मुख्य बिषय
- यस वर्षको राष्ट्रिय मेलमिलाप सप्ताहको नारा; साहसी बनी परिवर्तनमा सहभागी हुनुहोस् भन्ने रहेको छ।
- रिकन्सिलिएसन अस्ट्रेलिया र फेडेरेसन अफ एथनिक कम्युनिटी काउन्सिलले भने आप्रवासी समुदायहरूलाई मेलमिलाप सप्ताहमा मात्र नभएर त्यसपछिका मेलमिलाप प्रक्रियाहरूमा पनि संलग्न हुन प्रोत्साहन गरिरहेको छ।
- राष्ट्रिय मेलमिलाप सप्ताह सम्बन्धी क्यालेन्डरमा यस वर्षका कार्यक्रमहरू सुचीबद्ध छन्।
हामी किन राष्ट्रिय मेलमिलाप सप्ताह मनाउँछौ?
अस्ट्रेलियाली आदिवासीका निमित्त कानुन बनाउने र उनीहरूलाई राष्ट्रिय जनगणनामा समावेश गर्ने उद्देश्यका साथ सन् १९६७, मे २७ तारिखका दिन एक जनमत सङ्ग्रहको आयोजना भएको थियो।
उक्त जनमत सङ्ग्रहमा संविधान संशोधनको पक्षमा भारी मत परेपछि त्यसै दिनको सम्झनामा राष्ट्रिय मेलमिलाप सप्ताह मनाइने गरिन्छ।
यसबाहेक १९९२ मा उच्च अदालतले अस्ट्रेलियाको परम्परागत मालिकका रूपमा आदिवासी एवम् टोरेस स्ट्रेट द्विप समूहका बासिन्दाहरुलाई मान्यता दिएको सम्झनाका रूपमा पनि यस दिनलाई मनाउने गरिन्छ।
यस वर्षको मेलमिलाप दिवसको नारा के हो त?
यस वर्षको मेलमिलाप सप्ताहको नारा; साहसी बनी परिवर्तन गर्नुहोस् भन्ने रहेको छ।
साहसी बन र परिवर्तन गर भन्नुको अर्थ चाहिँ, सबै अस्ट्रेलियालीहरुलाई मेलमिलापका अधुरा कामहरू पुरा गर्न र एक राष्ट्रका रूपमा सबैलाई फाइदा हुने परिवर्तनका चुनौतीहरूलाई आत्मसाथ गर्नुपर्छ भन्ने हो।

उत्तरी न्यु साउथ वेल्सको बुन्डजालुङ्गका आदिवासी महिलाहरूको प्रतिनिधित्व गर्ने क्यारेन मन्डिन, रिकन्सिलिएसन अस्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत पनि हुन्।
उनको भनाइमा मेलमिलाप हरेक अस्ट्रेलियालीहरुको जिम्मेवारी हो र सँगै एक सक्रिय अनुभव पनि।
“जब मेलमिलाप सप्ताहका बारेमा कुरा आउँछ, हामी सबैका लागि सम्बन्धहरूका बारेमा सोच्ने र यसमा ध्यान पुर्याउने र कार्यक्रम र गतिविधिमा भाग लिई प्रोत्साहन गर्ने अवसर हो,” एसबीएस रेडियोसँगको कुराकानीका क्रममा उनले भनिन्।
यता आप्रवासीहरूका विभिन्न सामुदायिक संस्थाहरूको प्रतिनिधित्व गर्ने संस्था फेडेरेसन अफ एथनिक कम्युनिटी काउन्सिलका प्रमुख मोहम्मद अल खफाजी पनि सबै आप्रवासीहरूलाई मेलमिलाप प्रक्रियामा सामेल हुन आग्रह गर्छन्।
आप्रवासी एवम् शरणार्थी समुदाय र अस्ट्रेलियाका प्रथम राष्ट्रका मानिसहरूको सकारात्मक र नकारात्मक अनुभवहरूलाई चित्रण गर्न सुरुवात गर्नु पनि राम्रो सुरुवात हुन सक्छ।
“उनीहरूका इतिहास थाहा पाउनु वा उनीहरू कस्तो अवस्थाबाट गुज्रिए भनेर जान्नु हाम्रो कर्तव्य र दायित्व दुवै हुन्, हामीसँग पनि यस्तै अनुभव छ र परिवर्तनका समान सूत्रहरू पनि छन्,” खफाजी भन्छन्।
सबै अस्ट्रेलियालीहरुले राष्ट्रिय मेलमिलाप सप्ताहका बारेमा बुझेका हुन्छन् भन्ने छैन।
आदिवासी र टोरेस टोरेस स्ट्रेट द्विप मानिसहरूका संस्कृति र इतिहासका बारेमा कुरा गर्ने बारेमा धेरै मानिसहरूलाई ज्ञान नभएको पाइन्छ।
इनकरेजीङ्ग इन्गेजमेन्ट गाइड
आप्रवासीहरूलाई यी कुराहरूमा उत्साह जगाउनका लागि सन् २०२० मा फेडेरेसन अफ एथनिक कम्युनिटी काउन्सिलले आप्रवासीहरूलाई मेलमिलापमा सरिक गराउन एक गाइडको पनि प्रकाशन गरेको थियो।
इनकरेजीङ्ग इन्गेजमेन्ट नामक गाइडले मेलमिलाप सप्ताहको समय वा त्यसबाहिरको समयमा पनि कुराकानीको सुरुवातका लागि एक बिन्दु प्रदान गर्ने फेकाका प्रमुख खफाजी बताउँछन्।
इनकरेजीङ्ग इन्गेजमेन्ट गाइडले अर्थपूर्ण सहभागीताका लागि निम्न गतिविधिहरू सुझाव गर्दछ।
- मेलमिलापका लागि ठोस कार्य योजना बनाउने
- राष्ट्रिय मेलमिलाप सप्ताहमा सहभागी हुने
- नाइडोक सप्ताह मनाउने
- स्थानीय आदिवासी पाका उमेरका मानिसहरूलाई बोलाई स्वागतका विभिन्न कार्यक्रमहरू गर्ने
- सांस्कृतिक रूपमा सक्षम कार्यस्थलहरूको निर्माणका लागि प्रयास गर्ने, आदी
इनकरेजीङ्ग इन्गेजमेन्ट गाइड यहाँ उपलब्ध छ।

दैनिक रूपमा साहसी बन्नुहोस्
साहसी बनौँ, परिर्वतर्न गरौँ भन्ने यस वर्षको नाराले मेलमिलापका पक्षमा सबै अस्ट्रेलियालीहरुलाई आफ्ना दैनिक क्रियाकलापहरूमा साहसी कार्यहरू गर्न प्रोत्साहन गरिएको छ।
मन्डिन भन्छिन् कि यस विषयमा आफ्ना विचारहरू साझा नगर्ने परिवार वा साथीभाइ माझ कडा कुराकानीको सुरुवात गर्ने यो नै उपयुक्त समय हो।
राष्ट्रिय मेलमिलाप सप्ताहमा संलग्न हुन निकै सहज छ। रिकन्सिलिएसन अस्ट्रेलियाको वेबसाइटमा गएर थप जानकारी लिन सकिन्छ भने एसबिएसमा उपलब्ध चलचित्र वा पोडकाष्ट जस्ता स्रोतहरू पढ्न र सुन्न पनि सकिन्छ।
यस वर्षको मेलमिलाप सप्ताहको क्यालेन्डर यहाँ उपलब्ध छ।
राष्ट्रिय मेलमिलाप सप्ताह २०२२ सम्बन्धी डिजिटल सन्दर्भ सामाग्रीहरू यहाँ उपलब्ध छन्।

