“जबकीपर” योजना, कोरोनाभाइरस महामारी सुरु भएपछि प्रधानमन्त्री स्कट मरिसन तथा ट्रेजरर जस फ्राईडेनबर्गले एक ऐतिहासिक घोषणा मार्फत अस्ट्रेलियाली कामदारहरूलाई रोजगारदाताहरूसँग सम्बन्ध बनाइराख्न र स्थितिमा सुधार हुँदै जाँदा काममा फर्किन सहज होस् भन्ने हेतुले अघि सारेको सरकारी कार्यक्रम हो।
जबकीपर कर रहितको सुविधा होइन
तर, कोरोनाभाइरस महामारीका कारण, मार्च १ तारिख यता आफ्नो रोजगारी गुमाउन पुगेका अस्ट्रेलियाली नागरिक तथा स्थायी भिसामा रहेकाहरूले प्राप्त गर्न सक्ने जबकीपर भुक्तानी, कर रहितको सुविधा भने होइन।
अस्ट्रेलियाली कर कार्यालय (एटीओ)का अनुसार, जबकीपर अन्तर्गतका भुक्तानीहरू सामाजिक सुरक्षा प्रयोजनका लागि आयका रूपमा लिइन्छ।

एटीओ भन्छ कि तपाईंले अन्य आय सहायता सम्बन्धी भुक्तानीहरू पाउनुहुन्छ भने, त्यस बापत प्राप्त हुने रकम बारे तपाईंले सर्भिसेस अस्ट्रेलियालाई जानकारी गराउनुपर्छ।
“त्पाईंले आफ्नो आयको विवरण नदिए वा जबसीकर पेमेन्ट रद्द नगरेमा तपाईंले (बढी भएको) भुक्तानी फिर्ता दिनु पर्ने हुन्छ।”
कर सहितको १,५०० डलर जबकीपर भुक्तानी पाक्षिक रूपमा पाउन भने तपाईंले केही मापदण्डहरू पुरा गरेको हुनुपर्छ। यसबारे थप जानकारी यहाँ छ।
यसका अतिरिक्त तपाईंले जबकीपर भुक्तानी पाउनुहुन्छ कि हुँदैन भन्ने कुरा तपाईँको रोजगारदातामा पनि निर्भर हुन्छ।

जबकीपर भुक्तानीका लागि योग्य हुन, रोजगारदाताहरूले कोरोनाभाइरस प्रकोपका कारण, आफूहरूको व्यवसाय अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशत भन्दा बढी घटेको देखाउन सक्नुपर्नेछ।
एक अर्व भन्दा बढीको व्यापार गर्ने रोजगारदाताहरूले चाहिँ आफ्नो आर्थिक कारोबार ५० प्रतिशतले घटेको देखाउन सके मात्र जबकीपर भुक्तानीका लागि योग्य हुन सक्नेछन्।
सबै रोजगारदाता जबकीपर योजनामा सहभागी नहुन पनि सक्छन्
तर, सबै रोजगारदाता जबकीपर योजनामा सहभागी नहुन पनि सक्छन् - यस्तो अवस्थामा भने ती रोजगारदाताले तपाईँको नाममा जबकीपर भुक्तानी दाबी गर्न पाउँदैनन्।

यदि तपाईँको रोजगारदाता जबकीपर योजनामा सहभागी भएका छन् भने एटीओका अनुसार उनीहरूले तपाईँलाई “जबकीपर पेमेन्ट - एम्प्लोयी नोमिनेसन नोटिस” उपलब्ध गराएको हुनुपर्नेछ।
आफ्नो रोजगारदाता मार्फत भुक्तानी पाउन तपाईंले उक्त फारममा सही गरेर उनीहरूलाई सो पत्र बुझाउनुपर्छ।
तपाईँ जबकीपरका लागि योग्य हुनुहुन्छ र पाक्षिक रूपमा १,५०० डलर भन्दा कम आय आर्जन गर्नुहुन्थ्यो भने पनि तपाईँका रोजगारदाताले तपाईँलाई कर सहित १,५०० डलर भुक्तानी गर्नै पर्छ, अन्यथा उनीहरू जबकीपर बापतको भुक्तानीका लागि योग्य हुँदैनन्।
तपाईँ एक भन्दा बढी रोजगारदाताका लागि काम गर्नुहुन्छ भने केवल एकले मात्र तपाईँको नाममा जबकीपर भुक्तानीका लागि दाबी गर्न पाउँछन्।

अनि तपाईँ एक ठाउँमा स्थायी कर्मचारीका रूपमा कार्यरत हुनुहुन्छ तर अर्को ठाउँमा अस्थायी कामदारका रूपमा काम गरिरहनु भएको भए तपाईंले अनिवार्य रूपमा स्थायी रोजगारदातालाई जबकीपर भुक्तानीका लागि रोज्नु पर्ने पनि एटीओले बताएको छ।
अस्ट्रेलियाली कर कार्यालयका अनुसार तपाईँलाई जबकीपर भुक्तानीको सम्बन्धमा कसैले केही अनुचित काम गरे जस्तो लागे, उसको वेबसाइट मार्फत एटीओलाई तपाईँ त्यसबारे सूचित गर्न सक्नुहुन्छ।
जबकीपरमा सहभागी हुनसक्ने योग्य रोजगारदाताका कर्मचारीहरूको उदाहरण
वसन्त, अमर, लिला र अङ्कुर सबै जना एउटै रोजगारदाताका लागि काम गरिरहेका छन्। उनीहरूको रोजगारदाताले चारै जनाको पक्षबाट जबकीपर भुक्तानी दाबी गरेका छन् र त्यसै भएर उनीहरू चारै जनाले हरेक १५-१५ दिनमा कर सहित कम्तीमा पनि १,५०० डलर भुक्तानी पाउनुपर्छ। वसन्तले पाक्षिक रूपमा कर सहित १,८०० डलर भुक्तानी आफ्नो रोजगारदाताबाट पाउँछन्। साबिक बमोजिम नै काम गरिरहेका उनले प्राप्त गर्ने १,८०० डलर वसन्तको नियमित तलब हो। उनको रोजगारदाताले वसन्तलाई जबकीपर भुक्तानी बापत उसलाई प्राप्त हुने १,५०० डलरमा ३०० डलर थपिदिएर कुल १,८०० डलर भुक्तानी दिन्छ। यस्तै अमरले भने साधरणतया ९०० डलर कर तथा हेक्स-हेल्प बापत उनले सरकारलाई फिर्ता गर्नुपर्ने रकम कट्टा हुनु अघि तलब बापत पाउँछन्। तर, जबकीपर योजना अन्तर्गत भने उनले १,५०० डलर कर तथा हेक्स-हेल्प कट्टा हुनु अघि पाउनेछन्। लिलालाई भने काममा नआउन भनिए पनि निकालिएको छैन। त्यसले उनले हरेक १५ दिनमा कम्तीमा पनि १,५०० डलर कर तथा अन्य कट्टा हुने रकम काटिनु अघि प्राप्त गर्छिन्। अङ्कुर १ मार्च २०२० मा गर्थ्यो तर २० मार्चमा उसलाई कामबाट हटाइयो। अनि फेरी अप्रिल १ देखि काममा उसलाई राखियो। त्यसैले अङ्कुरले हरेक १५-१५ दिनमा कम्तीमा पनि १,५०० डलर कर तथा अन्य शुल्क काटिनु अघि पाउँछन्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

