मानसिक स्वास्थ्य बारे चर्चा अझै पनि समाजमा बहिष्कृत बिषय बनिरहँदा सिड्नी निवासी सोनु पुडासैनीले आफुले भोगेको मानसिक समस्याको बारेमा बोलेकी छन्।
आफ्नो भोगाइका बारेमा बोल्दा कसैलाई अलिकति मात्र पनि सहायोग पुग्छ भने यो बिषयमा जहिले पनि बोल्न तयार रहेको उनले बताइन।
हाल न्यु साउथ वेल्सको रक्डेल बसोबास गर्ने सोनु सन् २०१४ मा धेरै सपनाहरु बोकेर अस्ट्रेलिया आइन। व्यवस्थापन बिषयमा स्नातकोत्तर गरुन्जेल पढाई, काम र साथीभाई तथा श्रीमानसंगको रमाइलोमा समय बितेको थियो।
तर, पढाई सकिएपछि पीआर लिने ध्याउन्नमा प्रोफेशनल इयर, अंग्रेजी भाषा परिक्षा लगायत स्थाई बसोबास आवेदन लागि चाहिने आधारभूत योग्यताहरु प्राप्त गर्न लागिरहँदा कति खेर आफु मानसिक रुपमा कमजोर भैसकेको पत्तै पाइनन्।
सोनु भन्छिन "सबैकुरा राम्रै भैराखेको थियो, तेस्तो चिन्ताको बिषय केहि थिएन तर मन यस्तो भारि हुन्थ्यो कि बिहानै उठेर एकपटक मन खोलेर रोएपछि मात्र मेरो दैनिकी सुरु हुन्थ्यो।"
उनका अनुसार "सहयोगी परिवार, आफुलाई बुझ्ने साथीसंगीहरु र सोचेजस्तै जीवन यापन गरिरहे तापनि सँधै केही कुरा छुटेजस्तो भइरहने गरेको अनुभव यस्तो जिवन्त हुन्थ्यो कि अरुलाई हाँसेको देख्दा पनि कसरी मान्छे यति खुशी हुनसक्छ भनेर अचम्म लाग्ने गर्थ्यो।"
आफुलाई बेला बेलामा आत्महत्या गर्ने सोच आउने र त्यही अनुसार योजना पनि बनाउन थालिसकेकी उनले हामीलाई बताईन। साथी तथा परिवारबाट मानसिक परामर्श लिन सुझावहरु आए पनि परामर्शका लागि आँट जुटाउन गाह्रो भएको उनले कुराकानीको क्रममा खुलस्त पारिन्।
दक्षिण पुर्वी सिड्नीको स्वास्थ्य बिभाग अन्तर्गतको प्रथामिकतामा परेका समुदायहरुलाई हेर्ने समुहकी प्रमुख लिजा वूडलैंड, नेपाली समुदायमा देखिएका मानसिक स्वास्थ्य समस्याहरु, सामुदायिक संगठनहरुको सहकार्यमा विभिन्न कार्यक्रमहरु मार्फत सम्बोधन गर्ने गरेको बताउछिन। साथै, नेपाली भाषामा राखिएका १० मानसिक स्वास्थ्य सम्बन्धि सामाग्रीहरु पनि सहयोगी हुनेमा कुरामा जोड दिन्छिन्।

"नयाँ समुदायका लागि अस्ट्रेलियाको स्वास्थ्य प्रबन्धका बारेमा जान्न गाह्रो हुन्छ, चाहे त्यो शारीरिक स्वास्थ्य होस् या मानसिक स्वास्थ्य। त्यसैले, आफ्नो मातृभाषामा लेखिएका सामाग्रीहरुले पनि उनीहरुलाई मार्ग निर्देश गर्न सक्छ। यस्तो अवस्थामा हामी समुदायसंग घुलमिल हुन मद्दत गर्छौ।"
समाजमा मानसिक स्वास्थ्य समस्याका बारेमा रहेको नकारात्मक दृष्टिकोण र त्यसमाथि पनि समुदायमा 'बौलाएको' भनिने डरले लामो समय हिम्मत जुटाउन नसकेकी सोनु, अहिले भन्छिन, "यस्ता शब्दहरुबाट निरुत्साहित नहुनुहोस् बरु समस्याको बारेमा आफ्ना नजिकका मानिसहरुलाई सकेसम्म चाँडो भन्नुहोस्, सहयोग माग्नुहोस्। "
बाहिर आत्मविश्वासीको आवरण ओढेकी तर भित्रभित्रै धेरै कमजोर महसुस गर्ने एवं सामाजिक रुपमा आफैलाई अलग्याएकी सोनुले सहयोग लिने आफ्नो निर्णयबारे भनिन्, "मैले आफ्नो खाना खाने तरिकामा आएको परिवर्तन, निन्द्रा नलाग्नु लगायतका लक्षणहरु आफुमा पाएपछि, छिटो भन्दा छिटो परामर्शको आवस्यकता देखें।"
एसबीएस नेपालीसँगको कुराकानीका क्रममा सोनुले भावुक हुँदै भनिन्, "मेरो घरबाट अस्पतालसम्म जम्मा-जम्मी १० मिनेटको बाटो होला। तर परामर्श लिन हिंडेको त्यो हिडाई, मेरो जिन्दगीकै सबैभन्दा लामो दस मिनेट जस्तो लागेको थियो।"
संभावित नकारात्मक परिणामहरु मनमा खेलाउँदै अस्पताल पुगेकी सोनुलाई त्यो पहिलो परामर्श सत्र एक सामान्य स्वास्थ्य जांच जस्तो लागेको थियो।
"उपचारमा संलग्न सबैजना अत्यन्त कार्यकुशल र सहयोगी थिए" अनुहार उज्ज्यालो पार्दै सोनुले भनिन्। ६ वटा परामर्श सत्रसम्ममा आफु धेरै सकारात्मक तथा आत्मविश्वासी भएको पनि उनले हामीलाई प्रस्ट पारिन्।
"आफुलाई मानासिक समस्या भएको अरुले अनुभव गर्ने भन्दा आफुले नै महसुस गर्ने हो। आफुलाई चाहिने सहयोग लिन हच्किन पर्दैन। डर भनेको मनरोग हो, पाल्यो भने यसले हामीलाई खान्छ।"
मनोचिकित्सकहरुका अनुसार पनि आफ्नो अवस्थालाई अस्विकार गर्नु मानसिक स्वास्थ्य सहयोगको बाटोमा सबैभन्दा ठुलो बाधा हो। एंग्जाइटी, डिप्रेसन, कुलत लगायतको समस्याबाट गुज्रिरहेका मानिसहरु आफ्नै दुनियामा बस्न चाहन्छन, उनीहरुलाई आफ्नो जीवनमा कसैले दखल दिएको अथवा प्रश्न गरेको स्वीकार्य हुँदैन।
"समयमा नै परामर्श नलिएको भए म आज यहाँ मानसिक स्वास्थ्यको बारेमा शायदै बोलिरहेको हुने थिएँ होला।"
मनोचिकित्सक घनश्याम चापागाईं नेपाली समुदायमा प्राय प्राथमिक चरणका मानसिक समस्याहरुलाई खासै ध्यान नदिने र धेरै जटिल भएपछि मात्र स्वास्थ्य परामर्श लिने प्रचलन रहेको बताउँछन्।

चापागाईंले एसबीएस नेपालीसंग गरेको कुराकानीमा आधारित केही टिप्पणीहरु :
- हाम्रो समुदायमा मानसिक स्वास्थ्य समस्या बढेको भन्दा पनि अस्ट्रेलियामा नेपालीहरुको संख्या बढेसंगै समस्यामा पनि वृद्धि भएको हो।
- समस्या जटिल हुनु पुर्व नै सहयोग लिने बानी बसाल्नुहोस्
- नेपालमा पनि मानासिक समस्या भएका तर यहाँ आइसकेपछि पनि कुनै उपचार तर्फ ध्यान नपुर्याउने गर्दा जोखिम बढ्ने गरेको पाइन्छ
- मानसिक समस्या भएको भनेपछि आफ्नो भिसामा केहि असर पर्ने हो कि भनेर नेपालीहरु परामर्श लिन हिच्किचिने गर्दछन
सहयोगका लागि कहाँ जाने त ?
विद्यार्थी हुनुहुन्छ भने आफु अध्यान गर्ने संस्थाको परामर्श सेवाको सहयोग लिन सक्नुहुनेछ। हरेक विश्वविद्यालय तथा टेफहरुमा रहने सेवा केन्द्र (सर्विस सेन्टर)हरुमा यसको लागि सम्पर्क गर्नसक्नुहुनेछ। उनीहरुले तपाईंलाई पायक पर्ने तथा सही विशेषज्ञसँग सम्पर्क गराइदिने छन्।
अन्यका हकमा भने आफु नजिकैको डाक्टर (जीपी)कहाँ सम्पर्क गर्नु उत्तम हुन्छ। तर, समस्या एकदमै गम्भीर तथा जटिल भईसकेको अवस्थामा भने ००० (ट्रिपल जेरो)मा फोन गर्नुपर्छ वा तत्काल नजिकैको हस्पिटको आकस्मिक सेवामा सम्पर्क गर्नुपर्छ।
यसका साथै, वियंडब्लु तथा लाईफ-लाइन नामक संस्थामा पनि सम्पर्क गर्न सक्नुहुनेछ। लाईफ-लाइनको संकट सहायता तथा आत्महत्या रोकथाम सम्बन्धि २४ घन्टे हटलाइन १३ ११ १४मा फोन गरेर पनि तपाईंले उचित परामर्श लिन सक्नुहुन्छ।
थप जानकारीका निम्ति यो लिङ्कमा जानुहोस्: https://www.healthdirect.gov.au/types-of-mental-illness
