अस्ट्रेलियामा जाडो हुन्छ भन्ने सोचाइ धेरैमा नभए पनि जाडो याममा देशका कतिपय स्थानमा निकै चिसो हुने गर्दछ।
मुख्य बुँदाहरू
- अस्ट्रेलियामा घर तताउने प्रणाली स्थान र चाहना अनुरूप फरक हुन्छ
- घर बाहिर प्रयोग गरिने तताउने उपकरण घर भित्र ल्याउनु घातक हुन सक्छ
- घर मालिकहरूलाई भन्दा भाडामा बस्नेहरूलाई दिगो किसिमका विकल्पहरू सीमित छन्
- सानो परिवर्तनबाटै ऊर्जा खपत र बिजुलीको बिल कम गर्न सकिन्छ
घर तातो बनाउने प्रणाली वा हिटिङ सिस्टममा अस्ट्रेलियाका घरहरू अन्य उत्तरी गोलार्धमा रहेका राष्ट्रहरू भन्दा पछाडि नै रहेको छ।
जर्मनीबाट आएका सिड्नी निवासी डा डा. स्वेन टेस्कले यसको प्रत्यक्ष अनुभव गरेका छन्।
म घर(जर्मनी)मा जाडोले कठ्याङ्ग्रिने हुँदैन जस्तो अस्ट्रेलियामा हुन्छ। किनभने यहाँ कुनै हिटिङ सिस्टम नै जडान गरिएको हुँदैन।
"त्यसको कारणहरूमध्ये एक चाहिँ के हुन सक्छ भने त्यसरी तातो बनाउनु पर्ने समय निकै छोटो हुन्छ। त्यो बढीमा तिन महिना हुन्छ, जबकि युरोपमा, जहाँबाट म आएको छु, आठ देखि नौ महिनासम्म हुन्छ।"

सेन्ट्रलाइज्ड कि स्प्लिट सिस्टम ?
निश्चित एक स्थानको लागि जडान गरिने प्रणाली स्प्लिट सिस्टम हो भने एकै स्थानबाट पुरा घर तताउने प्रविधिलाई सेन्ट्रलाइज्ड हिटिङ सिस्टम भनिन्छ।
क्रिस बार्न्स उपभोक्ताहरूको पक्षमा वकालत गर्ने समूह चोइसका घर तताउने प्रविधि सम्बन्धी विज्ञ हुन्।
र उनका अनुसार, "यदि तपाई आफ्नो पुरा घरलाई न्यानो बनाउन चाहनु हुन्छ भने कुनै पनि किसिमको सेन्ट्रलाइज्ड सिस्टम ठिक हुन्छ।"
उनी भन्छन् स्प्लिट सिस्टमको तुलनामा सेन्ट्रलाइज्ड हिटिङ सिस्टम जडान गर्न र उपयुक्त ढङ्गबाट प्रयोग नगरिए झन् धेरै खर्च लाग्नु यसको नकारात्मक पाटो हो।
यसको लागि घरभरि स्प्लिट सिस्टम राखेर वा एक ठाउँबाट अर्को ठाउँ सार्न सकिने हिटरहरू पनि यसको विकल्प हुने उनी बताउँछन्।
"आफूले प्रयोग गर्ने स्थानमा मात्र तातो पार्न यो बढी सस्तो र कम ऊर्जा खपत गर्ने हुन्छ।"
सम्बन्धित रिपोर्ट सुन्नुहोस्:अस्ट्रेलियामा घर तताउने उत्तम उपाय के हो? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
घर तताउँदा हरित ऊर्जाको प्रयोग
कार्बन उत्सर्जन बिना नै घरलाई तताउन सकिने डा टेस्क बताउँछन्।
युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको इन्स्टिच्युट फर सस्टेनेबल फ्युचरका असोसिएट प्रोफेसर र अनुसन्धान निर्देशक डा. स्वेन टेस्क यसलाई जडान गर्नु पर्ने भएकोले भाडामा बस्नेहरूका लागि भने यसका विकल्पहरूमा त्यति सहज पहुँच नभएको भनाइ राख्छन्।
"घर मालिकहरूलाई विद्युतबाट चल्ने हिट पम्प बनाउन वा त्यसमा लगानी गर्न सम्भव रहेओ छ।
यदि घरलाई तातो बनाउन विद्युत प्रयोग गर्ने हो भने त्यो सबैभन्दा राम्रो तरिका हो र विद्युत सोलर प्यानलबाट ल्याउन सकिन्छ।"

वातावरण मैत्री घर तताउने प्रविधिको प्रयोगले दीर्घ कालमा खल्तीका लागी राम्रो गर्ने वा कम खर्च गराउने डा टेस्क बताउँछन्।
"सोलर प्यानलबाट उत्पादन हुने विद्युतको धेरै फाइदाहरू छन्: पहिलो, घर मालिकहरू आफैँले विद्युत उत्पादन गर्न सक्ने भएकोले बजारको विद्युत शुल्कबाट स्वतन्त्र हुन्छन्। दोस्रो, विद्युत भण्डारण गर्न सकिन्छ; जुन ब्याट्री सिस्टमको विकल्प हो।"
शून्य उत्सर्जनको चाहना पुरा गर्न घर मालिकलाई जस्तो भाडामा बस्नेहरूलाई सजिलो छैन।
अहिले विद्युतीय प्रणालीको प्रयोग गरिरहेकाहरूले हरित ऊर्जा प्रदान गर्ने कम्पनहरूसँग जोडिए शून्य वा निकै न्यून कार्बन उत्सर्जन हासिल गर्न सकिन्छ।
तर ग्यासद्वारा चल्ने घर तताउने प्रविधिमा कार्बन उत्सर्जन विहीन बन्ने विकल्प नरहेको डा टेस्कको भनाइ छ।
"म सिड्नीमा भाडामा नै बस्छु। हाम्रो ग्यास बोतलहरू छ, हामीले हरित बायोग्यासको बोतलहरू किन्न सम्भव छ। यद्यपि मैले व्यक्तिगत रूपमा पनि सिड्नीमा त्यसको आपूर्ति गर्ने कोही भेट्टाउन सकेको छैन।" उनी भन्छन्।
सुरक्षित हीटिङ
फायर एन्ड रेस्क्यू न्यु साउथ वेल्सका अनुसार चिसो महिनाहरूमा घरमा आगलागी हुने घटना १० प्रतिशतले वृद्धि हुने देखिएको छ। जसमा धेरै आगलागी सुत्ने कोठाहरू र बैठक कोठामा हिटर र इलेक्ट्रिक ब्लाङ्केटहरूका कारण हुने गरेको पाइन्छ।
अधिकारीहरू घर बाहिर प्रयोग हुने कुनै पनि तताउने वा पकाउने उपकरणहरूलाई घर भित्र नल्याउन सचेत गराउँछन्। जसमा कोइला, हिट बिड्स् वा एलपीजी ऊर्जाको स्रोतका रूपमा प्रयोग गर्ने उपकरणहरू पनि पर्दछन्।
यस्ता उपकरणहरू घरभित्र प्रयोग गर्न उपयुक्त हुँदैनन्। घर भित्र प्रयोग गर्दा हानिकारक ग्यास जम्मा भएर घातक नतिजा समेत ल्याउन सक्छ।
त्यस्तै प्रयोग गर्नु पूर्व निर्माण कम्पनीको सुझावहरू पनि हेर्न अधिकारीहरू प्रोत्साहित गर्दछन्।
भिन्न मौसम भिन्न आवश्यकता
बार्न्सले कसरी अस्ट्रेलियाको परिवर्तन भइरहने मौसमी अवस्थाले पनि घर तताउने प्रविधि र उपकरणहरूको छनौटलाई निर्धारण गर्छ भन्ने बारे आफ्नो भनाइ राख्छन्।
"घरलाई तातो बनाउने प्रविधिको छनौट गर्ने कुरा क्षेत्र अनुसार फरक पर्छ, राज्य- राज्य बिच नै यो धेरै फरक हुन्छ।"

"अस्ट्रेलियामा रहेका धेरै मानिसहरूलाई, घर चिसो बनाउने कुरा घर तातो बनाउने जत्तिकै वा त्यो भन्दा बढी महत्त्वपूर्ण हुन्छ। त्यसैले रिभर्स साइकल एयर कन्डिसनर पक्कै पनि यसको राम्रो विकल्प हो किनकि यसले दुवै काम गर्छ।"
कम ऊर्जा खपत गर्ने तरिका
अस्ट्रेलियन एनर्जी फाउन्डेसनले अस्ट्रेलियन क्यापिटल टेरिटरी सरकारसँग मिलेर घर भाडामा बस्नेहरूलाई निःशुल्क ऊर्जा सम्बन्धी जाँच प्रदान गर्दछ।
सो कन्ट्राकटर फाउन्डेसनका वरिष्ठ सल्लाहकार हुन् एन्ड्रु रेडावे।
उनी भन्छन् घर तताउने सम्बन्धी प्रविधिको जाँचले घर भित्र प्रयोग गरिएका उपकरणहरू र भवन बनावटको ढाँचालाई हेर्दछ।
उनका अनुसार ऊर्जा खेर नजाओस् भन्नका लागि घरहरू तताउने उपकरण सिलिङमा जडान गर्नुलाई प्राथमिकता दिइन्छ, त्यसपछि भित्ता र भुईँमा।

जुनसुकै प्रकारको तताउने प्रविधि भए पनि सही प्रयोग सबैभन्दा बढी महत्त्वपूर्ण हुन्छ।
"एउटा सजिलो सुझाव भनेको आफूलाई चाहिने भन्दा बढी स्थान नतताउने प्रयास गरौँ। यदि तपाई एउटा कोठा मात्र प्रयोग गरिरहनु भएको छ भने त्यो कोठालाई मात्र तातो बनाउने कुरा ठिक हुन्छ त्यसैले ढोका बन्द गरेर तातोलाई कोठामा मात्र सीमित गरौँ।" रेडवे भन्छन्।

ड्राउट सिलिङ भनिने अनावश्यक हावालाई रोक्ने प्रविधि घर मालिक र भाडामा बस्ने सबैका लागि उपलब्ध रहेको उनको भनाइ छ।
"ड्राउट सिलिङ जाडो मौसममा धेरै रकम खर्च नहुने गरी घरलाई तातो बनाउने प्रविधिले राम्रोसँग काम गरोस् भनेर प्रयोग गरिने उत्तम उपाय हो, र यो गर्मी याममा घरलाई चिसो बनाइराख्न पनि प्रयोग गर्न सकिन्छ।"
बार्न्स भन्छन् समग्रमा उपयुक्त तातो बनाउने प्रविधि घरको प्रकार, लगानी, दिगो ऊर्जा स्रोत र व्यक्तिगत छनौटमा भर पर्छ।
राज्य र प्रदेश सरकारहरूले परिवारहरूको किफायती ढङ्गबाट ऊर्जा प्रयोग गर्ने अभ्यासलाई प्रोत्साहन गर्न विभिन्न किसिमका सहयोग प्रस्तावहरू दिँदै आएका छन्।
घर तताउने प्रविधि सम्बन्धी कार्यक्रमहरू अन्तर्गत अपग्रेड गर्नका लागि र नयाँ उपकरणहरू खरिद गर्दा निश्चित रकम फिर्ता दाबी गर्न सकिने र आर्थिक सहयोगहरू रहेका छन्।
साथै त्यस्ता सरकारी सहयोग कार्यक्रम अन्तर्गत परिवारहरूलाई निःशुल्क विज्ञहरूको सुझाव पनि उपलब्ध गराइन्छ।
ACT: Home Energy Assessments for Renters
NSW: Rebate swap for solar and energy efficient upgrades
VIC: Power Saving Bonus
TAS: Home energy audit toolkit
WA: Distributed Energy Buyback Scheme
NT: Renewable Power Incentives
QLD: Energy-efficient air conditioning incentives
For all energy rebates and incentive programs available in your state/territory visit Department of Climate Change, Energy, the environment, and Water website.
