गत वर्षको अगस्ट तथा सेप्टेम्बर महिनामा करिब ८७,००० अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भाग लिएको “२०२० इन्टरनेश्नल स्टुडेन्ट एक्सपेरिएन्स सर्भे” नामक एक सर्वेक्षणका अनुसार झन्डै ९१ प्रतिशतले अस्ट्रेलियामा आफ्नो बसोबासको अनुभव निकै राम्रो रहेको बताएका थिए।
यद्यपि उनीहरूले आफ्नो पठन-पाठनको समग्र अनुभव प्रति चाहिँ आफूहरू धेरै सन्तुष्ट नरहेको बताएका छन्।
कोभिड-१९ महामारीका बेला प्रत्यक्ष रूपमा पठन-पाठनमा संलग्न हुन नपाउने मारमा नर्सिङ विद्यार्थीहरू प्रमुख छन् र अस्ट्रेलियाली शिक्षा पद्धतिमा आबद्ध भएर व्यवहारिक ज्ञान प्राप्त गर्न कठिन भएको थुप्रै नेपाली विद्यार्थीहरूको भनाई छ।
कोरोनाको प्रभाव
अञ्जना रौनियार यस्तै एक प्रतिनिधि पात्र हुन्।
सन् २०१७ मा नेपालबाट आएकी उनले कोरोनाभाइरस महामारी पश्चात् खासै हस्पिटल गएर सिक्ने मौका प्राप्त गरेकी छैनन्।
उनी भन्छिन् कि यसबाट आफू लगायत थुप्रै साथीहरूलाई घाटा भएको छ।
अनलाइनमा पढेर जाँच चाहिँ ‘प्राक्टिकल’ दिनु पर्दा पढाई प्रभावित भएको रौनियारको भनाई छ।
“जस्तो सोचेर आएको थिएँ, त्यस्तो २० प्रतिशत मात्रै भयो भनौँ न,” उनले एसबीएस नेपालीसँग भनिन्।
अस्ट्रेलियामा नै पहिले ‘इन्रोल्ड नर्स’को “राम्ररी नै” अध्ययन पुरा गरेकी रौनियारका अनुसार महामारीका कारण “रजिस्टर्ड नर्सिङ” को पढाइमा निकै नकारात्मक असर परेको छ।
“क्लासहरू अनलाइन भयो, अब हामी नर्सिङ पढ्नेलाई प्राक्टिकल क्लास जानुपर्छ, त्यै (अनलाइन क्लास) पनि कहिले क्यान्सिल हुन्छ।”
रिपोर्टका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले महामारीका कारण उत्पन्न विषम परिस्थिति तथा त्यसका प्रभाव स्वरूप अनलाइन माध्यमबाट अध्ययन गर्नुपरेको कारण आफ्नो अनुभव नकारात्मक रहेको बताएका हुन्।

नेपाली विद्यार्थीहरूको बढ्दो सङ्ख्या
कोरोना महामारीको दोस्रो लहर सुरु भएको भिक्टोरिया लगायत अस्ट्रेलियाभर नै गरिएको उक्त सर्वेक्षणका सहभागीहरूमा मूलतः नेपालीसँगै भारतीय, चिनिया, भियतनामी र मलेसियाली विद्यार्थीहरूको सहभागिता रहेको थियो।
सर्वेक्षणका नेपाली सहभागीहरू मध्ये ६,२२९ विद्यार्थीहरू स्नातक तहमा र स्नातकोत्तर स्तरमा ‘कोर्सवर्क’ अन्तर्गत पढ्दै गरेका ४,५५५ छात्रछात्राको सहभागिता थियो।
अस्ट्रेलियाको सामाजिक परिवेशबारे अध्ययन तथा अनुसन्धान गर्दै आइरहेको सोसल रिसर्च सेन्टर अन्तर्गतको क्वालिटी इन्डिकेटर्स फर लर्निङ एन्ड टिचिङ विभागमा अनुसन्धान तथा रणनीति सम्बन्धी निर्देशक लिसा बोल्टनका अनुसार आफूहरूद्वारा तयार पारिएको उक्त सर्वेक्षणमा भाग लिने स्नातक तहका विद्यार्थीहरूको कुल सङ्ख्याको १६.१ प्रतिशत नेपाली छात्रछात्रा थिए।
“यो भारतीय विद्यार्थीहरूको सङ्ख्या भन्दा धेरै हो,” उनले एसबीएस नेपालीसँग कुरा गर्दै भनिन्।
बोल्टन, रौनियार र पाठकसँगको कुराकानी सहितको हाम्रो संक्षिप्त रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
समग्र रूपमा भन्नुपर्दा महामारीका बाबजुद पनि नेपाली विद्यार्थीहरूले अस्ट्रेलियालाई उच्च अध्ययनका लागि निकै राम्रो गन्तव्य मानेको सर्वेक्षणको नतिजाले पुष्टि गरेको पनि उनको भनाई छ।
“अवश्य पनि महामारीका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मर्का परेको छ,” उनले भनिन्।
"तर पनि यहाँका शैक्षिक संस्थाहरूबाट पाइने सहयोग, सहायता, स्रोत सामाग्रीहरू, अध्यापनको स्तर, शिप विकास लगायतका कुराहरूले गर्दा चिनियाँ र भारतीय जस्तै नेपाली विद्यार्थीहरूको पनि अस्ट्रेलिया छनौटमा पर्ने क्रम जारी नै रहने हामीले देखेका छौँ।”
नेपालबाट उच्च अध्ययनका लागि अस्ट्रेलिया आएका विद्यार्थीहरूका मध्ये सर्वेक्षणमा भाग लिने ९१ प्रतिशतका अनुसार उनीहरूको यहाँ बसोबासका क्रममा अनुभव राम्रो रहेको छ।
हाल सिभिल इन्जिनियरिङ अन्तर्गतको स्नातकोत्तर तहको पढाई गर्दै गरेका सागर पाठकका अनुसार स्थानीय समुदायले प्रदान गर्ने आत्मीयता यसको प्रमुख कारण हो।
उनी भन्छन् कि चिनजानका साथीभाइको सहयोग र सहायता बाहेक स्थानीय अस्ट्रेलियाली समुदाय खुला मन भएकाले नै यहाँ बस्दाको अनुभव राम्रो हुन्छ।

"अब मेरो काम गर्ने ठाउँकै कुरा गर्नुहुन्छ भने मेरो मेन्टरले मलाई धेरै मद्दत गर्नुभएकोछ, सिकाउनु भएको छ।"
यद्यपि, लर्नर्स इन्गेजमेन्ट अथवा विद्यार्थीहरूको पठन-पठानमा हुने संलग्नतामा भने सन् २०१९ को भन्दा १० प्रतिशतले कमी आएको पनि लिसा बोल्टन बताउँछिन्।
“यसको मुख्य कारण भनेकै लकडाउन लगायतका प्रतिबन्धात्मक आदेशहरूका कारण अन्य वर्षमा जस्तै विश्वविद्यालय वा अन्य शिक्षा प्रदायक कहाँ प्रत्यक्ष उपस्थित भएर पढ्न र भिज्न नपाउनु हो,” उनले भनिन्।
“अनि अर्को चाहिँ समग्र अध्ययन-अध्यापनको अनुभवको स्तरमा पनि विद्यार्थीहरूले कम अङ्क प्रदान गरेका छन्।”
लिसा बोल्टनका अनुसार तथ्याङ्कहरू केलाएर हेर्दा नेपाली विद्यार्थीहरूको सङ्ख्या अचम्मित पार्ने खालको थियो।
“हामी प्राय गरेर अन्तर्राष्ट्रिय विद्यार्थी भनेर सोच्ने बित्तिकै कि त चीनबाट आउने वा भारतीय होलान् भनेर बुझ्छौँ,” उनले भनिन्।
“तर नेपालीहरूको सङ्ख्या पनि उल्लेखनीय नै देखिन थालेको पाएका छौँ।”
उनका अनुसार नेपालबाट अस्ट्रेलिया आउने स्नातक तहका विद्यार्थीहरू प्राय गरेर कम्प्युटिङ सिस्टम्स, नर्सिङ र बिजनेस लगायतका सङ्कायमा भर्ती छन् भने पोस्ट ग्र्याजुएट बाइ कोर्सवर्कमा भर्ना भएकाहरू पनि प्राय कम्प्युटिङ, नर्सिङ र हेल्थ स्टडिज तर्फै आकर्षित रहेको देखिएको छ।

“अन्डर ग्र्याजुएटमा अस्ट्रेलियाभर अध्ययनरत अन्तर्राष्ट्रिय नर्सिङ विद्यार्थीको कुल सङ्ख्याको ३५ प्रतिशत नेपालबाटै आएका हुन् र पोस्ट ग्र्याजुएट लेभलमा यो सङ्ख्या ४५ प्रतिशत छ।”
पाठकका अनुसार अस्ट्रेलियाको पढाई विश्व स्तरको त छँदै छ, काम तथा करिअरका लागि पनि पाठ्यक्रममा धेरै महत्त्व दिइएको छ।
“नेपालमा पढाई हुने कुरा आफूले खोजेको जस्तो पाउन धेरै गाह्रो छ,” उनले भने।
“यहाँ चाहिँ आफूलाई मन परेको कुरा छान्न पाइन्छ र यही पढ्छु भन्नेका लागि अवसरहरू धेरै छन्।”
बोल्टनको रिसर्चबाट के पनि पुष्टि भएको छ भने महामारीका कारण थुप्रै नेपाली विद्यार्थीहरूलाई ठुलै आर्थिक झट्का लाग्यो।
सन् २०१९ को सर्वेक्षणमा ४४ प्रतिशत नेपाली उत्तरदाताहरूले आर्थिक कठिनाइका कारण आफ्नो पढाइमा असर गरेको भनेर बताएका थिए भने अघिल्लो साल कोभिड-१९ महामारीका बिच यो आँकडा ६१ प्रतिशत पुगेको थियो।
यसपालि भने थप सङ्ख्यामा नेपाली विद्यार्थीहरू मारमा परेको देखिने थुप्रै कारणहरू रहेको बताउँछिन् लिसा बोल्टन।
अघिल्लो वर्ष भिक्टोरियामा मात्र लामो समयसम्म कोरोनाभाइरसले असर पुर्याएको थियो भने सन् २०२१ मा सिड्नी लगाएर मेलबर्न, ब्रिसबेन, क्यानबेरा, एडिलेड, डार्विन र पर्थ जस्ता मुख्य अस्ट्रेलियाली भूमिमा भएका प्राय: प्रमुख शहरहरु लकडाउनमा जाने क्रम श्रृंखलाबद्ध रूपमा जारी नै रहेको छ।
महामारीको चपेटा र पढाईमा प्रभाव
त्यस्तै नेपालबाट अस्ट्रेलिया आएर अधिकांश विद्यार्थीहरू भर्ना हुने ‘कलेज’हरू पनि महामारीको चपेटामा परेको बताउँछिन् बोल्टन।
प्रायजसो सबै विश्वविद्यालय र टेफ वा पोलिटेक्निकहरुले अघिल्लो दशकदेखि नै ‘अनलाइन’ वा ‘ब्लेन्डेड लर्निङ’ को खाका तयार गरेर बिस्तारै आफ्नो कोर्सलाई प्रविधि मैत्री तुल्याउँदै आइरहेका थिए।
र जब कोभिड-१९ को प्रभावका कारण घरमा नै बसेर पठन-पाठनको काम सुरु गर्नुपर्ने भयो, उनीहरूलाई निजी कलेजहरूको जस्तो गाह्रो भएन।

उता, साना स्तरका र धेरै जसो अन्तर्राष्ट्रिय विद्यार्थीहरू मात्र भर्ना हुने कलेजहरूलाई भने महामारीले थप चुनौतीहरू प्रस्तुत गर्यो।
बोल्टन भन्छिन् कि सीमा बन्द हुँदै गर्दा कतिपयका विद्यार्थी मात्र होइन अध्यापनमा संलग्न ‘स्टाफ’हरू पनि विदेश मै थिए र उनीहरूले नवअवस्थामा पठन-पाठन कसरी गर्ने भन्ने पूर्व तयारी समेत गरेका थिएनन्।
कुन विश्वविद्यालय परेका छन् त नेपाली विद्यार्थीहरूको रोजाइमा भन्ने प्रश्नमा बोल्टन भन्छिन् कि सर्वेक्षणमा भाग लिएका नेपाली अन्डर ग्र्याजुएट विद्यार्थीहरूलाई आधार बनाएर हेर्दा अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, फेडेरेसन युनिभर्सिटी, फ्लिन्डर्स युनिभर्सिटी र टोेरेन्स युनिभर्सिटीहरूमा अन्य विश्वविद्यालयहरूको तुलनामा धेरै नेपाली छात्रछात्राहरू भर्ती भएको देखिन्छ।
यसो हुनुको कारण बारे उनी भन्छिन् कि शुल्क, साथीभाइको सल्लाह र शैक्षिक परामर्शदाताहरूको भूमिका उल्लेखनीय देखिन्छ।
रौनियार भने पाठ्यक्रम र पढाई समापन हुने समय सीमा अनि भर्ना सम्बन्धी नीति नियमका कारण आफ्ना थुप्रै साथीहरू ती विश्वविद्यालय तर्फ आकर्षित रहेको बताउँछिन्।

सरकारी प्रतिक्रिया
यता, सङ्घीय शिक्षा मन्त्री एलन टजले भने सर्वेक्षणको नतिजाबाट अस्ट्रेलिया अझै पढ्न र बस्न गतिलो गन्तव्य रहेको देखिएको भन्दै प्रसन्नता व्यक्त गरेका छन्।
“हाम्रो अन्तर्राष्ट्रिय विद्यार्थी बजार कोभिड-१९ बाट ठुलै रूपमा प्रभावित भएता पनि छनौटको गन्तव्य भनेर आधारभूत रूपमा बलियो नै छ,” एक विज्ञप्ति मार्फत उनी भन्छन्।

महामारी सुरुभरदेखि झन्डै पाँच लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अस्ट्रेलियालाई आफ्नो मानेर बसेको भन्दै मन्त्री टजले सम्भव भएसम्म आफूहरूले यथाशीघ्र उनीहरू जस्तै थुप्रै अरूलाई कक्षाकोठा र समुदायमा स्वागत तम्तयार रहेको पनि बताएका छन्।
“हामी विश्वविद्यालय, राज्य तथा प्रदेशहरूसँग नजिकबाट उनीहरूको अन्तर्राष्ट्रिय विद्यार्थी फेरी (अस्ट्रेलिया) ल्याउने योजनामा काम गरिरहेका छौँ,” उनले भने।
“यो अवधि थुप्रै विद्यार्थी तथा उनीहरूको परिवारका लागि चुनौतीपूर्ण रहेको म स्वीकार गर्छु र यस्तो परिस्थितिमा पनि हामीसँगै उभिनुभएकोमा म अस्ट्रेलिया तथा विदेशमा रहनुभएका उहाँहरूलाई धन्यवाद दिन्छु।”
