SKIP TO MAIN CONTENT

नेपाल फर्किएर सङ्गीत विद्यालय खोल्छु: विश्व कीर्तिमानी गिटारिस्ट निर्भाना विष्ट

२०१५मा सबैभन्दा छिटो गिटार बजाएर अफिसियल वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गरेका निर्भाना विष्ट अहिले अस्ट्रेलियामा सङ्गीत विषयमा स्नातक गरिरहेका छन्। आफ्नो पढाइ सकिएपछि नेपाल फर्केर सङ्गीत विद्यालय खोल्ने योजना उनको रहेको छ।

Nirvana Bista
Source: Facebook/Nirvana Bista

3 min read

Published

Updated

By Sunita Pokharel



Skip to article content

निर्भानाले आफू १६ वर्षको हुँदा 'फ्लाइट अफ द बम्बल्बी' अर्थात् 'भमराको उडान' नामको साङ्गीतिक रचनामा १ हजार ६ सय बिट प्रति मिनेट को टेम्पोमा गिटार बजाएर विश्वको सबैभन्दा तीव्र गतिमा गिटार बजाउने व्यक्ति बनेका थिए।

१२ वर्षको हुँदा पहिलो पटक गिटार समातेका उनी, भारतको मसुरीमा १० कक्षामा पढिरहेको समयमा त्यहीँ एउटा साङ्गीतिक ब्यान्डसँग आबद्ध भएका थिए।

"अरूहरूले डाक्टरको छोरा डाक्टर हुन छोडेर के गिटार बजाई रहेको भने, तर मेरो ड्याडीले त्यस्तो कुराहरूलाई मतलब नै गर्नुभएन।"

केही समय पछि ब्याण्डका एक साथीले एउटा भिडियो देखाएर त्यसरी नै बजाउन सक्छौ भन्ने प्रश्न गरेपछि त्यसलाई चुनौतीका रूपमा स्विकारेको सम्झिनछन् ।

आफ्ना स्कुले जीवन सम्झँदै विष्टले हाँस्दै भने, "दिनमा चार पाँच घण्टा त अभ्यास गर्थे नै। एक्लै भयो कि घन्टौँसम्म बजाएको बजाकै पनि गर्थे, अनि कति क्लासहरू त बंक नै पनि गरे।"

विद्यालय जानु पर्ने उनले गिटार बजाउन बढी समय बिताउन थाले पछि कक्षा ९ मा एक वर्ष पढाइ दोहोर्यानु परेको याद गरे। 

वीर अस्पतालका न्युरो सर्जरी विभागका प्रमुख प्राध्यापक डाक्टर प्रकाश विष्ट र शैली राणाका छोरा निर्भाना परिवारको साथ र सहयोगको बारेमा बताउँदै आफूलाई अत्यन्त भाग्यमानी भएको ठान्छन्।

"नेपालमा सङ्गीतमा पनि केही गर्न सकिन्छ भन्ने शिक्षा छैन।"

पढ्न पठाएको छोरो यसरी सङ्गीत तर्फ लाग्दा आमा बुवाको कस्तो प्रतिक्रिया आउँथ्यो हाम्रो प्रश्नमा उनले सहजै उत्तर दिए "अरूहरूले डाक्टरको छोरा डाक्टर हुन छोडेर के गिटार बजाई रहेको भने, तर मेरो ड्याडीले त्यस्तो कुराहरूलाई मतलब नै गर्नुभएन।"

आफ्नी आमाको आशीर्वाद र साथ बिना यो कुनै कुरा संभव  नरहेको प्रस्ट्याउँदै निर्भानाले अगाडी भने, "मामुले पनि गिटार बजाउन बन्द गर्नु त पर्दैन तर पढाइमा पनि ध्यान चाहिँ देऊ भन्नुहुन्थ्यो।"

Nirvana Bista
Source: Supplied

सानै उमेरमा चर्चित भए पनि निर्भानाले विश्व रेकर्ड राखेको भिडियोमा आएका नकारात्मक कमेन्टहरू पढ्दा भने निकै दु:ख लागेको एसबीएस नेपालीलाई बताए।

त्यतिबेलाका सोही विधामा रेकर्ड राख्ने अमेरिकी ड्यानियल हाइम्बौच को १ हजार ३ सय बीपीएमलाई उछिनेका निर्भानालाई कतिपयले झुटो त कतिले त्यस्तो गर्न सम्भव नै नभएको लेखेका छन्।

इन्डियामा हुन्छ, अमेरिकामा हुन्छ, अस्ट्रेलियामा हुन्छ भने नेपालमा किन हुँदैन?

'अभ्यास त कति गरेँ' भन्दै आफ्नो हातका औँलामा रेखाहरू मेटिएको देखाए भने कैले २/२ किलो को तौल बाँधेर अभ्यास गर्नाले साह्रो भएको नारी देखाए। तर यति धेरै मेहनत गर्दा गर्दै पनि झुटो हो भन्दा धेरै नराम्रो लागेको बताए।

साथै, भारतमा पढेको मात्र भए पनि निर्भानाले आफू नेपाली नभएर भारतीय हो भन्ने सम्मको कमेन्ट पाएको बताएका छन्। आफ्नो सबै परिचय पत्रहरू नेपालीको रूपमा हुँदा 'कसरी म भारतीय भएँ?' भनेर उनले व्यङ्ग्यात्मक शैलीमा प्रतिप्रश्न गरे।

गिटारलाई मुख्य विषय राखेर सिड्नीको एक शिक्षालयमा आफ्नो पहिलो सेमेस्टर पुरा गरिसकेका उनी द्रुत गतिमा गिटार बजाउन सक्नु र राम्रो बजाउनुमा धेरै अन्तर रहेको बताउँछन्।  

उनी आफूलाई खासै राम्रो सङ्गीत सर्जक मान्दैनन्, सङ्गीतको क्षेत्रमा अझै धेरै बुझ्न बाँकी रहेको अनुभव गरेर सङ्गीत विषय पढेको बताउँछन्।

"म नेपाल नै फर्केर जान्छु, नेपालमा सङ्गीतको स्कोप नभएको होइन, नेपालीहरूमा सङ्गीतमा क्षमता नभएको होइन।

इन्डियामा हुन्छ, अमेरिकामा हुन्छ, अस्ट्रेलियामा हुन्छ भने नेपालमा किन हुँदैन? किनभने नेपालमा सङ्गीतमा पनि केही गर्न सकिन्छ भन्ने शिक्षा छैन। त्यही शिक्षा दिलाउन म नेपाल जान्छु।"

नेपालमा सङ्गीत क्षेत्रमा धेरै प्रतिभाहरू भए पनि विदेशमा जस्तै यस विषयलाई प्राथमिकता नदिइँदा कतिपयले यो क्षेत्र नै छोड्नु परेको उनको भनाइ थियो। तर आफूले नेपालमा नै सङ्गीत सिक्ने अवस्था पर्याप्त होस् भन्ने चाहना अनुरूप नेपालमा सङ्गीत विद्यालय खोल्ने उद्देश्य राखेको पनि बताए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now