Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"उड्ने ट्याक्सी" सुरु गर्न उबरले मेलबर्नलाई छान्यो

उबर एयरले आफ्नो "उड्ने गाडी" सेवा सुरु गर्न मेलबर्नलाई पहिलो अन्तर्राष्ट्रिय सहरका रूपमा चुनेको छ।

Uber Air plans to commence commercial operations in 2023.

تصویری طراحی شده از نمای پرواز اوبر هوایی بر فراز شهر ملبورن Source: Uber

हाल सडकमा सिमित रहँदै निजी सवारीलाई ट्याक्सी जस्तै गरी सेवा संचालन गर्दै आएको उबरले अब हवाई मार्गबाट पनि मानिसहरु ऒसारपसार गर्ने जमर्को गरेको छ। 

आगामी वर्षदेखि परीक्षण उडान भर्ने जनाउँदै उबर एयरले आफ्नो उड्ने कार परियोजनाका निम्ति मेलबर्नलाई पहिलो अन्तर्राष्ट्रिय आधार बनाउने घोषणा गरेको छ।

मेलबर्न बाहेक अमेरिकी शहरहरु ड्यालस र लस एन्जलसमा पनि यस्ता परीक्षण उडानहरू गरिने उबर एयरले हाल वाशिङ्ग्टनमा जारी रहेको “एलेभेट” नामक एक सम्मेलनमा बताएको छ।

भिक्टोरियन सरकारले उबरद्वारा गरिएको यस घोषणालाई स्वागत गर्दै मेलबर्नलाई यस्तो “क्रान्तिकारी” सवारीका लागि छानेकोमा धन्यवाद दिएको छ।

राज्यका आर्थिक विकास सम्बन्धी मामिलाका मन्त्री टिम प्यालसले एक वक्तव्य जारी गर्दै भने, “हामीलाई नागरिक उड्डयन क्षेत्रको अग्रपङ्क्तिमा राख्ने अवसर दिँदै यातायातको भविष्य मेलबर्न आउँदछ।”

उड्ने कारको परिकल्पना

तपाईँहरू बच्चा हुँदा टिभीमा आउने कार्टुन चित्रहरू त अवश्य हेर्नुभएको थियो होला। ती मध्ये जेट्सन् नामको कार्टुन चाहिँ कत्तिको याद छ? छैन भने, यो सानो “जेट्सन्”को धुन भएको युट्युब भिडियो हेर्नुहोस्।

अब याद आयो?

सम्झनै सक्नु भएन भने पनि ठिकै छ, अब यथार्थै मै जोर्ज जेट्सन झैँ उड्ने कारमा चढेर सरर घर, काम गर्न सक्नुहुनेछ।

अहँ, त्यति छिटो भने होइन है, अलिक समय त कुर्नै पर्नेछ!

उबर एयरका अनुसार सबै कुरा सोचे अनुरूप नै भयो भने अर्को सालदेखि परीक्षण उडान हुँदै सन् २०२३ सम्ममा उक्त सेवा पूर्ण सञ्चालन हुनेछ।

Uber VTOL Aircraft
Source: Supplied

त्यसो हुनुमा पहिलो कारण धावनमार्गको सहयोग बिना नै उड्न यिनीहरू हावामा सिधै तल माथि गर्ने हेलिकप्टर झैँ भर्टिकल-टेक-अफ-एन्ड-ल्यान्ड अथवा “भीटोल” भनिने उड्ने हवाईजहाज हुनुपर्नेछ।

अनि, हाम्रो विमान (उड्ने कार) सुरक्षित छन् भनेर नागरिक उड्डयन तथा हवाई सुरक्षा प्राधिकरणको पनि चित्त बुझाउनु पर्नेछ, उबर एयरले।

अस्ट्रेलियाको नागरिक उड्डयन तथा हवाई सुरक्षा प्राधिकरण (कासा)का प्रवक्ता पिटर गिब्सनका अनुसार उबर एयरका उड्ने गाडीहरू संचलानमा आउनु पूर्व उसले सुरक्षाका दृष्टिकोणबाट निकै कामहरू गर्नुपर्नेछ।

त्यसका लागि उसले आफ्नो उड्ने कार सन्चालनहुने रुट र त्यसरी उड्दा कम सतहबाट उड्ने अन्य हलुका हवाईजहाज वा हेलिकप्टरलाई अप्ठेरो नहुने कुराको विश्वास नियामक संस्थालाई दिनुपर्नेछ।

“यो विकास विश्वकै नागरिक उड्डयनका क्षेत्रका लागि पहिलो हो,” उनले भने।

कति जति पर्ला त उड्ने कार चढ्न?

एक प्रारम्भिक अनुमान अनुसार, यसरी उबर एयर चढेर मेलबर्न सहरको मुख्य व्यापारिक क्षेत्रदेखि टुलामरिन एयरपोर्टसम्म जाँदा लगभग ८० देखि ९० डलरसम्म शुल्क लाग्नेछ भने, अहिले ट्याक्सी चढेर जाँदा करिब ६०/६५ डलर मिटर भाडा उठ्छ।

ट्राफिकमा फसियो भने त समय र भाडा दुवै नै बढी लाग्ने छँदैछ।

उबरका अनुसार अहिले मेलबर्न सहरको मध्य भाग देखि उक्त विमानस्थलसम्म पुग्न करिब १ घण्टा लाग्छ जसलाई उसको हवाई सेवा प्रयोग गरेर करिब १० मिनेटमै छिचोल्न सकिनेछ।

कस्तो हुनेछ त यो उड्ने कार?

यसबारे उबर एयरले सार्वजनिक गरेको चित्रहरू हेर्दा यसबारे अनुमान लगाउन सकिन्छ।

हेलिकप्टर झैँ देखिने यी विमानहरू उबरकै शब्दमा भन्नुपर्दा भने ती भन्दा निकै कम आवाज गर्ने, प्रदूषण गर्ने र धेरै भन्दा धेरै मानिसहरूलाई सेवा दिने खालका र स्वचालित हुनेछन्।

तर, यी अनुमान र कल्पनामा आधारित तस्बिर भन्दा निकै परिष्कृत र पृथक् पनि हुन सक्नेछन् उबर एयरका उड्ने गाडीहरू!

साथै, यस्ता उड्ने कारहरूले कति भार बहन गर्न सक्छन्, एकै पटक कतिजनासम्म चढ्न सकिन्छ र कतिसम्म आफ्नो झितिगुण्टा लिएर विमानस्थल पुग्न सकिन्छ भन्ने कुराले पनि आज घोषणा गरिएको सेवा कसले लिन सक्छन् भन्ने कुरा आउँदा दुई तिन वर्षमा प्रस्ट हुँदै जानेछ।

के यो धनाढ्यहरूका लागि त हैन?

अस्ट्रेलिया तथा न्युजिल्याण्डमा उबरको सञ्चालन हेर्ने महाप्रबन्धक सुजन एन्डरसनका कुरा मान्ने हो भने उबर एयरले धनी मानी भन्दा पनि तपाईँ हामी जस्ता आम मानिसलाई आफ्नो ग्राहक बनाउन तल्लीन रहेको छ।

“हामीले अति धनी वर्गका मानिसहरूभन्दा पनि धेरै मानिसहरूले यो नयाँ सेवाको उपभोग गरुन् भन्ने चाहाना राखेका छौँ, उनले न्यु कर्पसँगको एक कुराकानीको क्रम बताइन।

अरू कुन ठाउँमा चल्ला त उबर एयर?

Uber Air VR 3D
Source: Supplied

उबरले मेलबर्न देखि जीलंगसम्म उडान भर्ने बारे सोच पनि बनाइरहेको बताइएको छ।

एन्डरसनका अनुसार भने उबर हाल सम्भाव्यता अध्यनको क्रममा रहेको र सम्भव हुने बित्तिकै अन्य अस्ट्रेलियन सहरहरूमा आफ्नो सेवा विस्तार गर्नेछ।

“पछिल्लो समयमा आएर अस्ट्रेलियाको जनसङ्ख्या निकै द्रुत गतिमा बढी रहेको छ।”

“त्यस कारण पनि यातायातका वैकल्पिक साधनहरू खोज्नु जरुरी छ, उनले भनिन्।

के उबर मात्र छ त यस्तो हवाई सेवा दिने?

अहँ, अरू पनि छन्।

विश्वकै प्रमुख विमान निर्माण कम्पनी एयरबसले पनि आफ्नो हवाई ट्याक्सीको परीक्षण उडान गरिरहेको बताएको छ।

उबर एयर झैँ यो पनि भीटोल प्रणालीमै आधारित सेवा हो।

त्यसै गरी भोलोकप्तर नामक जर्मन कम्पनी पनि यस्ता स्वचालित ड्रोनमा आधारित विमान बनाउन लागिपरेको छ। उसले यो वर्षको आखिरी तिर सिङ्गापुरमा यसको परीक्षण गर्नेछ।

अनि, छिमेकी न्युजिल्याण्डको हवाईसेवाले पनि आफैँ चल्ने हवाई विद्युतीय ट्याक्सी सेवा सञ्चालनमा ल्याइन लागेको बताइसकेको छ।

उबरका साझेदारहरू

उडाउने कारको योजनामा उबर आफू एक्लै लागि परेको छैन।

निकै धेरै लगानी चाहिने र अत्याधुनिक प्रविधिको प्रयोग हुने यो परियोजनाका लागि उबरले मक्वारी क्यापिटल्ससँग सहकार्य गर्दै मेलबर्नका विभिन्न ठाउँहरूमा विमान उडाउने “स्काईपोर्ट्स” नामकरण गरिएको “लन्च प्याड”हरूको निर्माण गर्नेछ।

Uber Air Skyport
Source: Supplied

यस्ता स्काईपोर्टहरूका लागि उसले सहरका अग्ला गगनचुम्बी भवनहरू माथि रहेका “हेलिप्याड”हरू र कारपार्कहरु पनि प्रयोगमा ल्याउन सक्ने बताइएको छ।

त्यस्तै टेल्सट्रा, मेलबर्न विमानस्थल, सेंत्रे समूह लगायतका कम्पनीहरूसँग पनि उबरले हातेमालो गर्दै अगाडी बढ्ने बताएको छ।


4 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now