
सन् २००० तिरबाट राजनीतिमा लागेका ५० बर्षीय स्कट मोरिसन, कुनै जमानामा न्युजिल्याण्डको पर्यटन तथा खेलकुद सम्बन्धी नीति निर्माण गर्ने एकाइमा उच्च अधिकारी थिए।
"१००% प्योर न्युजिल्याण्ड" भन्ने अभियानको सफलताको श्रेय पाएका मोरिसन २००६ तिर भने अस्ट्रेलियाको पर्यटन हेर्ने कार्यालय - टुरिजम अस्ट्रेलियाको पहिलो निर्देशक हुन पुगे।
उनले त्यसबेला "सो व्हेर द ब्लडी हेल आर यु" भन्ने विवादास्पद विज्ञापन अभियान स्वीकृत गरेर चर्चामा आएका थिए।
पछिल्लो समयमा आएर क्यानबेर्रा प्रेस ग्यालेरीले उनलाई "स्कोमो" भनेर बोलाउन थालेपछि प्रधानमन्त्री टर्नबुलले उनको नयाँ छोटो नामलाई अझ बढी लोकप्रिय बनाउन सहयोग गरे - बेला बेलामा आफैँले "स्कोमो" भनेर मोरिसनलाई सम्बोधन गरेर।
सिड्नीको ब्रोण्टे नामक उपनगरमा हुर्केका मोरिसनले सन् २००१ को सङ्घीय चुनाव तथा सन् २००३ को न्यु साउथ वेल्सको राज्य चुनावका दौरानमा लिबरल पार्टीको प्रचार प्रसारको जिम्मेवारी हेरेका थिए।
किशोरावस्था देखिकी आफ्नी प्रेमिका जेन्नीसंग २१ बर्षको उमेरमा विवाह गरेका मोरिसनले सन् २००७ बाट पूर्ण रुपमा सङ्घीय राजनीतिमा होमिए। सन् २००८मा म्याल्कम टर्नबुलको तत्कालिन छायाँ सरकारको आवास तथा स्थानीय निकाय हेर्ने जिम्मा पाएपछि उनको राजनैतिक उचाई बढ्न थाल्यो।

सन् २००९ मा टोनी एबटले म्याल्कम टर्नबुललाई लिबरल पार्टीको संसदीय दलको नेताबाट हटाएर आफु विपक्षीको नेता बने। एबटलाई मोरिसनले कत्तिको प्रभाव पारेका थिए भन्ने कुरा एबटले उनलाई नयाँ छायाँ मन्त्रीपरिषदमा अध्यागमन तथा नागरिकता हेर्ने अधिकारीका रुपमा नियुक्त गरेबाट थाहा हुन्छ।
त्यस बेला "स्टप द बोट्स" अथवा "डुंगाहरु रोक" भन्ने नारा अस्ट्रेलियाको सङ्घीय संसदमा गुन्जयामान गरेर मोरिसनले तात्कालिन लेबर सरकारलाई आच्छु-आच्छु मात्र पारेनन् लेबरका शिर्ष नेताद्वय केभिन रड तथा जुलिया गिल्लार्ड बीच ठुलै खाडल सिर्जना गर्न सफल रहे। त्यसैको आडमा लिबरल पार्टी सन् २०१३को आम निर्वाचनमा लेबरलाई हराउन सफल भयो र स्कोमो बने अध्यागमन मन्त्री।

उनले तत्काल "अपरेसन सोभर्जिन बोडर्स" भन्ने सरकारी कार्य नीति तर्जुमा मात्र गरेनन् त्यसको सफल प्रक्ष्यपण समेत गरे। अपरेसन सोभर्जिन बोडर्स मोरिसनका अन्य कार्यहरु जस्तै विवादास्पद भएता पनि सफल थियो। सैनिक परिचालन गरेर उनले कुनै पनि शरणार्थी बोकेर आउने डुंगालाई अस्ट्रेलियाको पानीमा छिर्न नदिने उक्त कडा नीतिले उनको छबि अस्ट्रेलियनहरुको अगाडी दमदार बनाउन सहयोग गर्यो।
कडा तथा निर्दयी भनेर विपक्षीहरुले बारम्बार कटाक्ष गर्दै गर्दा स्कोमो सन् २०१४ को अन्त्य तिर सामाजिक सेवा मन्त्रालय सम्हाल्न पुगे र त्यसलाई आफ्नो छवि सुधार्ने मौकाको रुपमा लिए।

मोरिसनको सबैभन्दा चम्किने पल भने दुई बर्ष अघि टर्नबुलले उनलाई आफ्नो सरकारमा ट्रेजररको रुपमा नियुक्ति दिएपछि आएको हो। ट्रेजररको रुपमा तीन वटा बजेटमा उनले सरकारको ढुकुटी भर्ने कार्यलाई तिब्रता मात्र ल्याएनन्, टोनी एबट तथा अघिल्ला ट्रेजरर जो हकीको जोडीले बिगारेको लिबरल सरकारको छबि सुधार्ने गाह्रो तर महत्वपूर्ण काम गरे।
