डरलाग्दो बस यात्रा अनि संसारकै सबैभन्दा मिठो समोसा: नेपालको मेरो पहिलो अनुभव

नेपाल जाने हुट्हुटि त मलाई पहिले देखिनै थियो। युवा बेला देखि नै नेपालका फोटोहरू हेर्दा नै मनमा उमङ्ग आउँथ्यो। तर जतिसुकै रहर भए पनि त्यहाँ जाने साइत जुरेको थिएन। अहिले आएर, छोरीले अन्नपूर्ण बेस क्याम्प जाने की भनेर के सोधे पछि म त फुरुङ्ग नै भए।

Michael Scott at Machhapuchhre Base Camp

Michael Scott at Machhapuchhre Base Camp Source: Michael Scott

मेरी छोरी एलेक्स र म गत मे महिनामा नेपाल पुग्यौ र काठमान्डुमा हामी दुई दिनको पाहुना बन्यौँ।

निकै अनौठो सहर लाग्यो मलाई नेपालको राजधानी - काठमान्डु। ट्राफिक लाइट नै देखिएन, र मुख्य सडकमा गाडीहरूको निकै लामो लर्को पनि देखियो।

अर्को तर्फ, पशुपति मन्दिरको छेउमा शव जलाएको देख्दा मन सिरिङ्ग भयो। माने, हाम्रो भन्दा बेग्लै संस्कृति हो, तर पनि यस्तो देख्दा आश्चर्य र नमिठो दुवै लाग्यो।

अनि, हामी लाग्यौ पोखरा तर्फ, दुई दिनको काठमान्डु बसाई पछि।

कलङ्की कट्ने बित्तिकै देखा पर्ने हरियो पहाड, अनि केही बेर पछि आउने त्रिशूली खोलाले मन छोयो।

तर, बाटो भने कति डरलाग्दो।

नागबेली त छँदै थियो, तर यसमा पनि गाडीहरू हुँईकाएको देख्दा मनमा डर छिर्ने। बाटोका विभिन्न ठाउँहरूमा रोक्दै नास्ता-पानी खाइयो।

Nepali food
Source: Suraj Pradhan

नेपाली खाना निकै स्वादिलो पाएँ, तर तेल भने अलिक ज्यादै प्रयोग हुन्छ कि जस्तो पनि लाग्यो।

करिब आठ घण्टा पछि पोखरा पुगियो जहाँ निकै पर्यटकहरू रहेछन्। काठमान्डु भन्दा सफा पनि रहेछ।

बेलुकी पख लेकसाईडबाट देखिनै सूर्यास्त भने अद्भुत लाग्यो - मन नै प्रफुल्लित भयो।

भोलिपल्ट हामी पोखराबाट नयाँ पुल तर्फ लाग्यौ जुन चाहिँ अन्नपूर्ण क्षेत्र प्रवेश गर्नु अघिको अन्तिम सुगम गाउँ रहेछ।

पोखराबाट गाडीहरूले यहाँसम्म सामान ल्याउँदा रहेछन् र यहाँबाट दुर्गम ठाउँहरूमा पैदल नै लैजाने रहेछन्।

Majestic Himalayan Vista in Nepal
Source: Michael Scott

अन्नपूर्ण सर्किटको पैदल यात्रा सुरु गरे कै दिनदेखि नै यहाँ रहेका मनमोहक पहाडहरू र आकर्षक दष्यहरुले मेरो मन तानिसकेको थियो।

झन् स्थानीय गाउँलेहरूले हामीलाई सहर्ष स्वीकार गर्दै, खुलेर बोल्ने र सहयोग गरेको देखेर त म दङ्गै परे।

नेपाल र त्यहाँका वासिन्दाहरू विदेशी माझ त्यतिकै लोकप्रिय भएका हैन रहेछ।

अन्नपूर्ण सर्किटको विभिन्न गाउँहरूमा पाइने खाना सोचेभन्दा धेरै मिठो लाग्यो।

बिरेथान्तिमा पाइने समोसाको त जति प्रशंसा गरे पनि कम हुन्छ।

मलाई त्यो कति सम्म मिठो लाग्यो भने, सर्किटको पैदल यात्रा सकी पोखरा फर्कँदा, फेरि त्यही पसलमा छिरें, र समोसा मात्रै मागे।

Samosa
Source: Kalyan via Stockpholio

अन्नपूर्ण सर्किटको पैदल यात्रा भने त्यति सजिलो थिएन। त्यहाँको पहाडी बाटोको भू-बनावट निकै तल-माथि भएकाले हाम्रो खुट्टाको बल मात्र नभएर मानसिक बलको पनि परीक्षा भइरहेको थियो।

तर, यहाँ हामीले प्रकृतिले दिएको अनुपम उपहारको अनुभव पनि गर्‍यौ।

पूनहिलमा बिहानै चार बजे उठेर हेरिएको सूर्योदय म कहिल्यै बिर्सने छैन। त्यो बेला, घामका पहिला किरणहरूले अन्नपूर्ण हिमालको चुचुरोमा छुँदा मेरो मनमा ठुलै प्रभाव जमाएको थियो।

यहाँको पहाडका गाँउहरुमा धेरैले सामान्य खेती गरेको मैले देखेँ।

Goat farming in Nepal
Source: Sharada Prasad CS via Stockpholio

मकै, कोदो, आलुको खेती प्रशस्तै देखियो - बाख्रा, पाठा, गाईहरू पनि निकै स्थानीयहरू पालेको भेटे।

मुख्य सहरबाट यति टाढा जीवन निकै कठिन देखिन्थ्यो, तर गाउँलेहरूमा मिजासिलो बानी र मिठो मुस्कानको कमी भने थिएन।

जति माथि उक्ले पनि इन्टरनेटको सुविधा भने होटलहरुमा राखिएको रहेछ। हामी माछापुछ्रेको बेस क्याम्पमा पुग्दा पनि इन्टरनेट चलाउन पाएका थियौ।

त्यहाँबाट अझै एक दिनको यात्रा पछि हामी अन्नपूर्ण बेस क्याम्प पुगेका थियौ।

यहाँको अनुभव त अतुलनियनै थियो। यति सुन्दर हिमालहरूको बिचमा खुलेर सास फेर्न पाउने मौका पाएकोमा म आफूलाई निकै भाग्यमानी ठान्छु।

माछापुछ्रे हिमाल - MachhaPuchhre or Fishtail Mountain from Sarangkot in Pokhara Nepal
"पक्कै पनि, नेपाल संसारकै सुन्दर देशहरू मध्य एक हो भनेर सबैले अनाहकमै भनेका होइन रहेछ।" Source: Esmar Abdul Hamid via Flickr

पैदल यात्रा सकेर फर्किने क्रममा हामीले क्युमी भन्ने ठाउँमा गाडी चढ्यौँ। त्यस्तो पहाडी बाटोहरूमा कोचाकोच खाँदी यात्रुहरू राखेको देख्दा हामी दुईलाई फेरी पनि डर लाग्यो।

पछि नयाँ पुलमा गाडीबाट ओर्लँदा त छतबाट पनि यात्रुहरू झरेको देखेँ। बसमा पस्नु अगावै मलाई यो कुरा थाहा भएको भए त मेरो सातो नै उड्ने थियो।

करिब आठ दिनको पैदलयात्र पछि हामी पोखरा फर्कियौँ र एक दिनको विश्राम पछि हामी प्यारा ग्लाईडिङ्ग गर्न सराङ्गकोट पुग्यौ।

मैले त सुरुमा उड्न निकै डर लाग्ला भन्ने सोचेको थिए। तर अरू कैयौँ मानिस माथि आकाशमा मज्जा गरिरहेको देखेर मेरो डर टाप कस्यो।

Paragliding in Pokhara Nepal
पोखरामा उड्न पाउँदाको मज्जै अर्को छ! Source: Steve Hicks, Andrew and Annemarie via Flickr

तर, उड्ने बेलामा मेरो प्याराग्लाईडिङ्गका चालकले मेरो जुत्तामाथि टेकेकाले उड्दा उड्दै मेरो जुत्ता भुईँमा झरेको थियो।

मध्य आकाशमा उडिरहँदा मेरो एक खुट्टामा मात्र जुत्ता रहेको थियो भने अर्को खुट्टाको पैतालाबाट चिसो छिरेको अनुभव हुन्थ्यो।

नेपाल भ्रमणको अन्त्यतिर हामी आइसकेका थियौ। हामी पोखराबाट काठमान्डु विमानमार्फत फर्क्यौँ। हिमाल र पहाडका मोहले अझै हामीलाई छोडेको थिएन।

हामीले झ्यालबाट फेरि चियायौँ।

नेपालको सुन्दरता त बयान गर्नु जरुरी नै छैन - यो त छर्लङ्गै छ। नेपालीहरूले पाहुनाहरूलाई गर्ने माया र मान-सम्मान सबै देशमा पाइँदैन।

यसैले होला, अस्ट्रेलिया फर्किसके पछि पनि मेरो मनमा नेपाल फर्कने हुट्हुटि अझै मरेको छैन।

Cheerful group of Nepali women
फेरी भेटौँला! Source: Photo by: India Pictures/Universal Images Group Editorial via Getty Images

Share

4 min read

Published

Updated

By Michael Scott

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now