यस डिसेम्बर र जनवरी महिनामा देशव्यापी रूपमा आयोजना भएका विभिन्न साङ्गीतिक महोत्सवहरूमा लागु पदार्थ चक्कीको कथित प्रयोगका कारण कम्तीमा ६ जनाको मृत्यु र केही अन्य गम्भीर रूपमा बिरामी भएको समाचारहरू आउँदा महोत्सवहरूमा मानिसहरूले के चक्की खाइरहेको बारे जाँच गराउन मिल्नुपर्ने माग बढेका हुन्।
विशेष गरी यदि युवाहरूले कुनै अवैध चक्की लिनु अगाडी उक्त चक्कीमा के रहेको र त्यो खाए उनीहरूको शरीरमा कस्तो असर पर्ने जानकारी पाए उनीहरूको जीवन बच्न सक्ने भनाइ उक्त प्रस्तावका समर्थकहरूको रहेको छ।
तर अहिले सम्म भिक्टोरिया र न्यु साउथ वेल्स सरकार दुवैले साङ्गीतिक महोत्सवहरूमा लागु पदार्थ चक्कीहरूको जाँच नगर्ने आफ्नो अडान कायम राखेका छन्।
लागु पदार्थ प्रयोग स्वीकार
यसैक्रममा न्यु साउथ वेल्स कि प्रिमियर ग्लाडिस बेरेजिक्लियनलाई आफ्नो उक्त अडान त्याग्न आग्रह गर्ने क्रममा केही दिन अगाडी राज्यकी ग्रीन्स पार्टी सांसद केट फाहेरम्यानले आफूले पनि युवा अवस्थामा अवैध लागु पदार्थ प्रयोग गरेको स्वीकार गरेकी थिइन।
फाहेरम्यानको उक्त भनाइ पछि राजधानी सहर क्यानबेराका केही मन्त्रीहरूले पनि त्यस्तै कदम चालेका छन्।
एसीटीका न्याय मन्त्री शेन रयाटेनबरीले एमडीएमए नामक चक्की आफूले एक पटक मात्र खाएको र त्यसपछिको अनुभवका कारण आफूले फेरी कुनै अवैध चक्की नलिएको उनले बताए। मानिसहरूले लागु पदार्थ लिने प्रयास गर्नु सामान्य रहेको उनी बताउँछन्।
मन्त्री रयाटेनबरीको चक्की प्रयोग बारे भनाइ आएको केही समयमै उनका सहकर्मी र प्रहरी मन्त्री मिक जेन्टलम्यानले सन् १९७० को दशकमा आफूले गाँजा प्रयोग गरेको बताए। तर आफूले कुनै "आधुनिक" लागु पदार्थ भने कहिले प्रयोग नगरेको पनि उनले जोड दिए।
अर्का ग्रीन्स सभासद् क्यारोलाइन ली कोटरले आफूले गाँजा पिउनुका साथै गाँजा उमारेको र "एसिड" पनि प्रयोग गरेको एबीसीलाई बताइन।
एसीटीका मुख्य मन्त्री एन्ड्रयु बारले पनि आफूले गाँजा रहेको "ह्याश ब्राउनी" खाएको बताएका छन्।
बारका न्याय मन्त्री रयाटेनबरी र न्यु साउथ वेल्स ग्रीन्स सांसद फाहेरम्यानले प्रिमियर ग्लाडिस बेरेजिक्लियन समक्ष एक संयुक्त चिठ्ठी पठाउँदै राज्यका साङ्गीतिक महोत्सवहरूमा "चक्की परीक्षण" गर्न आग्रह गरेका छन्।
चक्की परीक्षणको माग किन?
न्यु साउथ वेल्समा मात्र अस्ट्रेलिया दिवसको लामो सप्ताह अन्त्यको अवधिमा २५ जना मानिसहरू औषधि सेवन सँग सम्बन्धित समस्याका कारण अस्पतालमा भर्ना गरिएका छन् भने भिक्टोरियामा यो सङ्ख्या ७ रहेको छ।
अस्ट्रेलिया दिवसका अवसरमा आयोजित साङ्गीतिक समारोहमा लागु पदार्थ आपूर्ति गरेको भन्दै ८ जना माथि न्यु साउथ वेल्स प्रहरीले आरोप लगाएको छ।

State governments are resisting calls to introduce pill testing at festivals (AAP) Source: AAP
प्रहरीले सिड्नीको ओलम्पिक पार्क, सेन्टेनियल पार्क लगायतका स्थानमा गरेको अपरेसनमा केटामाइन, एमडीएमए तथा गाँजा जस्ता अवैध लागू औषधहरू फेला परेका थिए।
यस्ता महोत्सवहरूमा एक्सट्यसीका रूपमा प्रयोग हुने लागू पदार्थहरू बेच्नेलाई २० वर्ष सम्मको सजाय दिइने भन्दै न्यु साउथ वेल्सका प्रहरी मन्त्री ट्रोय ग्रान्टले यस्तो जोखिम उठाउनु अघि धेरै सोच्न भनेका छन्।
प्रहरी कारबाही
अवैध औषधि प्रयोगका विरुद्ध कडा प्रहरी कारबाहीहरू सञ्चालन गरिएता पनि केही नेताहरूले यस्ता कारबाही भन्दा पिल परीक्षण युवा ज्यान जोगाउन बढी प्रभावकारी हुने धारणा राखेका छन्।
नयाँ वर्षमा आयोजित दुई छुट्टा छुट्टै साङ्गीतिक कार्यक्रममा दुई युवाहरूको ज्यान अवैध लागू पदार्थको प्रयोगका कारणले भएको भन्ने समाचारले फेरी एक पटक औषधि परीक्षणको विषय सतहमा ल्याएको थियो।
त्यसको दुई हप्ता नबित्दै अर्को एक सप्ताह अन्त्यको साङ्गीतिक कार्यक्रममा १९ वर्षीय युवती एलेक्स-रोस किङ्गको मृत्यु पनि लागू औषध प्रयोग कै कारण भएको भन्ने समाचार आएपछि यो विषयलाई झन् बल प्रदान गर्यो।
पाँच वटा प्रमुख लागू औषध प्रयोगका कारण ज्यान गुमाएका घटना जसले पिल परीक्षणको मुद्दा फेरी ब्युतायो: १९ वर्षीय एलेक्स-रोस किङ्ग, २२ वर्षीय जोस ट्याम, १९ वर्षीय क्यालम ब्रोस्नन, २३ वर्षीय जोसेफ फाम र २१ वर्षीय डायना न्युगेन।
तर न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरेन्जिक्लीएनले चाहिँ त्यसरी औषधिहरूका परीक्षण गरिदा उल्टो नतिजा आउन सक्ने प्रति सचेत हुनु पर्ने भन्दै उक्त सुझावलाई लिएर अनिच्छा देखाउँदै आएकी छन्।
बेरेन्जिक्लीएनले यसरी औषधि परीक्षणले प्रयोग कर्ताहरूलाई लागू औषध दुर्व्याशनिका लागी प्रोत्साहित गर्न सक्ने भन्दै परीक्षण भन्दा यस्ता औषधी निषेध गर्न तर्फ केन्द्रित हुनु पर्नेमा जोड दिएकी छन्।

NSW Premier Gladys Berejiklian said she would consider implementing pill testing if her government was shown evidence it saved lives. Source: AAP
महोत्सवहरूमा युवाहरूले सेवन गर्ने मनसायका साथ त्यस्ता औषधिहरू किन्ने गरेको भन्दै अल्कोहल एन्ड ड्रग फाउन्डेसन कि प्रवक्ता मेलिन्डा लुकास ले यदि सोही स्थानमा त्यो औषधिमा के छ भनी जानकारी दिन सकियो भने उनीहरूले सेवन गर्ने बिचार त्याग्न सक्छन् भनेकी छन्।
"यो नै अन्तिम मौका हुन्छ त्यो युवा सँग कुरा गरेर र उक्त औषधिका जोखिमका बारेमा बुझाउने। र त्यसले गर्दा उनीहरूले औषधिलाई फ्याँक्ने सम्भावना पनि हुन्छ।"
साथै लुकासले अन्य राष्ट्रहरू जस जसले पिल परीक्षण गर्ने गरेका छन् त्यहाँका नतिजा धेरै सकारात्मक भएको बताएकी छन्।
पिल परीक्षण गर्ने राष्ट्रहरू
युरोपका धेरै भागहरूमा पिल परीक्षण गर्ने गरिएको छ तर अस्ट्रेलियामा सोही प्रयोगले सकारात्मक परिणाम ल्याउला त भन्ने प्रश्नहरू आइरहेका छन्।
अस्ट्रेलियन ड्रग ल रिफर्म फाउन्डेसनका अध्यक्ष डा. एलेक्स वुड्एकले यस प्रयोगले त्यस्ता औषधी आपूर्ति गर्ने व्यक्तिहरूलाई विषादी युक्त औषधि बेच्न नदिने बिचार व्यक्त गरेका छन्।

(AAP) Source: AAP
उनले विशेष गरेर यस्ता महोत्सवहरूमा प्रयोग हुने एमडीएमए जस्ता औषधीमा विषादी युक्त मादक पदार्थहरू मिसावट भएको छ वा छैन अथवा कतिको प्रयोग धेरै हुँदैन भन्नेबारे यकिन भएमा यस्ता मृत्युहरूमा कमी हुने बताएका छन्।
युरोपेली राष्ट्रहरू नेदरल्यान्ड्स, स्विजरल्याण्ड र स्पेनमा पिल परीक्षण गर्ने गरिएको छ।
यस्तो व्यवस्था अस्ट्रेलियामा पनि लागू गर्न सकिए यस्ता साङ्गीतिक कार्यक्रमहरू धेरै सुरक्षित हुन सक्ने थिए भन्छन् डा. एलेक्स वुड्एक।