SKIP TO MAIN CONTENT

साउथ अस्ट्रेलियामा “विनाशकारी डढेलो”को अवस्था, १०० भन्दा बढी विद्यालयहरू बन्द

साउथ अस्ट्रेलियाका विभिन्न जिल्लाहरूमा “क्याटस्ट्रोफिक” भनिने विनाशकारी दर्जाको डढेलो लाग्ने स्थिति उत्पन्न भएपछि, राज्यभरका १०० भन्दा बढी स्कूलहरूका साथै पार्कहरू पनि बुधवार बन्द हुने बताइएको छ।

NSW Rural Fire Service personnel prepare to tackle a bushfire at Gospers Mountainnear Putty, north-west of Sydney, Saturday, November 16, 2019.
NSW Rural Fire Service personnel prepare to tackle a bushfire at Gospers Mountainnear Putty, north-west of Sydney, Saturday, November 16, 2019. Source: AAP

2 min read

Published

Updated



Skip to article content

मौसम विभागका अनुसार साउथ अस्ट्रेलियाको राजधानी शहर एडिलेडमा बुधवार अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्नेछ भने मर्री ब्रिजमा ४५, रेन्मार्कमा ४४, पोर्ट अगस्टा, पोर्ट लिङ्कन, व्हाएल्लाका साथै पोर्ट पिर्रीमा पारो ४३ डिग्रीसम्म चढ्न सक्ने छ।

उसका अनुसार, यी तापक्रमहरूले नोभेम्बर महिनाका धेरै रेकर्डहरू तोडिन सक्नेछ भने एडिलेडमा सन् १९६२ पछिकै सबैभन्दा गर्मी नोभेम्बरको दिनका रूपमा आज स्थापित हुने सम्भावना छ।

तापक्रम बढ्नुका साथै, वायुमा धुलो जन्य प्रदूषणका कण व्याप्त भएर तुवाँलो लाग्ने र तीव्र वेगको हुरी बतास चल्ने पनि उक्त विभागले जनाएको छ।

माउन्ट लफ्टी रेञ्जेस र एडिलेड नजिकैको मिड नर्थ जिल्ला सहित राज्यभरका सात जिल्लाहरूमा विनाशकारी आगजनीको खतरा रहेको बताइएको छ भने अन्य दुईलाई “चरम” खतराको सूचिमा राखिएको छ र बाँकीका ६ जिल्लालाई गम्भीर श्रेणीमा राखिएको छ।

ग्रामीण अग्नि सेवा सीएफएसका उप-प्रमुख अधिकृत ब्रेनटन इडेनले आकस्मिक सेवाहरू दिनभर जसो नै उच्च सतर्कतामा बिताउने बताएका छन्।

“सात-सात वटा विनाशकारी आगजनीका चेतावनीलाई हामीले हल्का रूपमा लिएका छैनौँ - यो भन्दा खराब स्थिति अर्को हुन सक्दैन,” उनले भने।

“यसको अर्थ के हो भने, यदि आगजनी सुरु भइहाल्यो भने त्यस माथि हामीले काबु नपाउन पनि सक्छौँ र त्यसले मानिसहरूलाई ठुलो जोखिममा पार्न सक्छ।”

राज्यको अग्नि सेवासँग ११ अग्नि नियन्त्रक वायुयानहरु रहेता पनि तीव्र गतिको बतास चले तिनीहरू सञ्चालनमा ल्याउन नसकिने बताइएको छ।

राज्यको आपकालिन अवस्था हेर्ने स्टेट इमर्जेन्सी सर्भिसका प्रमुख ग्राएम वीनवूडले मानिसहरूलाई उच्च तापक्रमका बखत आफ्नो स्वास्थ्य जोगाउन केही साधारण कदमहरू लिन कन्जुस्याइँ नगर्न आग्रह गरेका छन्।

“(बुधवार दिनभर नै) पर्याप्त पानी पिउनुहोस् र बाहिर घाममा सकेसम्म ननिस्की तातो वातावरणबाट जोगिएर चिसो गरेर बस्नुहोस्,” उनले भने।

आज साउथ अस्ट्रेलिया भर आगो सल्काउन वा अग्नि उत्पन्न गर्ने उपकरण चलाउन वर्जित “टोटल फायर ब्यान” लागू छ।

"बुशफायर" र "क्लाइमेट चेन्ज" बिचको सम्बन्ध

अस्ट्रेलियाको अग्नि मौसम क्रमिक रूपमा लामो-लामो हुनुका साथै अझ कडा हुँदै गइरहेको र त्यसो हुनुको मुख्य कारण मौसम परिवर्तन भएको बारे धरै नै वैज्ञानिकहरू सहमती जनाउँछन्।

मौसम विभागले अघिल्लो वर्ष जारी गरेको एक रिपोर्ट अनुसार सन् १९१० यता अस्ट्रेलियाको औसत तापक्रम एक डिग्री सेल्सियसले बढेको छ।

उक्त रिपोर्टका अनुसार, मौसम परिवर्तन हुँदै जाँदा, अत्यधिक गर्मी हुने घटनाहरूका साथै खडेरी जस्ता प्राकृतिक प्रकोपहरूको गम्भीरतामा पनि वृद्धि भएको छ। यसबारे थप रिपोर्ट पढ्नुहोस 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now