गए राति मात्र कोरोनाभाइरस निकै फैलिएको युरोपेली राष्ट्र इटालीमा ४७५ जनाको कोभीड-१९ का कारण मृत्यु भएको छ।
गत वर्षको आखिरी तिर चीनको वूहान सहरबाट सुरु भएको कोरोना सङ्कटबाट उक्त राष्ट्र बाहिर एकै दिन त्यति धेरै मानिसहरूको मृत्यु भएको यो पहिलो घटना हो।
हालसम्म इटालीमा २,९७८ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भइसकेको छ भने ३५,७१३ जना मानिस सङ्क्रमित भएका छन्।
यसअघि, इटालीमा गत आइतबार एकै दिन ३६८ जनाको कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएको थियो।
पछिल्लो तथ्याङ्कसँगै हालसम्म कोभिड-१९ बाट मृत्यु हुने मानिसहरूको कुल सङ्ख्या (८,७२५) को ३४ प्रतिशत इटालीयालीहरू रहेको बताइएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट जारी आधिकारिक सूचना अनुसार, यो समाचार तयार पारुन्जेलसम्म विश्वभर २१४,६३६ मानिसहरूमा उक्त भाइरस सङ्क्रमण देखिसकिएको छ जसमध्ये ८३,३०५ जना पूर्ण रूपमा सङ्क्रमण मुक्त भइसकेको बताइएको छ।

जर्मनी: दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा ठुलो चुनौती
उता इटालीको छिमेकी देश जर्मनीले पनि दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा ठुलो चुनौतीको रूपमा रहेको कोरोना सङ्कटसँग लड्न तयारी गरिरहेको चान्सलर एन्जेला मर्केलले बताएकी छिन।
टेलिभिजन मार्फत राष्ट्रलाई सम्बोधन गर्दै उनले आफ्ना नागरिकहरूलाई जर्मनी सरकारद्वारा चालिएका कदमहरूलाई अटेर नगर्न आग्रह गर्दै उक्त कुरा भनेकी हुन।
“अवस्था नाजुक छ। यसलाई गम्भीरतापूर्वक लिइदिनुहोस्। जर्मनी पुनर्गठनदेखि होइन, दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा ठुलो चुनौतीको सामना हाम्रो देशले गर्दैछ र हामी यसमा कत्तिको सफल हुने भन्ने कुरा सबैको एकतामा भर पर्नेछ,” उनले भनिन्।
हालसम्म जर्मनीमा ८,१९८ जना सङ्क्रमित भएको पुष्टि भइसकेको छ भने कोभीड-१९ को कारण त्यहाँ १२ जनाले आफ्नो ज्यान गुमाइसकेका छन्।
सङ्क्रमणबाट अफ्रिकामा पहिलो मृत्यु

बुधवार नै अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमणबाट पहिलो मृत्यु दर्ता गरिएको छ।
बुकिर्नो फासोका एक उपल्लो दर्जाका राजनीतिज्ञले कोभिड-१९ का कारण आफ्नो ज्यान गुमाएको बताइएको छ।
यसैबिच, डब्लुएचओका प्रमुख तेद्रोस अधाम्नोम घेब्रेयेसस्ले जेनेभामा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा “अफ्रिकाको बिउँतिने बेला आएको” बताएका छन्।
“हामीले अन्य देशहरूमा देखिसकेका छौँ कि कसरी एक निश्चित विन्दु पुगेपछि भाइरसले आफ्नो गति बढाउँछ,” उनले भने।
अमेरिकी-क्यानडेली सिमाना, सवारीसाधन कारखाना बन्द
अमेरिकाले आफ्नो उत्तरी छिमेकी क्यानडासँगको सबै नाकाहरू बन्द गरिएको बताएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त बन्द आगामी ३० दिन भन्दा बढी समयका लागी कायम गरिनु नपर्नेमा आसा व्यक्त गरेका छन्।
“मेरो बिचारमा ३० दिन र आसा गर्रौं कि यो ३० दिनको अवधिमामा हामी निकै सुधारिएको अवस्थामा हुनेछौँ,” व्हाइटहाउसमा पत्रकारहरूसँग बोल्दै उनले भने।
अमेरिकाकै डेट्रोइट सहरमा रहेका तीन प्रमुख सवारीसाधन निर्माताहरूले कामदारहरूलाई सङ्क्रमणबाट बचाउन भन्दै आ-आफ्नो कारखाना बन्द गर्ने सहमति गरेको छन्।
युकेमा स्कूलहरू बन्द
ब्रिटिस प्रधानमन्त्री बोरिस जनसनले अनिश्चित कालका लागि संयुक्त अधिराज्यभरका विद्यालयहरू बन्द गरिएको घोषणा गरेका छन्।
बेलायतमा “सोचेभन्दा ज्यादा तीव्र रूपमा सङ्क्रमणको गति बढेको” भन्दै उक्त कदम चालिएको बताइएको छ।
कोरोना सङ्कटसँग लड्न आफूले थप व्यवस्था चाडै गर्ने पनि जनसनले बताएका छन् र उनले अवकाश प्राप्त स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन आग्रह समेत गरे।
अस्ट्रेलिया: सरकार र ब्याङ्कहरू बिच वार्ता
घोषणा हुने तयारीमा रहेको भनिएको अर्वौँ डलरको नयाँ राहत प्याकेजबारे सङ्घीय सरकार र ठुला ब्याङ्कहरू बिच हाल वार्ता जारी रहेको बताइएको छ।
सरकारले छिट्टै घोषणा गर्न लागेको उक्त नयाँ आर्थिक प्याकेजमा साना तथा मझ्यौला व्यापार-व्यवसायहरूलाई बन्द हुनबाट रोक्न कर्जा माफ गर्ने लगायतका प्रावधानहरू रहने बताइएको छ।
कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।
यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।
