डेन्टल टेक्निसियनका रूपमा कार्यरत उनले एक लघु चलचित्र बनाउनुका साथै उनी फोटोग्राफर र पोडकास्ट प्रस्तोता समेत हुन्।
इन्जिनियरहरूको व्यवस्थापन सम्बन्धी विषयमा स्नातकोत्तर गर्न सन् २०१८ मा अस्ट्रेलिया आएका विकेश लाल श्रेष्ठले आफूलाई पढाइ र कामको परिधिमा मात्र सीमित राखेनन्।
नेपालमा रहँदा सिभिल इन्जिनियरका रूपमा कार्यरत रहे पनि अतिरिक्त क्रियाकलापमा धेरै समय नदिएको उनको भनाइ छ।
नेपालमा चैँ किन किन अलि अल्छी पाराको थिए जस्तो लाग्छ, त्यहाँको समाज, संस्कृति, प्रणाली र जे भइराखेको हुन्थ्यो दिनकै, यहाँ आएर चाहिँ त्यो कुरो बदलिदियो, गर्ने पर्छ नगरे हुँदैन भन्ने प्रेसर पनि भयो।
अस्ट्रेलियाका सुरुवाती दिनमा सामान्य अन्तर्राष्ट्रिय विद्यार्थीले भोग्ने दैनिक कठिनाइहरू नै विकेशले पनि भोगेका थिए।
उनले सुरुवाती समयमा सरसफाइ, भान्छा सहयोगी र भारी सामानहरू उठाउने कामदारका रूपमा जहाँ काम भेट्यो त्यही गर्न थाले।
कुनै काम गर्न अप्ठ्यारो नलागे पनि उनमा त्यो भन्दा बढी गर्नु पर्छ भन्ने सोच भने थियो।
श्रेष्ठसँग हामीले उनको अस्ट्रेलियामा बसोबास, अध्ययन र अतिरिक्त क्रियाकलापबारे गरेको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया आएको ६ महिनाको अन्तरालमा आफू अध्ययनरत सेन्ट्रल क्वीन्सल्याण्ड विश्वविद्यालयमा नै सोसियल इनोभेसन वा सामाजिक समस्याहरूलाई कसरी नयाँ ढङ्गबाट सम्बोधन गर्न सकिन्छ भन्ने सम्बन्धमा काम गर्ने समूहमा रहेर काम गर्न थाले।
उनी भन्छन् उनको अस्ट्रेलिया बुझाइ बदलियो र अवसरहरूको झलक पनि पाए।
सेन्ट्रल क्वीन्सल्याण्ड विश्वविद्यालय काम गर्दा उनको सोचाइ र जीवन भोगाइ बृहद बन्दै गयो।
उनले विश्वविद्यालयकै एक कार्यक्रम अन्तर्गत 'चेन्ज च्याम्प' भएकोले एक सम्मेलनमा भाग लिन संयुक्त राज्य अमेरिका समेत पुगे।
श्रेष्ठ भन्छन् त्यस्ता धेरै अवसरहरू बारे विश्वविद्यालयले विद्यार्थीहरूलाई इमेल पठाउने गरे पनि धेरैले त्यसलाई बेवास्ता गर्ने गर्दछन्।
उनले भने कुनै पनि अवसरलाई उपयोग गर्न अल्छी गरेनन्।
आफू पढ्ने विश्वविद्यालयमा नै आयोजना गरिएको टेड एक्समा आफ्नो अस्ट्रेलिया जीवन र सङ्घर्ष अनि यसको सकारात्मक पाटोलाई समात्दै विद्यार्थी जीवनमा जतिसक्दो धेरै अनुभव बटुल्न सफल भएको बारे आफ्नो अनुभव पनि बाँडेका छन्।

तर विकेश सधैँ जोसिलो र प्रोत्साहित मात्र थिएनन्। विदेशी भूमिमा जति नै सकारात्मक रही रहने प्रयास गरे पनि एक्लोपन र नजानिँदो किसिमले तनावको सिकार पनि बने।
उनले एक समयमा आफ्नो मानसिक स्वास्थ्य खासै राम्रो नभएको अनुभव गर्दा विश्वविद्यालयले उपलब्ध गराउने परामर्श सेवाबाट परामर्श समेत लिएका थिए।
विशेष गरी अस्ट्रेलियाको स्थायी वासस्थान भिसा (पीआर) कसरी लिने भन्ने चिन्ताले विकेश धेरै तनावमा हुने गर्दथे।
"पिआरको लागी म यति टेन्सनमा थिए कि त्यो काम गर्दा गर्दै पनि मलाइ एंगजाइटी अट्याकहरू हुन्थ्यो। त्यसको बारेमा बढी सोचेर मेरो मानसिक स्वास्थ्य खासै राम्रो भई राखेको छैन भन्ने मलाई समयमा नै महसुस भयो।"
त्यस पश्चात् उनले पिआर सम्बन्धी तनाव लिने भन्दा पनि आफूलाई रुचि लागेको कामहरू गर्न तर्फ ध्यान केन्द्रित गर्न थाले जसको फलस्वरूप उनको भिडियोग्राफी र फोटोग्राफीको व्यवसाय सुरु गर्न थाले।
पिआर सिआर छोड्दे आफूलाई मन लागेको गर भन्ने हिसाबले मैले फोटोग्राफी, भिडियो ग्राफीको व्यवसाय स्थापित गरेको हो।
विकेश लाल श्रेष्ठको संलग्नता यतिमा मात्र सीमित छैन। उनले पछिल्लो समय डेन्टल असिस्टेन्टका रूपमा कार्यरत रही रहँदा नै लेन्स ग्राफी नामको फोटोग्राफी र भिडियोग्राफी व्यवसाय पनि सञ्चालन गरिरहेका छन्।
उनले लकडाउनको समयलाई पनि सदुपयोग गर्दै धेरै लामो समय देखि आफूले सोच बनाएको एक लघु चलचित्र निर्माण गरे आफ्ना केही साथीहरूको सहायताले।

'द लास्ट फाइट' नामक चलचित्र निर्माण गरेर 'फोकस अन अबिलिटी' नामक लघु चलचित्रहरूको मेलामा अवार्ड जित्ने प्रतिस्पर्धामा समेत पठाएका थिए।
असक्तता भित्र क्षमता हुन्छ भन्ने सन्देश दिने लघु चलचित्रहरूको यो मेलामा श्रेष्ठले निर्माण गरेको 'द लास्ट फाइट'ले आत्मबल बढाएर आत्महत्या गर्ने सोचलाई परास्त गर्न सकिने क्षमतालाई ५ मिनेट भित्र प्रस्तुत गरेका छन्।
सुबोध घिमिरेको लेखन, आरोग्य पोखरेलको अभिनय रहेको उक्त लघु चलचित्रमा छायाङ्कन राकेश महर्जनको रहेको छ।
निर्माण, निर्देशन र सम्पादन लगायत अन्य कामहरू आफैँले गरेका उनलाई आफ्नो पहिलो चलचित्र भएकाले धेरै कमी कमजोरी रहेको स्विकार्छन्।
चलचित्र निर्माणलाई व्यवसायकै रूपमा अगाडी नलगे पनि वर्षमा एउटा लघु चलचित्र बनाउने सोच भने उनको छ।
खालि समयमा गिटार बजाउन रुचाउने विकेश एक पोड्कास्टर पनि हुन्। 'सिड्नी रिफ्लेक्ट' नामक पोड्कास्ट शृङ्खलामा श्रेष्ठले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुभवहरू सुन्ने र सुनाउने पनि गर्दछन्।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको कथाहरू प्रस्तुत गर्ने क्रममा उक्त पोड्कास्टमा विकेश र उनका साथी नीरजले धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुभव बाँड्ने गरेका छन्।
उनले एक अनुभव स्मरण गरे जहाँ एक जनाले अस्ट्रेलियामा सुरुवाती दिनहरूमा प्राय अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफूलाई कमजोर ठान्ने र आत्मविश्वासको कमी हुने विषय उठान गरेका थिए।
तर विकेश लाल श्रेष्ठको बुझाइ छ कि दृढ सङ्कल्प र आफूमा विश्वास राख्न सके आफूले चाहेको काम गर्न अस्ट्रेलियामा प्रशस्त अवसरहरू रहेको छ।
