SKIP TO MAIN CONTENT

सिड्नी, मेलबर्न र एडिलेड संसारकै उत्कृष्ट १० सहरहरूको सूचीमा कसरी परे?

पश्चिमी युरोप र उत्तरी अमेरिका संसारकै सबैभन्दा बस्न योग्य स्थान रहेको बताइँदै गर्दा यो वर्ष पनि अस्ट्रेलियाका प्रमुख तीन सहरहरू “टप टेन” भित्र पर्न सफल भएका छन्, तर किन?

Syd Mel Adl
Source: Stockpholio

3 min read

Published

Updated



Skip to article content

बेलायती पत्रिका दि इकोनोमिस्टको “इन्टेलिजेन्स युनिट” (इआईयु)द्वारा हरेक साल प्रकाशित हुने “दि ग्लोबल लिभेबिलीटी इन्डेक्स”को २०१९ सालको संस्करणमा अघिल्लो वर्ष झैँ यसपालि पनि अस्ट्रियाको राजधानी भियनाले बाजी मारेको छ।

त्यसै गरी, अस्ट्रेलियाका दुई प्रमुख सहरहरू मेलबर्न र सिड्नी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

कुनै जमानामा अस्ट्रेलियाको राजधानी समेत रहेको भिक्टोरियाली राजधानी मेलबर्न उक्त सूचीमा सन् २०११ देखी २०१७ सम्म लगातार ७ वर्ष पहिलो स्थानमा रहन सफल भएको थियो।

साथै, दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेड १० औँ स्थानमा उक्लन सफल भएको छ भने पश्चिम अस्ट्रेलियाको राजधानी शहर पर्थ १४ औँ र क्विन्सल्याण्डको राजधानी ब्रिसबेन १८ औँ स्थानमा सूचीकृत भएका छन्।

सहरहरू सूचीवद्ध कसरी हुन्छन्?

इआईयुले संसार भरिका सहरहरूलाई विभिन्न विषय माथि केन्द्रित रहेर अङ्क प्रदान गर्छ र १०० पूर्णाङ्कमा सबैभन्दा अधिक नम्बर ल्याउन सक्ने सहर पहिलो हुन्छ।

अब के नयाँ भयो त भन्नुहोला।

तर यो अङ्क दिँदा भने इआईयुले हचुवाको भरमा दिने होइन।

माथि भने झैँ अनेकौँ कारकतत्वहरुमा सहरले आफ्ना बासिन्दाहरूलाई के-कस्ता सुविधाहरू प्रदान गर्छ भनेर उसले हेर्छ र त्यसको मुल्याङ्कन गरेर नम्बर दिन्छ।

प्रमुख रूपमा, उसले सहरहरूलाई श्रेणीवद्ध गर्दा हेर्ने विषयहरूमा राजनैतिक तथा आर्थिक स्थायित्व, यातायात, अपराध, शिक्षा र स्वास्थ्य सेवामा नागरिकको पहुँच नै हो।

वायुको गुणस्तर, औसत तापमान र पानीको व्यवस्था

यसपालि भने इआईयुले जलवायु परिवर्तनद्वारा जीवनयापनमा पार्ने असरलाई समेत अङ्क दिँदा आधार बनाएको छ जसको कारणले भारतीय राजधानी नयाँ दिल्ली र इजिप्टको राजधानी कायरो अघिल्लो वर्षभन्दा तल पुग्दै क्रमशः ११८ र १२५ औँ स्थानमा झरेका छन्।

इआईयुका अनुसार नयाँ दिल्ली र कायरो जस्ता सहरहरू वायुको खराब गुणस्तर, अवाञ्छनीय औसत तापमान र पिउन योग्य स्वच्छ पानीको अपर्याप्त व्यवस्थाका कारण यो वर्षको सूचीमा खस्केका हुन्।

तर, यी पर्यावरणीय विषयहरूकै कारण न्यु साउथ राज्यको राजधानी समेत रहेको सिड्नी भने अघिल्लो वर्षको तुलनामा दुई स्थान माथि उक्लन सफल भएको छ।

“सिड्नीको र्याङ्क बढेको छ…उसको सांस्कृतिक एवं पर्यावरणीय नम्बर बढेको कारण। सिड्नी सहरले घोषणा गरेको ‘दिगो सिड्नी २०३०’ रणनीतिले पनि उसलाई माथि उक्लिन मद्दत गरेको छ,” इआईयुले भनेको छ।

इआईयुका अनुसार, मेलबर्न वा भियनालाई विस्थापित गर्न सिड्नीलाई निकै हम्मे-हम्मे पर्नेछ।

“सिड्नीको चिरपरिचित प्रतिद्वन्द्वी सहर मेलबर्न अनि पहिलो नम्बरमा रहेको भियनाले निकै उच्च अङ्क पाएका छन्। अनि, सिड्नीले पनि सम्भाव्य सबै अङ्क प्राप्त गरिसकेको कारण ऊ तेस्रोबाट माथि उक्लेर ती दुई सहरहरूलाई अहिले नै विस्थापित गर्न सक्ने स्थिति छैन,” इआईयु अगाडी भन्छ।

अन्य सहरका कथा व्यथा

उता, फ्रान्सको राजधानी पेरिस भने सरकार विरोधी “पहेँलो गन्जी” आन्दोलनका कारण ६ खुड्किलो तल झर्दै २५ औँ स्थानमा पुगेको छ।

यसै गरी, हंगकंग पनि तीन स्थान तल झर्दै ३८ औँ स्थानमा पुगेको छ।

लन्डन अनि न्युयोर्क जस्ता नामुद सहरहरू पनि खासै माथि छैनन्।

विशेष गरी, ती सहरहरूमा आतङ्कवादी हमला हुनसक्ने धारणा व्याप्त रहेको र आपराधिक क्रियाकलापहरू उल्लेखनीय रहेको बताइएको छ।

लन्डन ४८ औँ स्थानमा रहेको छ भने न्युयोर्क ५८ औँ स्थानमा रहेको छ।

बस्न लायक नरहेका सहरहरू

दि ग्लोबल लिभेबिलीटी इन्डेक्सले प्रकाशित गरेको उक्त सूचीमा सबैभन्दा तल परेका सहरहरूमा सिरियाली सहर डम्यास्कस, नाइजेरियाली सहर लागोस्, बङ्गलादेशी राजधानी ढाका प्रमुख छन्।

अर्को दक्षिण एसियाली सहर - पाकिस्तानको कराँची तलबाट ५ औँ स्थानमा परेको छ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now