २०१७ मा प्रकाशित एक अध्यनमा उक्त कुराको चर्चा गरेकी थिइन्।
थप रमाइला ट्विटहरू:
