SKIP TO MAIN CONTENT

चाह्यो भने जे पनि गर्न सकिन्छ: नेतृ र अभिनेतृको पढ्ने चाहना

लोकप्रिय नेपाली अभिनेत्री करिश्मा मानन्धर र पूर्व कमलरी र हाल सांसद रहेकी शान्ता चौधरी यस वर्षको एसईई परिक्षाको आकर्षण बन्न पुगेका छन्।

Karishma Manandhar and Shanta Chaudhary
Actor Karishma Manandhar and MP Shanta Chaudhary sat for their SEE exams and have successfully passed. Source: Facebook

3 min read

Published

Updated

By Pratichya Dulal



Skip to article content

आइतबारदेखि सुरु भएको एसईईमा ४ लाख ७५ हजार तीन जना विद्यार्थीहरूले परीक्षा दिइरहेका छन्।

माध्यमिक शिक्षाको अन्तिम परीक्षा पास गरेपछि आफूले चाहेको विषय अध्ययन गर्ने र आफ्नो भविष्य बनाउने उनीहरूको योजना हुनुपर्छ। तर, मानन्धर र चौधरी चाहिँ छुट्टा छुट्टै क्षेत्रमा आफ्नो पहिचान बनाइसकेपछि पनि एसईई दिँदै छन्।

सांसद चौधरी त आफ्नी छोरीसँगै परीक्षा दिइरहेकी छन्। चौधरीले तुलसीपुरबाट र मानन्धरले काठमाण्डूबाट परीक्षा दिँदै छन्।

आखिर किन आफ्ना छोरा छोरीका उमेरका केटाकेटीसँग पढ्न थाल्नु भएको भन्ने प्रश्नको जवाफमा चौधरी भन्छिन्, "जिन्दगीले धेरै पाठ सिकायो। तर पनि औपचारिक शिक्षाको खाँचो जीवनको हरेक पलमा महसुस भइरह्यो र अहिले व्यस्तता माझ पनि पढाइका लागि समय निकाल्ने निधो गरेँ र अहिले परीक्षा दिँदै छु।"

चौधरीले आफ्नो गाउँको विद्यालयमा केही वर्ष अगि कक्षा ८ मा भर्ना लिएकी थिइन।

"संसद् भनेको कानुन बनाउने ठाउँ हो त्यसैले नीति नियम बनाउँदा देखि संसद्मा आफ्नो मनमा लागेका कुरा राम्रोसँग प्रस्तुत गर्दै गर्दा मैले पढाइको महत्त्व अझ बुझेँ," चौधरीले भनिन्।

अध्ययनका लागि समय निकाल्नु उनीहरुदुवैका लागि सहज थिएन।

तर चाह्यो भने जे पनि गर्न सकिन्छ भनेँ झैँ, उनीहरू दुवैले व्यस्तता माझ अध्ययनका लागि समय निकाले।

कुनै समयकी चर्चित नायिका करिश्मा मानन्धर अहिले राजनीतिमा पनि लागेकी छिन्। हाल उनी नयाँ शक्ति पार्टीसँग आबद्ध छिन्।

सानै उमेरदेखि चलचित्र खेल्न थालेकोले उनले पढाइलाई निरन्तरता दिन भने सकिनन्।

नेकपा संसदीय दलकी सचेतक एवं प्रतिनिधिसभा सदस्य चौधरीले कमलरी थिइन्। त्यसै कारण १८ वर्षसम्म अर्काको घरमा बसेर काम गर्न उनी बाध्य भएकी थिइन र पढ्ने रहर हुँदा हुँदै पनि त्यसलाई पुरा गर्न पाएकी थिइन्।

एसईई परीक्षा सुरु भएको दिन मानन्धर आफैँले गाडी चलाएर परीक्षा केन्द्र गएको र चौधरी परीक्षा केन्द्रमा बसेका तस्बिरहरू विभिन्न अखबारहरूमा छापिएका थिए।

अभिनेत्री मानन्धर पनि केही वर्षअघि विद्यालय भर्ना भएकी थिइन।

एसईई परीक्षा सुरु हुनुभन्दा केही दिन अघि स्थानीय सञ्चारमाध्यमहरूलाई दिएको अन्तर्वातामा उनलाई गणित विषयले पहिले निकै सताउने गरेको तर अहिले विज्ञान गाह्रो लाग्न थालेको कुरा उजागर गरेकी थिइन्।

यसरी स्कुल पढ्ने भनी साधरणतया तोकिएको उमेर काटेपछि पनि विद्यालय नै गएर अध्ययन गर्ने थुप्रै महिलाहरू छन्।

तर, उनीहरू सबैको कथा सञ्चारमाध्यममा आएका भने छैनन्।

पहिले-पहिले पनि वृद्ध हजुरआमाले एसएलसी परीक्षा दिएको वा परीक्षा दिँदा दिँदै सुत्केरी व्यथा लागेका समाचारहरू नआएका होइनन्।

केही वर्षअघि नेता मोहन वैद्य (किरण) की श्रीमती सुस्माले पनि पढ्ने रहर पुरा गर्ने क्रममा ६१ वर्षको उमेरमा यस्तै परीक्षा उत्तिर्ण गरेकी थिइन्।

यी महिलाहरू एसईई परीक्षा उत्तिर्ण भएको प्रमाणपत्र लिएर सुनौलो भविष्य बनाउँछु भनेर हिँडेका हैनन्।

उनीहरू त ज्ञान आर्जन गर्ने आफ्नो भोक मेट्नका लागि आफ्नो पेसा, परिवार लगायतका जिम्मेवारीबाट समय निकालेका हुन्।

सामाजिक सञ्जालमा पनि उनीहरूको बारेमा निकै चर्चा भएको थियो। कसैले उनीहरूले पाएको चर्चाको व्यंग गरेका छन् भने अरूहरूले चाहिँ उनीहरूको चाहनाको सम्मान गरेका छन्।

नेपालमा महिलाहरू अझै पनि थुप्रै क्षेत्रमा पिछडिएका छन्। पढ्नका लागि उमेरले छेक्दैन र ज्ञान आर्जन गर्दा समाजले के भन्छ भन्ने डर मान्नुहुन्न भन्ने राम्रो उदाहरण बन्न सफल भएका छन् चौधरी र मानन्धर।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now