अस्ट्रेलिया भर गत एक दशकमा डुबेर आफ्नो ज्यान गुमाउने मानिसहरूको कूल सङ्ख्याको २७ प्रतिशत मानिसहरू विदेशमा जन्मिएका थिए।
रोयल लाइफ सेभिङ्ग सोसाइटीकी स्टेसी पीजनले एसबीएस समाचारलाई बताए अनुसार गए दश वर्षमा डुबेर मृत्यु हुने मानिसहरूको सङ्ख्या घट्दै गए पनि केही निश्चित समूहका कारण सोचे अनुरूपले घट्न भने सकेको छैन।
“अब यही वर्षको मात्र कुरा गर्नुहुन्छ भने पनि बहुसांस्कृतिक पृष्ठभूमिका मानिसहरू डुब्ने सङ्ख्या वृद्धि हुँदै गएको तथ्याङ्कहरूले देखाएका छन्,” उनले भनिन्।

सोसाइटीले गत सोमबार जारी गरेको एक रिपोर्ट अनुसार यसरी डुब्ने जोखिममा सबैभन्दा बढी नेपाल लगायत ताइवान, साउथ कोरिया, आयरल्यान्ड र सुडानबाट आउने मानिसहरू परेका छन्।
भविष्यमा यस्ता दुर्घटनाहरू दोहरिन नदिन बहुसांस्कृतिक पृष्ठभूमिका मानिसहरू प्रति लक्षित कार्यक्रमहरू अझै प्रभावकारी रूपमा ल्याउनुपर्ने नेपालीज अस्ट्रेलियन एसोसिएसनका ऋषि आचार्य बताउँछन्।

“हाल धेरै जानकारीहरू अङ्ग्रेजीमा उपलब्ध छन्, अनि ती सबैका लागि उपयुक्त नहुन पनि सक्छन् वा सबैले बुझ्छन् भन्ने पनि छैन।”
“यदि ती जानकारीहरू बहुसांस्कृतिक पृष्ठभूमिका मानिसहरूलाई लक्षित गर्दै तयार पारियो भने राम्रो हुनेछ,” उनले एसबीएस समाचारलाई भने।
अस्ट्रेलियामा डुबेर ज्यान गुमाउनेको सङ्ख्या
देशभर आर्थिक वर्ष २०१८/१९ मा २७० जनाले डुबेर ज्यान गुमाउनु भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १० प्रतिशतको वृद्धि भएको रोयल लाइफ सेभिङ्ग सोसाइटीको सोमबार प्रकाशित वार्षिक प्रतिवेदनमा उल्लेख छ।
गत गर्मीयामका तीन महिनामा मात्र अस्ट्रेलियाभर १२३ जनाको डुबेर मृत्यु भएको थियो, जुन पछिल्लो एक दशकको औसत भन्दा लगभग १७ प्रतिशतले अधिक हो।
पानी वरिपरि लापरवाहीपूर्ण व्यवहार र पौडी खेल्ने कमजोर क्षमताका कारण डुब्ने सङ्ख्यामा वृद्धि भएको रोयल लाइफ सेभिङ्गले जनाएको छ।

उक्त संस्थाका प्रमुख कार्यकारी जस्टिन स्कार्रका अनुसार सुक्खा गर्मीका कारण धेरै भन्दा धेरै मानिसहरू पानीमा पस्ने गरेका छन्।
“पानीमा कसरी सुरक्षित हुन सकिन्छ भन्ने बारे बुझ्न र त्यसलाई प्रयोगमा ल्याउन निकै जरुरी छ,” उनले भने।
सामुद्रिक तटहरूमा ज्यान गुमाउनेहरू मध्ये करिब ९० प्रतिशत मानिसहरू मादक पदार्थ र लागु औषध सेवन गर्ने पुरुषहरू रहेको उनी बताउँछन् ।
आव १८/१९ मा अस्ट्रेलिया भर १२२ जनाले सामुद्रिक तटहरूमा आफ्नो ज्यान गुमाएको तथ्याङ्क छ। अघिल्लो आव १७/१८ को तुलनामा यो १४ प्रतिशतको अभिवृद्धि हो।
राता र पहेँला झन्डा

साउथ कोरियाबाट अस्ट्रेलिया आएका ४० बर्सिया एलेक्स चाङका अनुसार नयाँ आप्रवासीहरूलाई सामुद्रिक किनारहरूमा राखिएका रातो र पहेँलो झन्डा बिचमा मात्र सुरक्षित रूपमा पौडी खेल्न सकिन्छ भन्ने कुरा नै थाहा हुँदैन।
“अस्ट्रेलियामा यो निकै सामान्य कुरो होला तर बाहिरबाट आएका मानिसहरूलाई ती झन्डाको माने के हो भन्ने कुरा थाहै हुँदैन,” हाल सिड्नीको तामरामा बिचमा स्वयंसेवी जीवन रक्षकका रूपमा कार्यरत चाङ भन्छन्।
“मैले पहिलो चोटि ती झन्डा देख्दा त ती खतराका संवाहक हुन् कि भन्ने लागेको थियो,” उनले प्रस्ट्याए।
स्वयंसेवी बन्दा बल्ल तल्ल पौडिन सक्ने चाङ आप्रवासीहरूलाई सुरक्षित रूपमा “सर्फ” गरेको देख्न आफू सम्मिलित “सर्फ क्लब”का कार्यक्रमहरूमा हाल कटिबद्ध भएर लागि परेको बताउँछन् ।
