एन्थोनी आल्बनिजीले सन् २०२५ को सङ्घीय निर्वाचन जितेको दाबी गर्दै गर्दा, लेबरले आफ्नो दोस्रो कार्यकाल अझ बढी बहुमतकासाथ सरकार चलाउने देखिएको छ।
सिड्नीमा आफ्ना समर्थकहरू माझ बोल्दै आल्बनिजीले प्रधानमन्त्रीका रूपमा सेवा गर्न पाउनु आफ्नो जिन्दगीको सबैभन्दा ठुलो सम्मान रहेको बताएका छन्।
“यो विनम्रताको गहिरो भावना तथा जिम्मेवारीको गहन भावनाका साथ भनिरहेको छु कि आज राती मेरो पहिलो काम तपाईँ अस्ट्रेलियाका मानिसहरूलाई ‘धन्यवाद’ भन्नु छ, पृथ्वीको सर्वश्रेष्ठ देशको सेवा जारी राख्न मौका दिनुभएकोमा,” उनले भने।
“आज अस्ट्रेलियन मानिसहरूले अस्ट्रेलियन मूल्य-मान्यताहरूको लागि मतदान गरेका छन्: सबैका निम्ति निष्पक्षता, आकाङ्क्षा र अवसरका लागि।”
“अस्ट्रेलियनहरूले आफ्नो लागि एक भविष्यको लागि भोट दिएका छन् जो यी मूल्य मान्यताहरूका लागि सही छ, एउटा भविष्य जसले हामीलाई एकसाथ ल्याउँछ।”
थुप्रै राज्यहरूमा लेबर लहर उर्लेपछि पार्टीले संसद्मा थप सिटहरूका साथ बहुमतको सरकार गठन गर्नेछ।
यी सिटहरू मध्ये विपक्षी नेता पिटर डटनको क्वीन्सल्यान्ड स्थित डिक्सन निर्वाचन क्षेत्र पनि एक हो।
डटनको यो हार, इतिहासमै पहिलो पटक कुनै पनि विपक्षी नेताले सङ्घीय निर्वाचनमा गुमाएको यो पहिलो अवसर हो।
उनले लेबरकी एली फ्रान्ससँग हार व्यहोरेका हुन्।

डटनले गठबन्धनको हारको पुरा जिम्मेवारी आफूले लिएको बताएका छन्।
“हामीले यो पटकको चुनावी अभियानका क्रममा राम्रो काम गरेनौँ, यो आज राती स्पष्ट भएको छ,” उनले भने।
“मैले मेरो सार्वजनिक जीवनका क्रममा सधैँ नै हाम्रो देश र हरेक अस्ट्रेलियनका लागि राम्रो चाहेको छु।”
“यो लेबर पार्टीका लागि ऐतिहासिक अवसर हो, र हामी यो कुराको पहिचान गर्छौँ।”
चुनाव जितेसँगै लेबरले गरेका वाचाहरू तर्फ पनि अब ध्यान दिऊँ:
सङ्घीय लेबर पार्टीले बिल्डिङ अस्ट्रेलिया’ज फ्युचरलाई आफ्नो चुनावी नारा बनाएको थियो।
अनि, प्रमुख मुद्दाका रूपमा लेबरले चाइल्डकेयर सस्तो बनाउने, मेडिकेयरमा सुधार गर्ने र सुपरमार्केटहरूद्वारा चर्को रूपमा गरिने मूल्यवृद्धिलाई गैरकानूनी बनाउने प्रतिबद्धताहरू अगि सारेको थियो।
मेडिकेयरमा डक्टरहरूलाई बल्क बिलिङ लागू गर्न थप प्रोत्साहनका लागि मात्रै उसले ९ अर्ब डलर खर्चिने बताएको छ।
