आगामी सेप्टेम्बर पछि जबकीपर र जबसीकर भत्ता बुझिरहेका मानिसहरूको आर्थिक स्थिति के हुने भन्ने चिन्ता व्याप्त हुँदै गर्दा मङ्गलवार ट्रेजरर जस फ्राइडेनबर्गसँग मिलेर संयुक्त घोषणा गर्ने क्रममा प्रधानमन्त्री स्कट मरिसनले ती भुक्तानीहरू घट्ने तर तिनका समयावधि भने बढाइने बताएका हुन्।
परिवर्तित योजना अनुसार, जबकीपर भनिने तलब बापतको सरकारी आर्थिक सहायता घटेर मार्च २०२१ सम्म पाक्षिक रूपमा १,२०० डलर कायम हुनेछ र तत्पश्चात् १,००० डलर कायम हुनेछ।
प्रति हप्ता २० घण्टा भन्दा कम काम गर्नेको हकमा भने सो भुक्तानी पाक्षिक रूपमा ७५० डलर पुग्नेछ।
तर मरिसनले ती पार्ट टाइम कामदारहरूले उनीहरूको रोजगारदाताहरूबाट सरकारी अनुदानमा थप हुने गरी तलब पाउने आसा आफूले लिएको बताएका छन्।
परिमार्जित व्यवस्थाबाट लाभ लिन व्यवसायहरूले पुनः जबकीपरका लागि आफ्नो योग्यता साबित गर्नुपर्नेछ।
जबकीपरका लागि योग्य हुन साना रोजगारदाताहरूले आफ्नो व्यापार ३० प्रतिशतले घटेको देखाउनु पर्नेछ भने ठुला व्यवसायहरूले आफ्नो व्यापारमा कम्तीमा पनि ५० प्रतिशतले ह्रास आएको साबित गर्नुपर्नेछ।

यसै गरी, जबसीकर भनिने बेरोजगार भत्तामा हाल जोडिँदै आएको कोरोनाभाइरस पूरक रकम ५५० डलरबाट २५० डलरमा झर्नेछ र यो व्यवस्था भने यस वर्षको अन्त्यसम्म कायम हुने प्रधानमन्त्रीले बताएका छन्।
जबसीकरमा रहेकाहरूले सरकारी भत्तामा कुनै फरक नपर्ने गरी पाक्षिक रूपमा ३०० डलरसम्म अतिरिक्त कमाई गर्न सक्ने पनि बताइएको छ।
जबसीकर बेरोजगार भत्ताको स्थायी दरका सम्बन्धमा भने आगामी अक्टोबर महिनामा वार्षिक बजेट घोषणा मार्फत थप जानकारी उपलब्ध हुने अपेक्षा गरिएको छ।
स्कट मरिसनका अनुसार हाल थाहा भएको जानकारीका आधारमा यो घोषणा गरिएको र आगामी दिनहरूमा पनि कोरोनाभाइरस पूरक भुक्तानी आवश्यक पर्न सक्ने बारे आफूहरूमा द्विविधा नरहेको स्पष्ट पारेका छन्।

यसका साथै उनले भने कि अस्ट्रेलियालीहरूलाई यी दुवै कार्यक्रमहरू अस्थायी हो भन्ने कुराको राम्रो हेक्का छ।
"उनीहरूलाई हालको योजना मासिक रूपमा ११ अर्व डलर उडाउँदै लागि सदाका लागि हुन सक्दैन भन्ने थाहा छ," प्रधानमन्त्री मरिसनले भने।
ट्रेजरीका अनुसार जबकीपर पाउने मानिसहरूको सङ्ख्या डिसेम्बर चौमासिक अवधिमा घटेर करिब १४ लाखको हाराहारीमा पुग्ने छ र मार्च २०२१ सम्ममा १० लाखमा झर्ने अनुमान उसको छ।
मार्च महिना यता, हालसम्म करिब ३५ लाखले जबकीपर भुक्तानीबाट लाभ प्राप्त गरेको सरकारले बताएको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।
रुघा खोकी वा चिसो लागेको लक्षण देखा परे तपाईंले घरमा नै बसेर आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गरी परीक्षणका लागि समय मिलाउनुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो भने वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा भने ००० (ट्रिपल जिरो)मा फोन गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

