न्यु साउथ वेल्स राज्यका एक जना लिबरल मन्त्री एन्ड्रू कन्स्टेन्सका अनुसार प्रधानमन्त्री स्कट मरिसनले डढेलो ग्रस्त बेगा निर्वाचन क्षेत्रको निरीक्षणका क्रममा भोगेको अपमान उनी स्वयम्ले निम्त्याएका हुन्।
बिहीबार कोर्बार्गो नामक एक स्थानको सडकमा डढेलोको प्रभाव बारे बुझ्न जाँदा उनलाई स्थानीय बासिन्दाहरूले नाराबाजी गर्दै हैरान पारेका थिए।
कोर्बार्गोमा यही हप्ताको सुरुमा बाबु-छोरा रोबर्ट र प्याट्रिक साल्वेले डढेलो विरुद्धको अभियानका क्रममा आफ्नो ज्यान गुमाएका थिए।
प्रधानमन्त्रीले अस्ट्रेलियाको डढेलो सङ्कटलाई उपयुक्त ढङ्गबाट समाधान गर्न नखोजेको आरोप समेत कन्स्टेन्सद्वारा लगाइएको छ।
“मैले अहिलेसम्म उनीबाट एउटा फोन कल समेत पाएको छैन, त्यसैले पनि स्थानीय बासिन्दाहरूले उनलाई सुहाउँदो स्वागत गरेका हुन् भन्ने मेरो ठम्याई छ,” प्रधानमन्त्रीकै पार्टीका सदस्य समेत रहेका उनले भने।
मालुवा बेमा रहेको आफ्नो घरलाई डढेलोबाट जोगाउन कन्स्टेन्सलाई हम्मे हम्मे परेको बताइएको छ।

“म आज प्रधानमन्त्रीलाई यो भन्न चाहन्छु - तपाईँले ढुकुटीबाट खुल्ला मन गरेर (अग्नि नियन्त्रणका लागि) रकम खर्चेको हेर्न देशवासी चाहन्छन्।”
“मलाई राम्ररी थाहा छ, यसो गर्नु सजिलो छैन र म पनि उनकै पार्टीको मान्छे हुँ। तर अहिले केवल दुई जनाले मात्र डढेलो नियन्त्रणमा सही नेतृत्व देखाइरहेका छन् - शेन फिट्ससिमोन्स (ग्रामीण अग्नि सेवाका आयुक्त) र ग्लाडिस बेरिजिक्लियन।”
उनले प्रधानमन्त्री स्कट मरिसनलाई तत्काल राहतको धनराशि बढाउन आह्वान गरेका छन्।
“हामीले धेरै घरहरू गुमाइसकेका छौँ। निकै सङ्ख्यामा व्यापार-व्यवसायहरू पनि। घर र आफ्नो बन्द-व्यापार गुमाउने धेरैलाई म चिन्छु,” कन्स्टेन्सले भने।
“म आफू स्वयम्ले यी कुरा भोगिसकेको हुनाले मलाई राम्ररी थाहा छ कि यो स्थिति कत्तिको गाह्रो छ। यो भयानक स्थिति हो जुन क्रूर र निर्दयी छ।”
मूर्ख नेता

कोबार्गोका एक स्थानीयले प्रधानमन्त्रीलाई मूर्खको संज्ञा दिए भने अर्का एक जनाले उनलाई आफ्नो समुदायले कहिल्यै भोट नदिने बताए।
त्यसै गरी, एक महिलाले प्रधानमन्त्रीद्वारा हात मिलाउन आफ्नो हात अगाडी सार्दा कुनै प्रतिक्रिया नदिँदा भने प्रधानमन्त्री मरिसन स्वयम्ले तल झुकेर उनको हात समातेका थिए।
“तपाईंले ग्रामीण अग्नि सेवालाई थप रकम विनियोजन गर्नुहुन्छ भने मात्रै म तपाईँसँग हात मिलाउँछु, यहाँका धेरै बासिन्दाहरूले आफ्नो घर गुमाएका छन्। हामीलाई थप सहयोगको खाँचो छ,” उनले त्यसो भन्दै गर्दा स्कट मरिसनले उनको पीठ धप्धपाएका थिए।

बिहीबार नै प्रधानमन्त्रीसँग हात मिलाउन एक अग्नि नियन्त्रकले पनि अस्वीकार गरेका थिए।
“मलाई साँची नै तपाईँसँग हात मिलाउनु छैन,” भन्दै ती अग्नि नियन्त्रक मरिसनलाई छोडेर लम्किए।
त्यसपछि प्रधानमन्त्रीले घटना नियन्त्रणकर्तालाई उक्त अग्नि नियन्त्रक कहाँ आफ्नो सन्देश पुर्याइदिन भन्दै भने, “तिनी निकै थाके जस्ता छन्, उनलाई म निकै दुखी छु भनेर सुनाइ दिनुहोस्।”
“हैन, हैन उसले भर्खरै आफ्नो घर गुमाएको छ”, प्रधानमन्त्रीको यस्तो कुरा सुनेर ती अधिकारीले तत्कालै जवाफ दिए।
“यस्ता कुराहरूलाई म व्यक्तिगत रूपमा लिन्न”

आफ्नो निरीक्षण भ्रमणका क्रममा देखिएको क्रुद्ध प्रतिक्रियाबारे संसारभरका सञ्चार माध्यमले प्रमुखताका साथ समाचार सम्प्रेषण गरेपछि त्यसबारे मेलबर्नको एक रेडियो स्टेसनद्वारा सोधिएको एक प्रश्नको जवाफमा प्रधानमन्त्री मरिसनद्वारा आफूले यस्ता कुरालाई व्यक्तिगत रूपमा नलिने बताएका छन्।
“मलाई थाहा छ, मानिसहरू क्रुद्ध छन् र साधरणतया उनीहरू आफ्नो रिसको झोँक प्रधानमन्त्री वा अन्य त्यस्तै व्यक्ति माथि पोख्छन्,” उनले थ्री ए डब्लूको नील मिचेललाई भने।
“म बुझ्छु त्यो। मैले त्यो आवेश बुझेको छु, त्यसले दिएको पिडा, रिस र निराशा सबै बुझ्छु।”
“मलाई के थाहा छ भने अहिले उहाँहरू निकै पिडामा हुनुहुन्छ र उहाँहरूलाई भेटेर सान्त्वना दिनु र सक्दो गर्नु मेरो कर्तव्य हो। म यी कुराहरू व्यक्तिगत रूपमा लिन्न, र किन लिनु?”
स्वागत पनि
प्रधानमन्त्रीले सबै डढेलो ग्रस्त क्षेत्रमा गाली मात्र खाएका छैनन्। पूर्वी गिप्सल्याण्ड स्थित लखनउ मेमोरियल हल आइपुग्दा भने उनले राम्रै आतिथ्य पाए।
सार्सफिल्डमा लागेको डढेलोबाट आफ्नो घर गुमाउन पुगेकी लीन वालवर्कले उक्त आपतकालीन केन्द्रमा प्रधानमन्त्री आफूहरूको दुखेसो बुझ्न आएकोमा दङ्ग देखिन्थिन।
“अबका बाटो कठिन छ,” मरिसनले उनलाई भने।
तत्काल राहत घोषणा

उता, सङ्घीय प्राकृतिक प्रकोप हेर्ने मन्त्री डेभिड लिटिलप्राउडले बिहीबार नै बेगा उपत्यकाका डढेलो पीडित बासिन्दाहरूलाई राहत भुक्तानी गरिने घोषणा गरेका छन्।
उक्त घोषणा अनुसार प्रत्येक वयस्कले १,००० डलर र बालबालिकाको हकमा भने हरेकले ४०० डलर मानव सेवाहरू विभाग मार्फत भुक्तानी पाउन सक्नेछन्।
“यो भुक्तानी ती व्यक्तिहरूका लागि हो जसको घर नराम्ररी क्षति वा ध्वस्तै भएको छ अथवा उनीहरू गम्भीर घाइते वा आफ्नो परिवारजन गुमाएका छन्,” मन्त्री लिटिलप्राउडले भने।
