मुख्य बुँदा
- सामान्यतया लुनर नयाँ वर्ष मनाउँदा रातो रङ्गलाई प्राथमिकतामा राखिन्छ भने आतिसबाजी यसको विशेषता हो।
- तर लुनर नयाँ वर्ष मनाउने सबैले रातो रङ्गलाई भाग्यमानी वा सुरक्षात्मक रङ्गका रूपमा भने लिँदैनन्।
- भियतनामी समुदायले भने खरायो वर्षको सट्टा बिरालो वर्षका रूपमा मनाउने गरेका छन्।
लुनर नयाँ वर्षा भनेको पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गर्ने अवसर हो।
उत्तरी गोलार्द्धमा वसन्त ऋतु सुरु हुने भएकाले यसलाई 'वसन्त उत्सव'का रूपमा पनि मनाउने चलन छ।
नयाँ वर्षको आगमन र पारिवारिक भेटघाटको समय भए तापनि विश्वभरका मानिसहरूले आ-आफ्नै विशिष्ट तरिकाले यसलाई मनाउने चलन रहेको छ।
धमाकाका साथ दुष्ट आत्मालाई भगाउने
चिनिया समुदायले नयाँ वर्षमा रातो रङ्गको प्रयोग गर्छन्, रातो रङ्गकै सजावट र फाइ चुन भनिने रातो रङ्गको कागजमा एक अर्कालाई शुभकामना सन्देश।
यस बाहेक पटाकाहरू पड्काएर, ड्रेगन र चितुवाको नाच नचाएर र बाजा बजाएर दृष्ट आत्मालाई भगाउने परम्परा छ।
चिनिया किम्बदन्ती अनुसार नियान नामक एक दृष्ट आत्मा नयाँ वर्ष लागेसँगै मानिस र जनावरलाई आफ्नो सिकार बनाउन लुकेर आउँछ।
र त्यसैलाई भगाउन पटाका पड्काउने र ठुलो ठुलो आवाजमा ड्रमहरू बजाउने गरिन्छ।
भौगोलिक रूपमा निकै ठुलो चीनका विभिन्न भागमा आ–आफ्नै परम्परा अनुसार नयाँ वर्ष मनाइन्छ।
उत्तरी चीनमा परिवार भेला भएर डप्लीङ्गस भनिने नेपाली मःम जस्तै खाना खाएर मनाउने चलन छ।
उता दक्षिणी चीनमा भने चामलबाट बनेको केक, डम्प्लिङ्गस, कमलको फुलबाट बनेका चकलेट इत्यादि मिठा मिठा खाने कुरा खाएर मनाइन्छ।
चिनिया परिवारको मिलनको दिन भएकाले पनि अवस्था अनुकूल खाने कुराहरू बनाएर खाने गरिन्छ, यसमा कतै डम्पलिङ्गस पर्छन् त कतै कतै हटपट।
यता ताइवानमा भने हटपट, हासको परिकार, रक्सीमा बनाइएको चिकेन सुप जस्ता कुराहरूले पारिवारिक मिलनलाई दर्साउँछ।

नयाँ वर्षको दिन नयाँ कपडा त्यसमा पनि विशेष गरी रातो रङ्गमा जोड दिइन्छ।
यस बाहेक आफू भन्दा सानालाई रातो खाममा पैसा हालेर दिने चलन पनि छ।
सबैले रातो रङ्गको प्रयोग गर्दैनन्
यता कोरियन समुदायको नयाँ वर्ष मनाउने चलन चाहिँ सातौँ शताब्दीको चिनिया इतिहास सम्बन्धी किताबहरू 'बुक अफ सुई' र 'द वल्ड बुक अफ टाङ्ग' सँग जोडिएको पाइन्छ।
कोरियाको इतिहासमा नयाँ वर्ष मनाउने चलनका बारेमा १३ औ शताब्दी तिर लेखिएको पुस्तक 'मेमोराबिलिया अफ दि थ्रि किङ्गडममा' पनि लेख पाइन्छ।
जसमा नयाँ वर्षलाई समुदायले मनाउने मुख्य ९ चाड मध्येमा समेटिएको छ।
कोरियन समुदायमा भने रातो रङ्गले अर्थ नराख्ने भएकाले उनीहरू जुनसुकै रङ्गका कपडा लगाएर उत्सव मनाउँछन्।
लुनर नयाँ वर्षको पहिलो दिनलाई सियोल्ल भनिन्छ, यस दिनमा मानिसहरू आफ्नो शब्द र कर्ममा विशेष ख्याल राख्छन् भने ह्यानबक भनिने परम्परागत लुगामा ठाटीने गर्दछन्।
परम्परागत स्थान वा धार्मिक स्थलमा जानका लागि पनि यस्ता परम्परागत पहिरन लगाउनु अनिवार्य मानिन्छ।
पूजा आजा बाहेक पनि कोरियन नयाँ पुस्ताले पुरानो पुस्ता प्रति सम्मानका लागि झुकेर आर्सीवाद लिने चलन छ, जसलाई सिबे भन्ने गरिन्छ।

बदलामा आफू भन्दा ठुला व्यक्तिले खाममा हालेर पैसा दिने चलन छ, तर चिनिया संस्कृतिमा जस्तो खाम रातै रङ्गको हुनु पर्छ भन्ने चाहिँ हुदैन्।
टिटियोगुक पनि भनिने परम्परागत चामल बाट बनेको केक र सुप कोरियाली नयाँ वर्षमा खाइने मुख्य परिकार हो।
यो परिकारमा पातलो गरी काटिएको केकमा सुप हुन्छ, जसलाई स्वास्थ्य र समृद्धिको प्रतिकका रूपमा लिइन्छ।
यस बाहेक कोरियालीहरूले गहुँ, मह, चामलको जाँड र अदुवाको रसबाट बनेको याक्ग्वा भनिने खाने कुरा पनि खाने गर्दछन्।

सन् २०२३ खरायोको वर्ष हो की बिरालोको त?
भियतनामी क्यालेन्डरका अनुसार सन् २०२३ बिरालो वर्ष हो।
र नयाँ वर्षको पहिलो दिनलाई टेट न्युगेन डान भनिन्छ।
किंवदन्तीका अनुसार राशिलाई सुचीबद्ध गर्नका लागि खोलाको किनारमा सबै जनावरहरूलाई दौडमा सहभागी गराइन्थ्यो।
दौडमा मुसा पनि सहभागी भएको र मुसाले बिरालोलाई नदी पार गर्न नदिएको भन्ने पनि खालका किम्वदन्तीहरु पनि छन्, कतिपयले भने मुसाले छलेपछि बिरालोले नदी पार गर्न सकेको बताउँछन्।
यी सबै किंवदन्ती भए पनि, भियतनाममा १२ राशिलाई पछ्याउन थाल्ने क्रममा भियतनामी भाषामा खरायो र बिरालो उस्तै सुनिएकाले खरायोको स्थानमा बिरालोले स्थान पाएको बताइन्छ।

कतिपयले भने भियतनाममा अत्यधिक गर्मी हुने र मुसाले दुख दिने भएकाले बिरालोलाई राख्दा, मुसाबाट मुक्ति पाइने भएकाले यसो गरिएको पनि बताउँछन्।
यद्यपि यी किंवदन्ती कुनै पनि पुष्टि भएका छैनन्।
चिनिया र कोरियन जस्तै भियनामीहरुले पनि पाँच वटा भिन्न भिन्न फलफूल भग वानलाई चढाउने परम्परा छ।
जसमा सलिफा, अञ्जीर, नरिवल, केरा र आँप पर्दछन्।

नयाँ वर्षको पूर्व सन्ध्यामा मन्दिरबाट घर फर्कने क्रममा हरियो पात टिपेर ल्याउने र घरमा मन्दिर छेउमा ओइलाउने बेलासम्म राख्ने चलन छ, जसलाई हाइलोक भनिन्छ।
नयाँ वर्षको दिन भने आफ्ना पूर्वज र ईश्वरको सम्झना पछि पारिवारिक सदस्यहरू भेला भएर केराको पातमा चामल मुङ्ग र सुँगुरको मासु राखेर पकाइएको खाना खाने चलन छ।
नयाँ वर्षको १५ औ दिनमा भियतनामी र चिनिया समुदायले पूर्णचन्द्रको दिन लालटेन महोत्सव मनाउने गर्दछन्।

नेपालमा सोनाम ल्होछार
यता जनवरी २२ कै दिन देखि नेपालमा पनि सोनाम ल्होछार मनाउने चलन छ।
नेपाल लगायत भुटान र भारतमा बस्ने बौद्ध धर्मावलम्बिहरुले आफ्नो नयाँ वर्षका रूपमा सोनाम ल्होछार मनाउने बताइन्छ।
यस वर्ष खरायो वर्षको रूपमा मनाइन लागेको भिक्टोरियाको तामाङ सोसाइटीका मनिश तामाङले एसबीएस नेपालीलाई बताए।
नेपालमा गुम्बामा पूजा पाठ हुने, जमघट गर्ने चलन भए पनि अस्ट्रेलियामा चाहिँ सोही दिन मनाउन खोज्ने तर त्यसो नभएमा सबैलाई मिल्ने दिनमा मनाइने उनको भनाई छ
सिड्नीमा २२ जनावरीमा सोनाम ल्होछार मनाइए पनि भिक्टोरियामा भने ४ फेब्रअरीमा मनाउन लागेको पनि मनीषले बताए।
लुनार नयाँ वर्ष २०२३ बारे थप सामाग्रीका लागि यहाँ जानुहोस्।
