प्रधानमन्त्री मोरिशनले सिड्नी र मेलबर्नका सडक, बस, रेल र स्कुलहरू “टन्न भरिएकोले” देश भित्राइने आप्रावासीहरुको सङ्ख्या घटाउन जरुरी भएको गए वर्ष बताएका थिए।
दी अस्ट्रेलियन नामक पत्रिकाका अनुसार सङ्घीय मन्त्री परिषद्ले आप्रवासी सङ्ख्या ३० हजारले घटाउने सरकारी प्रस्ताव पारित गरेको छ।
स्कट मोरिशनले आप्रवासी सङ्ख्या घटाउने उक्त नीति बारे गए हप्ता घोषणा गर्ने योजना बनाएको बताइएको छ। तर, न्युजिल्याण्डमा भएको आतङ्कवादी घटना पछि उक्त घोषणालाई स्थगित गरिएको समाचारहरूको भनाइ छ।

गए मङ्गलवार, एडिलेडमा आयोजना भएको एक कार्यक्रममा मोरिशनले बोल्दै अस्ट्रेलियालीहरूले जनसङ्ख्या वृद्धि जस्तो मामिलाहरू बारे रङ्गभेदीको आरोप नलाग्ने गरी बहस गर्न सक्नुपर्ने जोड दिए।
“जनसङ्ख्या वृद्धि र त्यसको व्यवस्थापन एक व्यवहारिक चुनौती भएको र त्यसको चरम दक्षिणपन्थी आतङ्कवादी हमलाबाट सिर्जना भएका विषयहरूसँग कुनै सम्बन्ध रहेको छैन”, उनले भने।
“यसलाई जाति भेद वा रंगभेद अथवा असहनशीलतासँग जोड्न हुँदैन।”
आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने भनिएको सहरहरूमा भीड घटाउने मोरिशन सरकारको उक्त योजना अन्तर्गत सीपयुक्त आप्रवासीहरूलाई सिड्नी र मेलबर्न जस्ता शहरबाट बाहिर बस्न बाध्य बनाइने छ।
कम्तीमा ५ वर्षसम्म देशका ग्रामीण स्थानहरूमा आप्रवासीहरू बस्नु पर्ने सरकारी नीति रहने छ।
साथै प्रमुख सहर बाहिर रहेका विश्वविद्यालयहरूमा भर्ना हुन अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने पनि सरकारको योजना रहेको छ।
