सोमबार बिहान मेलबर्न स्थित प्रसिद्ध होसियर गल्लीमा भएको एक हातपात पछि जोनथन डिकलाई अन्य दुईजनाले नियन्त्रणमा लिएर प्रहरीलाई बोलाएका थिए।
जोनथन माथि आफ्नो भाइ डेभिड डिकलाई सन् २०१७ को फेब्रुवरी ३ मा पूर्वी मेलबर्नको एक शपिङ्ग सेन्टरमा तरबार प्रयोग गरेर मारेको अभियोग छ।
सोमबार बिहानको घटनामा रगताम्मे भएपछि प्रहरीले जोनथन डिकलाई अस्पताल लागेको पनि बताइएको छ।
डिकलाई नियन्त्रणमा लिने ती दुई व्यक्तिहरूले अनुसन्धानमा सघाइरहेको भिक्टोरिया प्रहरीले जनाएको छ।

उक्त घटना भएको स्थान माथि रहेका अपार्टमेन्टहरू मध्येको एकमा बस्ने महिलाका अनुसार एकाबिहानै “त्यति धेरै” प्रहरीहरू उनको मूल ढोका बाहिर देखेर उनी तर्सेकी थिइन्।
“म यहाँ बस्न थालेको १२ वर्ष भयो तर मैले अहिलेसम्म कहिल्यै त्यति धेरै प्रहरीहरू हाम्रो ढोका अगाडी देखेकी थिइन,” उनले एएपीलाई बताइन्।
“होसियर लेन एकदमै लोकप्रिय छ र धेरै प्रहरीहरूको उपस्थिति यहाँ हुनु ठुलो कुरा होइन तर आज बिहानको कुरा अलगै थियो।”

एक लाख डलर पुरस्कार
आफ्नो भाइको कथित हत्या गरेर हालसम्म प्रहरीको आँखामा छारो हाल्दै फरार रहन सफल जनथन डिक बारे सही सूचना दिने मानिसलाई अघिल्लो वर्ष भिक्टोरियाको राज्य प्रहरीले १००,००० डलर पुरस्कार दिने घोषणा गरेको थियो।
आज बिहान डिकलाई पक्रन सघाउने ती दुई व्यक्तिहरूले उक्त पुरस्कार बाँडीचुडी पाउन सक्ने बताइएको छ।
भिक्टोरिया प्रहरीका प्रमुख ग्राहम आश्टनका अनुसार डिकलाई पक्रन सहयोग गर्ने दुइजना मध्ये एक ती फरार अभियुक्तलाई पहिलेदेखि नै चिन्ने जान्ने मानिस हुन्।
उनका अनुसार, ती व्यक्ति अरूहरूसँग हिँडिरहेको बेला एक्कासि जनथन डिकलाई देखेका थिए।
आमालाई चैन
आफ्नो जेठो छोरालाई प्रहरीले नियन्त्रणमा लिएको खबर पाए पछि जनथन र डेभिड डिककी आमा क्यारोल क्लोकले आफूलाई बल्ल चैन भएको एक विज्ञप्ति मार्फत जनाएकी छिन्।
“मेरो छोरा भेट्टाइएको खबरले म दङ्ग छु। उसलाई जिउँदो भेट्टाइयोस् भन्ने मेरो अभिलाषा थियो र यस खबरले मलाइ सान्त्वना दिएको छ,” उनले भनिन्।
भिक्टोरियाको प्रहरी र आफ्ना साथीभाइहरूलाई पनि यस कठिन अवस्थामा आफूलाई साथ दिएको भन्दै धन्यवाद ज्ञापन गरेकी छिन्।
“सबैले साथ दिएको कारण मैले कहिल्यै पनि एक्लो महसुस गर्नु परेन।“
Image
घटनाक्रम:
२०१७ फेब्रुवरी ३: पूर्वी मेलबर्न स्थित एक शपिङ्ग सेन्टरको लिफ्टबाट बाहिर निस्कँदै लाग्दा धारिलो हतियार प्रयोग गरी डेभिड डिकको हत्या
२०१७ फेब्रुवरी ८: सिसिटिभीमा कैद भएको दृश्य अनुसार डेभिड डिकको हत्यामा प्रयोग भएको जस्तै धारिलो हतियार उनकै सहोदर दाजु जोनथनले केही दिन अघि बोकेको देखिएपछि प्रहरीले आत्मसमर्पण गर्न उनलाई आग्रह
२०१७ फेब्रुवरी १३: जोनथन डिकको बेवारिसे कारबाट बरामद
२०१७ मार्च १: जोनथन डिककी आमा क्यारोल क्लोकद्वारा उनलाई आत्म्समर्पर्ण गर्न भावविव्हल अपिल
२०१८ अगस्ट २३: जोनथन डिकद्वारा आफ्ना एक पूर्व मित्रलाई घन प्रयोग गरी आक्रमण
२०१८ अक्टोबर १६: भिक्टोरिया प्रहरीद्वारा जोनथन डिक बारे सही सूचना दिनेलाई १००,००० डलर पुरस्कार दिने घोषणा
२०१९ अगस्ट १९: जोनथन डिक मेलबर्न सहर स्थित प्रख्यात होसियर लेनबाट पक्राउ
