सङ्घीय गठबन्धन सरकारमा न्यु साउथ वेल्स राज्यको निर्वाचन नतिजाले नयाँ उत्साहको सञ्चार गरिदिएको छ।
तर, उक्त गठबन्धनको एक प्रमुख घटकको रूपमा रहेको नेशनल पार्टीले सो चुनावमा व्योहोरेको क्षतिका कारण सङ्घीय सरकार, आगामी आम निर्वाचनमा आफ्नो जीत हुने कुरामा पुर्णरुपले आश्वस्त भने हुन सकेको छैन।
उता, लेबर पार्टीलाई सङ्घीय निर्वाचनमा पनि हारको मुख देख्नुपर्ला भनेर सोचिहाल्नु पर्ने स्थिति पनि छैन।
यो राज्य निर्वाचनले जित्ने तथा हार्ने दुवै पक्षलाई अब हुने आम चुनावका लागि आफ्नो रणनीति कसरी तयार गर्ने, भोटरहरूलाई कसरी आकर्षण गर्ने र कस्तो अवस्थामा चुक हुँदो रहेछ भन्ने लगायतका कुराहरू सिक्ने भरपुर अवसर प्रदान गरेको छ।
लिबरल पार्टी

सत्तारुढ लिबरल पार्टीका लागि यो जीत निकै आवश्यक रहेको थियो। यो जितले उसको आत्मबललाई राम्रो बल प्रदान गरेको भान हुन्छ।
वाकपटुतामा बारम्बार चुकेका लेबर नेता माइकल डेलीको कमजोरीको पनि राज्य लिबरल पार्टीले भरपुर फाइदा उठायो।
उसका रणनीतिकारहरू यो चुनाव दुई पार्टीका नीतिहरू भन्दा पनि ती पार्टीका शिर्षथ नेताहरूको व्यक्तिवको बारेमा रहेको छनक दिन सफल रह्यो।
लिबरल पार्टीका सङ्घीय रणनीतिकारहरूले यो कुरालाई नजिकबाट नियालेकै हुनुपर्दछ।
तर, वेस्टर्न सिड्नी विश्वविद्यालयका सहायक उप-कुलपति डा एन्डी मार्क्सका अनुसार, राज्य लिबरल-नेशनल गठबन्धन सरकारले करिब ८० अर्बको पूर्वाधार विकास बजेट अनि राम्रैसँग अर्थतन्त्र चलाएको थियो।
“सत्तापक्षको राम्रै उपलब्धिहरूका बाबजुद एकदमै सानो अन्तरले मात्र लेबरले यो चुनावमा पराजयको मुख देख्नु परेको छ। यसले पक्कै पनि सङ्घीय लिबरल पार्टीलाई सोच्न बाध्य बनाएको हुनुपर्दछ,” मार्क्सले भने।
तथापि, सङ्घीय लिबरल पार्टीको सबैभन्दा ठुलो टाउको दुखाई भने उसको सत्ता साझेदार - नेशनल पार्टी भएको छ। विशेष गरी, राज्य चुनावमा नेशनल पार्टीले भोगेको हार।
प्रा डा मार्क्सका अनुसार, यस कारण अब सङ्घीय सरकारबाट हुने अधिकांश चुनावी घोषणाहरूले प्रमुख सहरहरूलाई भन्दा पनि क्षेत्रीय तथा ग्रामीण भेकलाई सम्बोधन गर्नेछन्।
नेशनल पार्टी

आफ्नो बलियो पकड रहेका सिटहरूमा पनि नेशनल पार्टीलाई ठुलै मात्रामा निराशा हात लाग्यो।
मध्य न्यु साउथ वेल्स जस्ता नेशनल पार्टीका बलिया आधार इलाकाहरूमा समेत १० प्रतिशत भन्दा बढी मतदाताले उसका साथ छोडे।
“चुनावमा दश प्रतिशत भन्दा बढीको ‘स्विङ्ग’ हुनु भनेको निकै ठुलो कुरा हो,” मार्क्स भन्छन्।
सङ्घीय संसद्मा नेशनल पार्टीका एक प्रभावशाली नेता बार्न्बी जोइसले राज्य चुनावको नतिजा आए लगत्तै च्यानल सेभेनसँग भने, “गठबन्धन सरकारले भने जस्तो अस्ट्रेलिया सहरहरूमा त भेटिएला तर सहरमा जितेर मात्र चुनाव जितिन्न। सरकार जागा हुनुपर्ने बेला आएको छ। दूर-दराजको अस्ट्रेलिया सहरको चमक-दमक भन्दा फरक छ।”
ग्रामीण भेकका भोटरहरूले सरकारको खडेरीको समयमा जल बाँडफाँड सम्बन्धी लगायतका अन्य नीति प्रति असन्तोष व्यक्त गर्दै शुटर्स, फिशर्स तथा फार्मर्स पार्टीलाई आफ्नो मत दिएका थिए।
लेबर पार्टी

लेबर नेता माइकल डेलीको खराब प्रदर्शनलाई नै उक्त पार्टीको उदेक लाग्दो नतिजाको कारण बताइएको छ।
अनि, बिल शर्टनले पनि यस्तै नराम्रो प्रदर्शन गर्ने हो कि भन्ने डरले उक्त पार्टीका सङ्घीय नेताहरूलाई सताउन थालेको छ।
चुनाव प्रचार प्रसारको क्रममा प्रिमियर ग्लाडिस बेरिजिक्लिनसँग भएको वादविवादमा डेलीले आफ्नो पार्टीको मुख्य नीतिहरू सम्बन्धी विवरणहरू बताउन सकेका थिएनन्।
साथै, हाम्रा बच्चाहरूको जागिर पी.एच.डी गरेका एसियनहरुले खाइरहेका छन् भन्ने उनको एक भिडियो सार्वजनिक भएपछि त त्यसले झन् आगोमा घ्यू थप्ने काम गर्यो।
शर्टनले अहिलेसम्म यस्तो गल्तीहरू नगरे तापनि डेलीले चुनावी प्रचार प्रसारको करमा कति चाँडो यस्ता फन्दाहरूमा पर्न सकिन्छ भनेर देखाइसकेका छन्।
“शर्टनले चुनावी क्रममा गर्ने आफ्ना सम्पूर्ण घोषणाहरू घोकेर पानी बनाइसकेको हुनुपर्छ,” मार्क्स भन्छन्।
अन्य साना पार्टीहरू तथा स्वतन्त्र उम्मेद्वारहरु

न्यु साउथ वेल्स राज्यको यो निर्वाचनले देखाएको एउटा महत्त्वपूर्ण कुरा देखाएको छ। मतदाताहरूले बिस्तारै मुख्य पार्टीहरूलाई छाडेर अन्य साना पार्टीहरू तथा स्वतन्त्र उम्मेद्वारहरु प्रति लगाव बढाउँदै छन्।
यो चुनावमा शुटर्स, फिशर्स तथा फार्मर्स पार्टीले नेसनल पार्टीबाट तिन सिट खोस्न सफल भयो।
त्यसै गरी, पूर्व लेबर नेता मार्क लेथमले आफ्नो नयाँ पार्टी - पालिन ह्यान्सनको वन नेशनबाट राज्य संसद्को उपल्लो सदनमा पुग्न सफल भए। यसको साथै, उक्त पार्टीले आफ्नो पकड अझ मजबुत भएको देखाउन सफल भयो - भोट सङ्ख्याको आधारमा।
“सहरिया क्षेत्रमा आफ्नो प्रभाव राख्ने ग्रिन्स जस्तो पार्टी समेतलाई उनीहरूले पछाडि पारेका छन्, ग्रामीण भेगमा होइन, ग्रिन्सकै आफ्नो क्षेत्रहरूमा। आगामी सङ्घीय चुनावमा पनि यस्तै क्रम चल्नेछ,” मार्क्स भन्छन्।
