SKIP TO MAIN CONTENT

'दादुरा र कोभिडका उस्ता उस्तै लक्षण'; पछिल्लो फैलावट पछि यात्रा गर्दा जोगिन सुझाव

सन् २०१४ मा अस्ट्रेलियाबाट दादुरा उन्मुलन भएको घोषणा भए तापनि विदेशबाट फर्किएका सात जनामा अत्यन्तै सङ्क्रामक मानिएको भाइरस भेटिएको छ।

MELBOURNE AIRPORT
Passengers at Melbourne Airport in Melbourne. Source: AAP / JOEL CARRETT/AAPIMAGE

3 min read

Published

Updated

By Sahil Makkar

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

भिक्टोरियाको स्वास्थ्य विभागले दादुरा, इन्फ्लुएन्जा र कोभिड–१९ को लक्षणहरू सुरुवाती ताका उस्तै उस्तै हुने बताएको छ।

विभागले कोभिड–१९ को परीक्षण नकारात्मक आएको अवस्थामा शरीरमा दागहरू देखिए दादुराका बारेमा जाँच गर्न पनि आग्रह गरेको छ।

दादुराका सामान्य लक्षणहरूमा ज्वरो आउने, खोकी लाग्ने, कन्जेन्टीभाइटीस र शरीरमा रातो दागहरू आउने रहेको बताइन्छ।

दादुराबाट सङ्क्रमण भइसके पछिको ७ देखि १८ दिनका बिचमा लक्षण देखिने बताइएको छ।

यस बाहेक सङ्क्रमित पुगेका स्थानमा दुई घण्टासम्म भाइरस रहन सक्ने पनि बताइन्छ।

भिक्टोरियाको प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक ब्रेट सटनले दादुराबाट निमोनिया लगायतका अन्य गम्भीर रोगहरू लाग्न सक्ने बताएका छन्।

बालबालिकाहरूलाई अस्पताल भर्ना गर्नु पर्ने अवस्था आउन सक्छ, यदि विदेशबाट आउनु भएको छ र लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य सल्लाह लिइहाल्नुहोस्
प्राध्यापक ब्रेट सटन, भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी

अस्ट्रेलियालीहरूलाई जोखिम

स्वास्थ्य एवम् बृद्धस्याहार सम्बन्धी विभागका अनुसार सन् २०१४ मा अस्ट्रेलियाबाट दादुरा उन्मुलन भए तापनि, सङ्क्रमणको थोरै जोखिम भने अझै पनि रहेको छ।

“यहाँ उन्मुलन भए पनि विदेशबाट आउने मानिसहरूले भाइरस लिएर आएको देखिएको छ,” विभागले एसबीएसलाई भन्यो।

“दादुराबाट बच्नका लागि खोप नै उत्तम उपाय हो, अस्ट्रेलियामा यसका विरुद्ध खोपको प्रतिशत धेरै छ, (दुई वर्षका बालबालिकामा ९३.५∞)।”

यात्रा सम्बन्धी सुझाव

अस्ट्रेलियाका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक पल केलिले अस्ट्रेलियालीहरू भ्रमणमा जाने केही मुलुकमा पोलियो र दादुरा विरुद्धको खोपको प्रतिशत कम रहेको हुन सक्ने भएकाले यस बारेमा सोच्न सुझाव दिन्छन्।

“बिदाका बेला कुनै देशमा भ्रमणमा जानु अघि पोलियो र दादुरा विरुद्ध पूर्ण रूपमा खोप लगाएको निश्चित गर्नु पर्दछ,” एक विज्ञप्ति मार्फत पल केलिले भने।

इन्डोनेसिया, भियतनाम, भारत, फिलिपिन्स र थाइल्यान्डमा सामान्यतया दादुराको सङ्क्रमण छ
प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक पल केलि
यस बाहेक मध्यपूर्व देश र अफ्रिकामा पनि यसको प्रकोप छ, युरोप, बेलायत, उत्तरी र दक्षिणी अमेरिकामा पनि पछिल्ला केही वर्षमा यो देखिएको छ।

खोप

भिक्टोरिया सरकारका अनुसार सन् १९६६ वा त्यस पछि जन्मिएका र खोप लगाएको प्रमाण नभएका मानिसहरूमा सङ्क्रमण हुने सम्भावना बढी छ।

“दादुराको खोप नलगाएका बालबालिकामा पनि सङ्क्रमण हुने खतरा रहन्छ,” विभागले भनेको छ।

“६ महीनाका शिशुहरूलाई दादुराको जोखिम रहेका मुलुकहरूमा भ्रमणमा जाँदा मिसल्स–मप्स–रुबेलाको (एमएमआर) खोप उपलब्ध छ।” विज्ञप्तिमा भनिएको छ।

प्राध्यापक केलि खोपको दुई डोज लगाउँदा, ९९ प्रतिशतलाई जीवनभरको सुरक्षा मिल्ने बताउँछन्।

“पहिले सङ्क्रमणमा परेका मानिसहरूमा पनि खोप लगाएपछि प्रतिरोधात्मक क्षमता बन्छ।”

राष्ट्रिय खोप योजना अन्तर्गत १२ महीनाका शिशुहरूलाई सरकारले एमएमआर खोप उपलब्ध गराउँछ।

विदेश जाने क्रममा कुनै बालबालिकाले आठ महिनामा एमएमआर खोप लगाएपछि, १२ महिना र १८ महिनामा खोप लगाउनै पर्ने राष्ट्रिय खोप योजनाले बताएको छ।

“एमआर खोप दादुरा फैलिएका मुलुकमा भ्रमणमा जाने ६ देखि १२ महीनाका बालबालिकाले निःशुल्क पाउँछन्।”

यदि कोही व्यक्ति सानोमा खोप लगाउन छुटेको खण्डमा मेडीकेयर मार्फत २० वर्षको उमेरसम्म दादुरा खोप लगाउन मिल्ने अस्ट्रेलियाली सरकारले बताएको छ।

एसबीएस अस्ट्रेलियाका बहु सांस्कृतिक र बहुभाषिक समुदायहरूलाई कोभिड-१९ बारे सबै अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित र जानकार रहनुहोस्, र नेपाली भाषामा पछिल्लो जानकारीका लागि एसबीएस कोरोनाभाइरस पोर्टल नियमित हेर्नुहोस्


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now