SKIP TO MAIN CONTENT

फास्ट फुड रेस्टुरेन्टको ड्राइभ-थ्रुमा पैसा तिर्न मोबाइल प्रयोग गरे जरिवाना हुने

ड्राइभ-थ्रुहरूमा मोबाइल फोन प्रयोग गर्ने सवारी चालकले जरिवाना तिर्नुपर्ने नियमबारे ध्यानाकर्षण गराउने प्रयास गरिएको अधिकारीहरूको भनाइ छ।

الى جانب البرجر: ماكدونالدز يبيع الخبز والحليب
Source: Photodisc

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

भिक्टोरिया प्रहरीद्वारा फास्ट फुड रेस्टुरेन्टको ड्राइभ-थ्रुमा पैसा तिर्दा आफ्नो मोबाइल फोन प्रयोग गर्ने सवारी चालकहरूले जरिवाना तिर्नुपर्ने भनी बताएपछि, यहाँको राज्य प्रहरीलाई “पैसा उठाउने” प्रयास गरेको आरोप लगाइएको छ।

गए शुक्रवार, सामाजिक सञ्जालमा भिक्टोरिया प्रहरीद्वारा एक सर्वेक्षण प्रकाशित गरिएको थियो जसमा “फास्ट फुड बिक्रेताको ड्राइभ-थ्रु प्रयोग गर्दा के मैले पैसा तिर्न आफ्नो मोबाइल फोन प्रयोग गर्न सक्छु?” भनेर सोधिएको थियो।

र, त्यसको केही दिनमै उक्त प्रश्नको जवाफ भिक्टोरिया प्रहरीद्वारा सोही पोस्टमा प्रकाशित गरिएको थियो।

प्रहरीका अनुसार गाडी चलाउँदा मोबाइल फोन हातमा लिए सवारी चालकले ४८४ डलरको जरिवानाका साथै लाइसेन्स बाट चार पोइन्ट पनि गुमाउने छन्।

ड्राइभ-थ्रुमा कसरी पैसा तिर्ने त?

भिक्टोरिया प्रहरीका अनुसार आफ्नो कार्ड वा नगदको सट्टा खानाको लागि पैसा तिर्न मोबाइल फोन प्रयोग गर्न चाहने सवारी चालकहरूले आफ्नो गाडीको “इन्जिन बन्द गर्दै, ह्यान्ड ब्रेक लगाए पछि मात्र” फोन प्रयोग गर्न पाउने छन्।

“त्यसो गर्दा तपाईँले गाडी चलाएको मानिने छैन,” प्रहरीद्वारा फेसबुकमा बताइएको थियो।

भिक्टोरियाली कानुन अनुसार पूर्ण अनुमति प्राप्त लाइसेन्स प्रयोग गर्ने सवारी चालकहरूले “ह्यान्ड्स फ्री” वा फोन राख्न मिल्ने होल्डरको प्रयोग गर्दै कल गर्न वा लिन पाउने, जिपिएस र रेडियो प्रयोग गर्न सक्दछन्।

तर सिकारु वा अस्थायी लाइसेन्स रहेका सवारी चालकहरूले त गाडी बन्द रहेको समयमा बाहेक अरू कुनै पनि अवस्थामा फोन प्रयोग गर्न पाउदैनन।

मोबाइल फोन प्रयोग सम्बन्धी मानिसहरूको ध्यानाकर्षण गराउने भिक्टोरियाली प्रहरीको पछिल्लो कदमको सामाजिक सञ्जालमा आलोचना पनि भएका छन्।

कसैले भने उक्त कानुन तर्कहीन भएको र त्यो खालि मानिसहरूबाट पैसा उठाउन मात्र प्रयोग गरिएको आरोप पनि लगाएका छन्।

Comments on Facebook
Source: Screenshot Facebook

अन्य राज्यमा यस सम्बन्धी व्यवस्था

मोबाइल फोन प्रयोग सम्बन्धी कानुन भिक्टोरिया झैँ अस्ट्रेलियाका अन्य राज्यहरूमा पनि रहेका छन्।

न्यु साउथ वेल्समा ३३४ डलर सहित सबै भन्दा कम जरिवाना रहेता पनि यस राज्यका सवारी चालकहरूले आफ्नो लाइसेन्स बाट पाँच पोइन्ट गुमाउने छन्।

सबैभन्दा बढी जरिवाना रहेको दक्षिण अस्ट्रेलियामा फोन प्रयोग गर्ने सवारी चालकहरूले ५३४ डलर जरिवानाका साथै लाइसेन्सबाट तीन पोइन्ट गुमाउने छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now