अस्ट्रेलियाको प्रधानमन्त्री बन्ने बिल शर्टनको दोस्रो प्रयास पनि असफल भएपछि उनले “देशको हितको लागि” भन्दै लेबर नेताको पद बाट पछाडि हट्ने निर्णय गरेका छन्। तर मेलबर्न स्थित म्यारिबनङ नामक आफ्नो सिट चाहिँ नत्याग्ने पनि उनले बताएका थिए।
आज वरिष्ठ लेबर सांसद एन्थोनी अल्बनिजीले आफ्नो पार्टीको ‘विनाशकारी” चुनावी नतिजा पछि आफूले मात्र पार्टीलाई फेरी बलियो बनाउन सक्ने जोड दिए।
लगातार तेस्रो पटक चुनाव हार्नु धेरै गम्भीर विषय भएको उनको भनाइ थियो।

“विपक्षी समूहहरू विरुद्ध कतिको जोरदार रूपमा म प्रस्तुत हुन सक्छु भन्ने कुरा प्रतिनिधि सभामा लेबर प्रमुखको रूपमा मैले गरेको कामले पनि देखाउँछ”, ५६ वर्षीय अल्बनिजीले बताए।
“देशको हितका लागि अन्य पार्टीहरूसँग मिलेर पनि काम गर्ने क्षमता मैले राखेको छु, जसको उदाहरण पश्चिम सिड्नीमा विमानस्थल निर्माण हो।”
आफूमा केही कमजोरीहरू रहेको स्विकार्दै उनले अस्ट्रेलियालीहरूलाई घोकेको सन्देश भन्दा प्रस्ट बोल्ने मानिस मन पर्ने कारण पनि आफुलेनै लेबर पार्टीको नेतृत्व गर्नु पर्ने बताए।
“तपाईँले ममा जे देख्नुहुन्छ त्यही पाउनुहुन्छ," उनले भने।

यस अघि सन् २०१३ सालमा लेबर नेता पदको लागि अल्बनिजीले शर्टन विरुद्ध उम्मेदवारी दिएका थिए।
उक्त प्रतिस्पर्धामा उनले लेबर पार्टीका आम सदस्यहरूको बढी समर्थन पाएता पनि वरिष्ठ लेबर सांसदहरूले चाहिँ शर्टनलाई आफ्नो भोट दिए पछि, शर्टन लेबर नेता बनेका थिए।
यस पटक चाहिँ अल्बनिजी विरुद्ध वर्तमान उप-नेत्री तान्या प्लिबर्सेक र अर्का वरिष्ठ सांसद क्रिस बोवेन पनि उठ्ने देखिएको छ।
प्लिबर्सेक र बोवेनले अहिलेसम्म आधिकारिक रूपमा पार्टी नेता पदको लागि आफ्नो दाबीदारी बारे घोषणा गरेका छैनन्।
तर दुवैले उक्त विषयबारे आफ्नो परिवार र सहकर्मीहरूसँग छलफल गरेर निर्णय गर्ने बताइसकेका छन्।

सोमबार लेबर पार्टीको संसदीय समूहको बैठक बस्दै छ जसमा पार्टी नेता पद खालि भएको घोषणा र सम्भावित उम्मेदवारहरूको नाम मनोनयन गर्ने प्रक्रिया सुरु हुनेछ।
मनोनयन हुन चाहने उम्मेदवारहरूले वरिष्ठ सांसदहरू मध्ये २० प्रतिशतको समर्थन पाउनु पर्ने हुन्छ।