मेलबर्न विश्वविद्यालयको ग्राटन इन्स्टिट्युटले हालै प्रकाशित गरेको एक रिपोर्ट अनुसार उच्च माध्यमिक विद्यालयमा कम अङ्क ल्याएर उत्तीर्ण पुरुषहरूले विश्वविद्यालयमा अध्ययन गर्नुको सट्टा टेफमा तालिम लिए औसत रूपमा झनै धेरै पैसा कमाउन सफल रहन्छन्।
अस्ट्रेलियामा टेफ भनेर चिनिने र व्यावसायिक तालिम प्रदान गर्ने यस्ता सार्वजनिक शिक्षण संस्थाहरूमा विशेष गरी इन्जिनियरिङ, निर्माण र वाणिज्य सङ्कायहरूमा तालिम लिने पुरुषहरूको औसत कमाई विश्वविद्यालयमा अध्ययन गर्ने मानिसहरूको भन्दा बढी रहेको उक्त प्रतिवेदनले जनाएको हो।
भिक्टोरियन टेफ एसोसिएसनका कार्यकारी निर्देशक एन्ड्रु विलियमसन टेफहरु सार्वजनिक संस्था भएका कारण उनीहरूले बढी उत्तरदायित्व बहन गर्ने कुरामा जोड दिन्छन्।
“टेफ सरकारी स्वामित्वमा हुने भएकाले त्यहाँ अध्ययन वा तालिम लिनुको अर्थ तपाईँले एक विश्वास योग्य सेवा प्रदायकबाट उच्च कोटिको सेवा पाउनुहुन्छ,” उनी भन्छन्।

तर, विगत एक दशकको तथ्याङ्कलाई केलाउने हो भने अस्ट्रेलियाका विश्वविद्यालयहरूमा पढ्ने मानिसहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ।
अघिल्लो दशकको तुलनामा विगत १० वर्षमा विश्वविद्यालयहरूमा भर्ना हुने मानिसहरूको सङ्ख्या एक तिहाइ भन्दा बढेको पनि उक्त प्रतिवेदनले बताएको छ।
त्यसरी विद्यार्थी सङ्ख्या बढ्नुमा बाहिरबाट आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बहावमा भएको वृद्धिको अलावा स्थानीय मानिसहरूमा विश्वविद्यालय प्रति लगाव बढ्नु मानिएको छ।
अस्ट्रेलियाका उच्च माध्यमिक तह उत्तीर्ण विद्यार्थीले विश्वविद्यालयमा भर्ना हुन एटार भनेर चिनिने अस्ट्रेलियन टर्सरी एड्मिसन र्याङ्कमा राम्रो अङ्क ल्याउनु पर्ने हुन्छ।
०.०० देखि ९९.९५ सम्म वर्गीकरण हुने एटारमा, आफूले भनेको विश्वविद्यालयमा र आफूलाई मन परेको कोर्समा भर्ना हुन उच्च अङ्क प्राप्त गर्नुपर्ने हुन्छ।
तर, विश्वविद्यालय अध्ययन प्रति स्थानीयको लगाव र एटार सम्बन्धी सरकारी नीतिमा खुकुलोपनका कारण टेफमा तालिमका लागि जान चाहने मानिसहरू लगातार रूपमा घटिरहेको पनि ग्राटन इन्स्टिट्युटको “रिस्क एण्ड रिवर्ड” रिपोर्टमा बताइएको छ।

पछिल्लो पाँच वर्षको आँकडालाई आधार बनाउँदै उक्त प्रतिवेदनले इन्जिनियरिङ, निर्माण र वाणिज्य सङ्कायहरूमा तालिम लिने मानिसहरूको सङ्ख्यामा करिब ४३ प्रतिशतले ह्रास आएको तथ्य उजागर गरेको छ।
अस्ट्रेलियामा दक्ष जनशक्तिको अभाव रहेको कुरा प्राय: जसो आजकाल धेरै सुनिने गरेको अवस्थामा सङ्घीय सरकारद्वारा यसलाई सम्बोधन गर्ने क्रिया आफ्नो प्राथमिकतामा पार्न खोजेको देखिन्छ।
अघिल्लो हप्ता राज्य सरकारहरूसँगको बैठक - कोयागमा पनि सङ्घीय सरकारले यस विषयलाई ठुलै मुद्दा बनाएको थियो।
त्यस बैठकको पूर्व सन्ध्यामा प्रधानमन्त्री स्कट मरिसनले टेफको तारिफ गर्दै युवाहरूलाई प्राविधिक शिक्षा प्रणालीमा आबद्ध हुन आग्रह गरेका थिए।
“टेफ पनि युनी जत्तिकै राम्रो छ।”
“मैले यस्ता मानिसहरू भेटेको छु जसले आफ्नो व्यावसायिक शिक्षा र प्राविधिक विशिष्टताको प्रयोग गर्दै आफ्नो व्यापार-व्यवसायमा उत्कृष्ट नतिजा हासिल गरेका छन्,” उनले भने।

ग्राटनका उच्च अध्ययन कार्यक्रमका निर्देशक एन्ड्रु नर्टनका अनुसार मानविकी र विज्ञान सङ्कायमा सामान्य विषय लिएर पढ्ने मानिसहरूलाई रोजगारीका अवसरहरू प्राप्त गर्न निकै अफ्ठेरो भइरहेको छ।
“यदि उनीहरूले ती विषयको सट्टामा व्यावसायिक कोर्सहरू गरेका भए उनीहरूको रोजगारीका अवसर र कमाई दुवै नै बढ्नेमा दुई मत छैन।
“विशेष गरेर युवाहरूको परिप्रेक्ष्य यो कुरा अझै सही देखिएको छ,” नर्टनले उक्त रिपोर्टबारे भने।
तर, महिलाहरूको हकमा भने यो लागू हुँदैन।
“उच्च माध्यमिक तहमा त्यति राम्रो अङ्क नल्याएका महिलाहरू कि त शिक्षण पेसा तिर ढल्किनछन् कि त नर्सिङ पढ्न खोज्छन्। अनि, उनीहरूको रोजगारीको सम्भावना पनि पुरुष समकक्षीहरूको दाँजोमा निकै छ र व्यावसायिक शिक्षामा जाने महिलाहरूभन्दा पनि बढी उनीहरूको कमाई हुने देखिएको छ।”

अभिभावक र विश्वविद्यालय दुवै दोषी
अस्ट्रेलियामा अति आवश्यक रहेका विभिन्न क्षेत्रहरूमा तालिम लिने मानिसहरू घट्दै जाँदा अर्को तिर भने सन् २०२३ सम्ममा यहाँ १० लाख जतिको हाराहारीमा काम गर्ने दक्ष जनशक्ति आवश्यकता पर्ने एक अनुमान छ।
यो महिनामा अन्तिम हप्तामा आयोजना हुन गइरहेको “राष्ट्रिय सीप सप्ताह”ले पनि यसै विषयमा केन्द्रित हुने बताइएको छ।
हरेक वर्ष आयोजना हुने उक्त सप्ताहका संस्थापक ब्रायन वेक्सह्याम यस्तो स्थिति हटाउन अभिभावकहरूले मुख्य भूमिका खेल्नुपर्ने विचार राख्दछन्।
“हाम्रो लागि प्रमुख चुनौती भनेकै अभिभावकहरूले आफ्ना सन्तानको भविष्य विश्वविद्यालयले दिने प्रमाणपत्रमा मात्र देख्नु हो।”
“केहीका लागि त्यो सत्य भए पनि सबैका लागि त्यो सोच राख्न मिल्दैन,” उनले भने।
धेरै विद्यार्थीहरूको पठन-पाठन प्रति झुकाव नभएर उनीहरू व्यावहारिक ज्ञानका भोगी हुने पनि वेक्सह्यामको भनाई छ।
“बिना सङ्कोच भन्नुपर्दा यस्तो हुनुमा विश्वविद्यालयहरू पनि उत्तिकै दोषी छन्; पढ्न आउने विद्यार्थी आफू सुहाउँदो नभए तापनि विश्वविद्यालयहरू उनीहरूलाई आफूकहाँ भर्ना हुन आउन उक्साई रहन्छन्।”
“एटारमा ५० अङ्क पाउनेहरू समेतलाई भर्ना गरेर विश्वविद्यालयहरूले के गर्न खोजेका हुन् बुझ्न गाह्रै छ,” उनले अगाडी थपे।

तर, विश्वविद्यालयहरू भने आफ्ना स्नातकहरूको रोजगारी पाउने सम्भावना राम्रै रहेकोमा जोड दिन्छन्।
एटार कम देखिनुको अनेकौँ कारणहरू हुनसक्ने बताउँछिन्, अस्ट्रेलिया विश्वविद्यालयहरूको छाता सङ्गठन यूनिभर्सिटीज अस्ट्रेलियाकी प्रमुख क्याट्रिओना ज्याक्सन।
“एटारले सबै विद्यार्थीहरूको भाग्य निर्धारण गर्दैन - विश्वविद्यालय जाने अधिकतर विद्यार्थीहरूले सफलतापूर्वक आफ्नो अध्ययन पुरा गरेका छन्,” उनले भनिन्।
“विश्वविद्यालयबाट उत्तीर्ण हुनेहरूले आफ्नो जीवनकालभरको अवधिमा अन्य मानिसहरू भन्दा करिब १० लाख डलर कमाई गर्छन् र उनीहरूले काम पाउने अवसर पनि अन्य मानिसहरू भन्दा २.५ गुणाले बढी छ,”ग्राजुएटहरुको काम र कमाई बारे आफ्नो भनाई राख्ने क्रममा ज्याक्सनले अगाडी थपिन्।

